कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेकाे छ।
लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेकाे हाे।
मन्त्री भुसाल, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २ सय ५१ कर्मचारी मध्ये ८३ जना अनुपस्थित रहेको थियो । जसमा जुनियर टेक्निसियन असिस्टेन्ट विजय कुमार यादव विहीबारसम्म विदामा बसेर हाजिरी गरेको पाइएको छ ।
यस्तै आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाईको अवस्था दयनिय रहेको जनाएको छ ।
केही महिना अगाडी खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिएपनि अझै नष्ट नगरेको पाइएको छ ।
आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजा प्रमुख गणेश कुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन् । आयोजनामा देखिएका वेथितिलाई अनुगमन टोलीले टिर्पोट गरी ल्याएको छ । आवश्यक अध्ययन पश्चात आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ ।
दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ । संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटक पटक संस्थान सुधारका लागि मन्त्री भुसालले मौखिक र लिखित निर्देशन दिदैं महाप्रबन्धक सञ्जिव झाले अटेरी गर्दै आएका छन् ।
केही दिन अगाडी किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराएपनि त्यसको कार्यान्वयन भएको छैन ।अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहेको र संस्थानको सुधारका लागि आवश्यक निर्णय गर्ने मन्त्री भुसालले जानकारी दिए ।