वि.सं.२०८३ वैशाख ११ शुक्रवार

आईजीपी कार्कीले दिए धन्यवाद

नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रहरीकै नाममा कायम गर्ने निर्णयलाई संगठनको दीर्घकालीन हितसँग जोडिएको महत्वपूर्ण उपलब्धि बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उक्त निर्णयले प्रहरी संगठनको भौतिक पूर्वाधार विकास, तालिम प्रणालीको सुदृढीकरण र दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय टेवा पुग्ने बताएका हुन्।

आईजीपी कार्कीले यस प्रक्रियामा निरन्तर पहल गर्ने पूर्व प्रहरी अधिकारीहरूको योगदानलाई विशेष रूपमा स्मरण गरेका छन्।

लामो समयदेखि अन्योलमा परेको ११४ रोपनी ३ आना क्षेत्रफलको उक्त जग्गाको स्वामित्व विवाद टुंगिएको छ।

२०७५ साल भदौ १ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयअनुसार सो जग्गा राष्ट्रपति कार्यालय को नाममा लैजाने निर्णय गरिएको थियो, जसले प्रहरी वृत्तमा असन्तुष्टि उत्पन्न गरेको थियो।

तर पछिल्लो समय नेपाल सरकारले उक्त निर्णय पुनरावलोकन गर्दै प्रहरीकै नाममा कायम राख्ने निर्णय गरेपछि संगठनभित्र सकारात्मक सन्देश गएको बताइएको छ।

यसलाई संस्थागत स्थायित्व र पेशागत आत्मविश्वास वृद्धि गर्ने कदमका रूपमा पनि हेरिएको छ।

सुरक्षा स्राेत अनुसार तालिम प्रतिष्ठानको जग्गा संरक्षण हुनु भनेको भविष्यका प्रहरी जनशक्ति उत्पादन, आधुनिक तालिम प्रणाली विकास र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण पूर्वाधार निर्माणका लागि आधार तयार हुनु हो।

आईजीपी कार्कीले आगामी दिनमा पनि सरकारबाट यस्तै सहयोग र अभिभावकत्व प्राप्त हुने अपेक्षा व्यक्त गर्दै प्रहरी संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यस्तो छ कार्कीको धन्यवाद ज्ञापनपत्र 

नेपाल प्रहरीको ऐतिहासिक विरासत, संस्थागत गौरव तथा व्यावसायिक उत्कृष्टताको धरोहरका रूपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा कायम रहने गरी मिति २०८३ बैशाख १० गते नेपाल सरकारबाट भएको निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि हो। यस निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
यस महत्वपूर्ण, दूरदर्शी तथा संगठनहित केन्द्रित निर्णयका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार तथा मन्त्रिपरिषद्, साथै यस कार्यका लागि विगत लामो समयदेखि निरन्तर पहल गर्दै आउनुभएका अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतज्यूहरूप्रति नेपाल प्रहरी हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
साथै, आगामी दिनहरूमा समेत नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, पेशागत क्षमता तथा मनोबल अभिवृद्धि एवं प्रभावकारी सेवा प्रवाहका लागि नेपाल सरकारबाट निरन्तर अभिभावकत्व प्राप्त भइरहने अपेक्षा व्यक्त गर्दछौं।