वि.सं.२०८१ माघ ६ आइतवार

थुनुवा कक्षबाट ६ जना फरार, प्रहरी निरीक्षक यादव विवादमा

क्षिरेश्वरनाथ नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट ६ जना फरार भएका छन् ।

लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये विनोदकुमार शर्मा, अमित मण्डल, रोशन यादव , हरिवित सिंह, रोशन महतो र शंकर सिंह फरार भएका हुन् ।

ईलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट आइतबार राति करिब १ बजे थुनुवा कक्षभित्र रहेको टोइलेटमा लागेको स्टिलको चौकटले देवाल फोरेर फरार भएको प्रहरीको भनाई छ । फरार भएकाहरुलाई सोमबार बिहानैदेखि डग टोली परिचालन गरी खोजी जारी रहेको छ ।

थुनुवा फरार घटनाको छानविनका लागि समिति गठन गरिने र फरारहरुको खोजि गर्न विशेष टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।

हिरासतबाट फरार ६ जनालाई म्याद थप गराएर अनुसन्धानका लागि हिरसातमा राखिएको थयो ।

थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेचन यादव विवादमा तानिएका छन् ।

लामो समय देखि इलाका प्रहरी कार्यालय महेन्द्र नगरको इन्चार्जमा रहेका यादव यसअघि पनि पटकपटक विवादमा तानिएका छन् । यादव यसअघि महिला प्रहरीलाई दुर्व्यवहार गर्दा विवादमा तानिएका थिए ।