भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताएका छन् ।
सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गत शुक्रबार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताएका हुन् ।
गत शुक्रबार रोजगार अनुमति प्रणाली(ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाको ज्यानसमेत गएको थियो ।
सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिन पनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए ।
उनले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पारे ।
आफूहरूलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उनको भनाइ छ । मन्त्री ज्वालाले घटनाप्रति आफू दुःखी रहेको भन्दै दुःख पनि व्यक्त गरे ।
उनले घटनामा आफूहरूको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरू निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले आफूहरू नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरूको कमजोरीलाई आफूहरूतिर थोपरिएको बताए ।
मन्त्री ज्वाला भनाइ जस्ताको त्यस्तै
मिति २०८० पुस १३ गते शुक्रबार अपराह्न ललितपुरको बालकुमारीमा भएको दुःखद् घटनाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको यस्ताे रहेकाे छ उनकाे भनाइ । बालकुमारीको कान्तिपुर गार्डेन्समा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको सातौं बैठक पुस ११ गतेदेखि चलिरहेको थियो । घटना हुँदा बैठकले दोस्रो दिन पार गरिसकेको थियो । म प्रत्येक दिन बैठकमा विहानैदेखि उपस्थित हुने गरेको थिएँ ।
१३ गते पनि म विहानै बैठकमा गएँ । तर, दिउँसो मन्त्रालयमा अर्को बैठक थियो । सिंहदरबारमा मन्त्रालयको बैठक सकेर फेरि पार्टीको बैठकमा फर्किने गरी म कान्तिपुर गार्डेन्सबाट निस्केँ । बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अबस्था छ ? परिस्थिति र रुटको अबस्था मलाई केही पनि थाहा थिएन । आन्दोलन पूर्वनिर्धारित पनि थिएन, आकस्मिक रहेछ ।
बाहिर मूल सडकसम्म आइपुग्दा सुरक्षाकर्मी, सुरक्षा निकायबाट जान मिल्ने, नमिल्नेबारे केही पनि जानकारी दिइएको छैन । हामी सामन्य रुपमा बाहिर निस्कियौँ । केही गाडी चलेका पनि थिए । अलि अगाडी बढेपछि केही डिस्टर्व भएको महसुस ग-यौँ र एकैछिनमा हाम्रो गाडीलाई प्रदर्शनकारी साथीहरुले रोके । मसँगै रहेका सुरक्षाकर्मी (पिएसओ) ले उनीहरुलाई सम्झाउने प्रयास पनि गरे । केही आन्दोलनमा सहभागी साथीले गाडी जान दिऔँसम्म भने । तर, गाडी जान दिएनन्, म त्यहीँ झरे र फेरि बैठकस्थलतिर लागेँ ।
त्यसपछिको घटनाबारे जानकारी मलाई भएन । बैठकस्थलमा पसेपछि गाडीमा आगजनी भएछ, गोली चलेछ । गोली आगजनीभन्दा पहिले चल्यो कि पछि ? त्यो छानविनपछि थाहा होला । मेरो निजी सुरक्षा सहयोगी (पिएसओ) ले सबैतिर खबर गर्दा पनि प्रहरी समयमा नपुगेको र गाडीमा आगजनी भएको जानकारी मैले पछिमात्रै पाएँ । २२ मिनेटसम्म पनि प्रहरी नपुगेपछि गाडीमा आगजनी भएछ ।
हामी निस्किँदा पिएसओले आफ्नो निकायमा बालकुमारीबाट सिंहदरवार जाँदैछौ भन्ने जानकारी गराएका थिए । त्यो बेला बालकुमारी क्षेत्र डिस्टर्व छ, अर्काे रुट प्रयोग गरौँ भन्ने जानकारी आएन । डिस्टर्व छ भन्ने थाहा हुँदाहुँदै मुर्खतापूर्णरुपमा हामी त्यो बाटो जाने कुरै आउँदैन ।
आन्दोलनको माग हाम्रो मन्त्रालयसँग सम्बन्धित पनि थिएन । तर पनि दुईजना युवाको मृत्युले म दुःखी छु । भौतिक पूर्वाधारमन्त्री सडकमा आएकै कारणले यो घटना भयो भन्नु शतप्रतिशत गलत कुरा हो । केहीले यो मिथ्यालाई सत्य सावित गर्न खोजिरहेका छन् । यो घटना हामीसँग कुनै, कहीँ पनि सम्बन्धित छैन ।
यो घटनाको न मलाई जानकारी छ, न कतैबाट जानकारी पाइएको छ । अहिले मिथ्यालाई सत्य बनाउने कोशिस गरिँदैछ । आफ्नो दोष अरुमाथि थोपरेर आफु चोखो बन्ने प्रयास मात्र हो । सही सुचना नदिने, अवस्थाको मूल्यांकन नगरी गोली चलाउने अनि दोष अरुमाथी लगाउने कुरा एकदमै गलत हो । असत्यलाई सत्य सावित गर्न खोज्ने र सत्यलाई तोडमोड गर्ने कुरा कसैका लागि पनि राम्रो पक्ष होइन ।
बालकुमारी घटना : मन्त्रीको गाडीमाथि आगजनी, २ जनाको मृत्यु, ५० भन्दा बढी पक्राउ
बालकुमारी घटना : मन्त्रीको गाडीमाथि आगजनी, २ जनाको मृत्यु, ५० भन्दा बढी पक्राउ