वि.सं.२०८१ जेठ ७ सोमवार

बझाङ जिल्ला अस्पतालको व्यवस्थापन र सञ्जालमा चलेको रोइलो

नेपालको संविधानको भाग–३, धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने भनिएको छ। कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी संविधानले स्पष्ट बोलेको छ । संविधानमा उल्लेख भएका हक अधिकार सहजताकासाथ नागरिकले प्राप्त गर्न सकुन भनेर विभिन्न ऐन कानून, नियमावली तथा निर्देशिका जारी भइसकेको अवस्थामा जनताको घर पायकको अस्पताल विवादमा पर्नु राम्रो होइन ।

स्वास्थ्य उपचार जस्तो अति संवेदनशील क्षेत्रबारे यस्तो विधि रडाको मच्चिनु आफैँमा दुःख छ । जुन विषयले अहिले संजाल तताएको छ । बाहिर चर्चामा आएका विषय सन्दर्भबारे सत्य तथ्य छानविन जरुरी छ । र, विरामीको स्वास्थ्यसंग खेलवाड गर्ने छुट, कुनै पनि स्वास्थ्यकर्मी लाई छैन । विगतको तुलनामा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह तथा सुशासनमा अब्बल ठानिएको मुलुक कै दोस्रो उत्कृष्ट जिल्ला अस्पताल बझाङबारे बारम्वार सामाजिक संजालमा आलोचना भइरहनुलाई स्वभाविक मान्न सकिँदैन । संजाल तथा आमसञ्चारका माध्यममा अस्पताल व्यवस्थापनसंग जोडिएका व्यक्तिलाई खुइल्याउने प्रवृत्ति बढ्दो छ । व्यवस्थापनमा जोडिनेवित्तिकै ति व्यक्तिको चरित्रबारे चर्चा हुने गरेको छ । त्यो पनि पूर्ण रुपमा पूर्वाग्रही र चरित्रहत्या गर्ने ढंगबाट । यो आम प्रवृत्ति हुनै सक्दैन । यो अराजक स्वभाव हो ।

के साच्चिकै सामाजिक संजालमा चर्चा गरे जस्तै जिल्ला अस्पतालबाट नागरिकले सेवा नपाइरहे कै हुन् ? यसको जवाफ त स्वयम जिल्ला अस्पतालको व्यवस्थापनसंग होला । तर, के हामीले कुनै घटनाबारे समाजिक संजालमा पोष्ट गर्नुअघि दुबै पक्षका कुरा सुन्यौ ? के हामीले उठाएका सवाल, अथवा अमर्यादित भाषाले मात्र नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने कुराको सुनिश्चिता हुन्छ ?

कतै हाम्रो अबुझ तथा अज्ञानताका कारणले हामी वार्षिक ३० हजार भन्दा बढी नागरिकले सर्वसुलव रुपमा लिइरहेको स्वास्थ्य सेवाप्रति भ्रम छरेर गल्ती गर्दै त छैनौ ? साच्चिकै यस्ता कुराको हामीले ख्याल गरेका छौ ? एक पल्ट सबैले मन्थन गरौँ । काम गर्ने शिलशिलामा गल्ती कमजोरीहरु हुन्छन । ति कमजोर पक्षलाई सुधार गर्दै लैजानु पर्छ। मात्र गल्ती गर्ने नियत चाहिँ कदापि हुनु हुँदैन । के अहिलेको अस्पताल व्यवस्थापनले गरेका सुधारको बारेमा हामी जानकार छौँ ? हामी मध्ये कति जनालाई जिल्ला अस्पतालबाट प्रदान भइरहेका सम्पूर्ण सेवाहरुको जानकारी छ अनि हामीले नागरिकमा जिल्ला अस्पताल बझाङबाट प्रदान हुने सेवाको कतिको प्रचार गरिराखेका छौ ? हामी चाहिने भन्दा कतै नचाहिने कुरामा बढी समय त खेर फालीरहेका छैनौँ, याद राखौँ । नकारात्मक सोंच हामी सबैको महाशत्रु हो ।

संसारमा तेस्तो कुनै अस्पताल बनेको छैन जहाँ सबै किसिमका रोगको उपचार भइहाल्छ । र, सवैलाई सबै सुविधा र परामर्शले सन्तुष्ट पार्न सकियोस । जसरी सबै बिरामीको व्यवहार एउटै हुन सक्दैन । त्यसरी नै सबै कर्मचारीको काम गर्ने शैली र व्यवहार पनि एकै किसिमको नहुन सक्छ। तथापि स्वास्थ्य कर्मीले सबै विरामीलाई राम्रो व्यवहारका साथ उपलब्ध सेवा प्रदान गर्नु उसको पहिलो डिउटी हो । तीन जना विशेषज्ञ डाक्टर स्त्रिरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ र जनरल सर्जन तथा अन्य मेडिकल अफिसर डाक्टर एवं स्वास्थ्यकर्मीको टिमले गत आर्थिक वर्ष २०७९–०८० मा मात्र करिब ३२ हजार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको रेकर्ड छ ।

जिल्ला अस्पतालले नागरिकलाई थप सुविधा दिने हिसाबले स्वास्थ्य परिक्षणका लागि भनेर अत्याधुनिक प्रयोगशालाका मेसिनहरु, डीआर एक्सरे मेसिन, हाडजोर्निको शल्यक्रिका लागी सी’आर्म मेसिन, पाचननली तथा आन्द्राको समस्या पहिचानका लागि भिडियो ईन्डोस्कपी मेसिन खरिद गरिसकेको छ। यि मेसिन संचालन गर्न थप दक्ष प्राविधिको पदपूर्ति प्रक्रिया समेत सुरु भइसकेको छ ।

यि बाहेक अन्य प्रशासनिक सुधारका लागि सबै कर्मचारीहरुलाई विभेदरहित पद अनुसारको मासिक तलब सुविधा, ई’हाजिरीको व्यवस्था, अस्पतालको सेवामा लापरवाही गर्ने कर्मचारीलाई नसियत तथा बर्खास्ती, दैनिक रुपमा हुने घटनाको जानकारी तथा सुधारका लागि दोस्रो दिन नियमित मर्निङ कन्फरेन्सको नियम बसालिएको छ ।

गुनासो सुनावाईका लागि मेडिकल सुपरिटेन्डेन्ट आफै खटिएको देख्न सकिन्छ। यस्तो अवस्थामा पनि सामाजिक संजाल प्रयोगकर्ता विद्वानहरुले जिल्ला अस्पताल बझाङ व्यवस्थापनको भुत्ला उखेल्न छोडेका छैनन् । यो दुःखद हो । यसको अर्थ यो होइन कि भए गरेका गल्ती कमजोरीमाथि छानविन हुनु नै हुँदैन वा दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइनु हुँदैन । नागरिकलाई सुशासनको प्रत्याभूत त्यतिबेला हुन्छ । जतिबेला सेवा प्रदायकको आलोचनाको साटो सार्वजनिक रुपमा प्रशंसा हुनथाल्छ । यस्तो वातावरण निर्माण गर्न हामीले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरे सब ठीकठाक हुन्छ । नभए, केबल कुण्ठा पोख्ने प्रवृत्तिकै हालीमुहाली हुनेछ ।