वि.सं.२०८१ असोज २५ शुक्रवार

‘लुटेरा सहकारी’ रियल गोर्खाविरुद्ध पर्‍यो उजुरी, पदाधिकारी र कर्मचारीलाई ‘कालोमोसो’ दल्ने चेतावनी

६ महिनादेखि बचतको एक रुपैयाँ पनि आफुहरुले नपाएको भन्दै रियल गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति सदस्यहरुविरुद्ध बाग्मती प्रदेशस्थित पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा उजुरी हालेका छन् ।

यो पनि…..

‘नाम: ‘रियल गोर्खा’, काम: ठग्ने’ : जनतामारा सहकारीका हर्कबहादुरका हर्कतको नालीबेली

‘रियल गोर्खा’दोस्रो काण्ड : हर्कबहादुरका हाकिमको हर्कत, सोझा बचतकर्ताको फुट्या किस्मत्

सहकारी विभाग समेतको राय लिई तुरुन्त बचत फिर्ता गर्न र नभए हदैसम्मको कारबाही गर्न भन्दै उनीहरुले प्रदेशस्थित नियामक निकायमा उजुरी हालेका हुन् । प्रदेश मन्त्रालयले अब बचत कर्ताको बचत फिर्ता नगरी फरार रहेका रियल गोर्खा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई तत्काल सम्पर्कमा ल्याउने र सम्पर्कमा नआए पक्राउका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई चिठी लेख्ने जानकारी दिएको छ ।

२०७६ सालदेखि नियमित बचत तथा ऋण सम्बन्धी कारोबार गर्दै आएका आफुहरुले गएको असोज महिनादेखि एक रुपैयाँ पनि बचत झिक्न नपाएको गुनासो बचतकर्ताले उजुरीमा गरेका छन् । मुख्य कार्यालय नै राम्ररी चलाउन नसकेको रियल गोर्खाले जोरपाटी र भक्तपुरको राधेराधेमा समेत सेवा कार्यालय खोलेर थुप्रै नागरिकलाई धोका दिएको छ ।

पुजनी श्रेष्ठ
पुजनी श्रेष्ठ

सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु बचतकर्ताको समस्या सुन्नुको साटो फरार भएका छन् । बचतकर्तालाई छल्न प्रधान कार्यालय बन्द गरेर फरार पदाधिकारी तथा सदस्यहरु अहिले पनि भाग्दै हिँडेका छन् ।

खासगरी अध्यक्ष हर्क कठायतले फट्याइँ गरेका छन् । उनी बचतकर्तापिच्छे फरक–फरक कुरा गर्छन् । कसैलाई भक्तपुर सेवा कार्यालयकी प्रमुख पुजनी श्रेष्ठ र उनका श्रीमान्ले अफ्ठेरोमा पारेको भन्छन् भने कसैसँग आफु ट्रयापमा परेको कुरा सुनाउँछन् ।

हर्क कठायत

एक जना बचतकर्तालाई उनले पठाएको म्यासेजमा आफु बचतकर्ताको सम्पर्कमा नआउनुको कारण भक्तपुर सेवा कार्यालयकी प्रमुख पुजनीकै ट्रयापबाट उम्किन नसकेर हो भनेका छन् । उनले केही दिन पहिले खप्तडटिभीसँगको टेलिफोन सम्वादमा समेत आफुलाई गुण्डा लगाएर पिट्न खोजेको र आफुहरुले भने अनुसार नगरे जे पनि हुने धम्की दिएको बताएका थिए ।

उनी बाहिरबाहिर यस्ता कुरा गरेर बचतकर्तालाई झुक्याइरहेका छन् वा साँच्चै त्यस्तै ट्रयापमा छन् ? यकिन छैन । त्यस्तै दशथरी कुरा गरेर उनी बचतकर्तालाई झुक्याइरहेका छन् । यस विषयमा कुरा गर्न खोज्दा भक्तपुर सेवा कार्यालय चलाइरहेकी पुजनी श्रेष्ठ कुरा खोल्दिनन् । गोलमोटल जवाफ दिएर टार्ने गरिरहेकी छन् ।

मंगलबार पनि जोरपाटीका बचतकर्ता यसै विषयमा कुरा गर्न राधेराधे पुग्दा उनी कार्यालय बन्द गरेर कुलेलम ठोकेकी थिइन् । बचतकर्ता तथा खप्तडटिभीका पत्रकार कतै देखिए भने उनीहरुको भागाभाग पर्न थालेको छ ।

खास गरी पुजनी भक्तपुर सेवा कार्यालयको हाकिम भए पनि उनका श्रीमान सारालाई घुमाइरहेका छन् । आफुहरुलाई यस्तै दुःख दिँदै गए बचतकर्ताले पुजनी दम्पतीसहित पदाधिकारी तथा कर्मचारीलाई ‘कालोमोसो’ दलेर शहर परिक्रमा गराउने चेतावनी दिएका छन् ।