वि.सं.२०८१ जेठ ६ आइतवार

सामाखुसी खोलामा बेपत्ता विधानको खोजीमा यसरी खटे सुकौरावेसीका युवाहरु(भिडियोसहित)

७ दिनअघि सामाखुसी खोलामा आएको बाढीमा बेपत्ता भएका १२ वर्षीय विधान आलेमगरको खोजी अझै जारी छ । शनिबार धादिङ नीलकण्ठ नगरपालिका–७ सुकौरावेसी टोल सुधार समितिका पदाधिकारी तथा त्यसमा आवद्ध युवाहरुको समूहले विधान बगेको ठाउँ तिलिङटार बस्तीबाट तीन चार किलोमिटरसम्म कङ्क्रिटको स्ल्यापले छोपिएको खोलाभित्रै पसेर खोज्यो ।

स्ल्यापले छोपिएको खोलाभित्र खोजी गरिँदै (भिडियो)

कतै छोपिएको र कतै खुला, कतै झाडी भरिएको खोलामा निकै मिहिनेतसाथ सुकौरावेसी टोल सुधार समितिको समूहले खोजविन गरेपनि विधानको अवस्था पत्ता लाग्न सकेन । विधानको अवस्था थाहा हुन नसकेपछि सुकौरावेसी टोल सुधार समितिले गरेको प्रयास अनुकरणीय रहेको स्थानीयले बताए । खोजी गरिरहेकै बेला खोलाको मुहानतिर पानी परेर वहाव बढेको र केही ठाउँमा अक्सिजन अभावको समस्याका कारण टोलीले खोजविन स्थगित गर्नु परेको थियो ।

३०–४० जनाको समूहले मसिनो ढंगले खोजेकामा स्ल्यापले ढाकिएको क्षेत्रमा अक्सिजन अभाव र फोहोरको गन्धका कारण खोज्न कठिनाई भएको सुकौरावेसी टोल सुधार समितिका संस्थापक तथा सल्लाहकार राजन श्रेष्ठले बताए ।

उनका अनुसार केही ठाउँमा संकास्पद क्लु फेला परेपनि खोला छोपिएको र साँघुरो भएका कारण अक्सिजन अभावले धेरै बेर बसेर खोज्न कठिनाई भयो । उनले यस्तो विपदको घडीमा राज्यको मात्रै दायित्व हो भन्ने मात्रै नसम्झिएर सामाजिक पहल गर्न सकिन्छ भन्ने उद्देश्यले साथ आफुहरुले खोजविन गर्न जुटेको जानकारी दिए ।

खोजविनमा खटिएकाहरु कसैले साबेल त कसैले फलामे रड तथा कसैले पाइपले खोलाभित्रको फोहोर पन्छाएर हेरे । यो समूहले विधानको खोजी कार्यमा थप सहयोग गर्ने समेत प्रतिवद्धता जनाएको छ ।

विधानको खोजविनमा टोलसुधार समितिबाट सल्लाहकार प्रेम नेपाली, ईश्वर श्रेष्ठ, प्रकाश पोखरेल तथा समिति सदस्य पवित्रा पोखरेल, दिपक श्रेष्ठ, हरि श्रेष्ठ, हरि अधिकारि, सरोज परियार, सुजन कार्की, शिव हरि अधिकारी, दुर्गा हरि घिमिरेलगायत सहभागि भए । सुकौरावेसी टोल सुधार समितिले विभिन्न समयमा यस्तै सामाजिक कामहरु गर्दै आइरहेको छ ।  खोजविन काम सरकारले गर्नुपने भए पनि सकारलाइ सहयाेग हाेस् भने  हिसावले युवाहरूले उक्त कदम चाल्नुभएकाे हाे ।

खोजी कार्यपछि समितिको तर्फबाट कुरा राख्दै–सुकौरावेसी टोल सुधार समितिका संस्थापक तथा सल्लाहकार राजन श्रेष्ठ

कसरी बगे विधान ?
स्कुलबाट फर्किनेबित्तिकै खेल्न हिंडेका उनी तिलिङटार बस्तीछेउबाट आइतबार भँगालोमा पसे । पानीले खोला छेउको सडक जलमग्न भएका कारण उनी डिलबाट हिँड्दै थिए । एक्कासी चिप्लिएर खोलामा छिरे । उनी खसेको खोला छेवैका स्थानीयका अनुसार उनीसँग एकजना अर्का बालक पनि सँगै हिँडिरेका थिए । तर, उनले विधान खसेको पत्तै पाएनन् ।

विधान हराएपछि उनलाई खोज्दै विधानको कोठासम्म पुगे । नभेटेपछि फर्किए । तर, नजिकै लाफिम् पसलमा रहेको घुइँचोले उनी बेपत्ताभएतर्फ ध्यान दिन सकेन । तेस्रो तलाबाट चिच्याउँदै बाहिर आएकी एक स्थानीय महिलाले हार गुहार गरिन् । कोही निस्किएनन् । उनी चिच्याउँदै कराउँदै तलसम्म पुगिन् । धेरै ठाउँमा खोला छोपिएका कारण उनले कुनै मेसो पाइनन् । उनले हारगुहार गरेको आधा घण्टापछि प्रहरी आइपुग्यो । त्यो बेला सबैतिर लगमग्न र खोलामा बाढी उर्लिएका कारण विधानको खोजीमा व्यवधान पुग्यो ।

बुवा मनोज दोहोरी रेस्टुरेन्ट चलाउँछन् । सन्तानको रुपमा एक्ला थिए, विधान । विधानकी आमा बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा छिन् । बुबा मनोज र हजुरबुबा जतिसक्दो छिटो विधानको अवस्था थाहा पाउन चाहन्छन् ।

विधानका बुबा र हजुरबुबा

विधान पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् । मनोजका अनुसार छरितो शरीर र अग्लो कदउन्मुख किशोरावस्था गुजारिरहेका विधान पढाइमा अब्बल विद्यार्थी हुन् । उनी तेक्वान्दो र खेलकुदमा निकै चासो राख्थे ।