लागुऔषध सम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सेवाग्राहीसँग घुस÷रिसवत मागेको सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले क्षेत्रीलाई पक्राउ गरेको हो। पक्राउ परेका क्षेत्री २०८१ माघमा कास्की प्रहरीको ‘महिनाको उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ)बाट सम्मानित भएका थिए।
अख्तियारको हिरासतमा रहेका क्षेत्रीमाथि आवश्यक थप अनुसन्धान कार्य भइरहेको छ।
फाेटाे :- गुगल फाईलबाट































