वि.सं.२०८१ जेठ ७ सोमवार

उन्नत खालको फूलका बिरुवा प्रयोगशालाबाट उत्पादन हुनु आवश्यक छः मन्त्री श्रेष्ठ

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषिमा आधारित उन्नत खालका वस्तुहरु प्रयोगशालाबाट उत्पादन हुनु तत्कालै आवश्यक रहेको बताएका छन् ।

आज ललितपुरको गोदावरीमा फार्म दिवस तथा तन्तु प्रजनन् सहितको तालिम भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले देशको पुँजी बाहिर जानबाट रोक्न र बाहिरबाट पुँजी भित्र्याउन सक्ने खालको भूमिका तन्तु प्रजनन् केन्द्रले निर्वाह गर्नु पर्ने बताए ।

आजको कार्यक्रमले नेपालको कृषि क्षेत्रका लागि ऐतिहासिक कार्य भएको भन्दै मन्त्री श्रेष्ठले न्यूनलागतमा धेरै बिरुवाहरु उत्पादन गर्नसकिने भएकाले निकै प्रभावकारी हुने विश्वास पनि व्यक्त गरे ।

उनले अरुले मन पराउने खालको कार्य गर्नुपर्ने आवश्यकतालाई अवल्याउदै त्यसका लागि गुणस्तरीय कार्य गर्नका लागि ध्यानदिनुपर्ने बताए । कृषिसम्बन्धी जुनसुकै क्षेत्रमा पनि अब्बल खालको कार्य गर्नु र स्थानीयहरुलाई नाफामुखी बनाउनका लागि भूमिका खेल्नुपर्ने समेत बताए ।

मन्त्री श्रेष्ठले फूलका कारण सुगन्धका साथै सौनदर्य समेत हुने भएकोले यसको विकासका लागि हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताए ।