विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
पूर्वडिआइजी शाहसँगै पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई पनि इजलासले दोषी ठहर गरेको स्रोतले जनाएको छ।
२०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरेको थियो।
उनीहरूले तालिम केन्द्र दुधौलीमा कार्यरत ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते पूर्वडिआइजी शाह, पूर्व सई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जिब विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो।
ऐरी र विशुंखेले सफाइ पाएका छन्। इजलासले उनीहरूबारे आदेश जारी गरेपनि सजायका लागि फेरि पेश गर्न भनिएको छ। सजाय निर्धारणको लागि पुस २५ गतेको लागि तोकिएको छ।