वि.सं.२०८१ जेठ ६ आइतवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सेटिङमार्फत टेन्डर !

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको टेन्डर प्रतिस्पर्धामा जानै नदिई केही व्यक्तिहरुले ठूलो कमिसन असुल्न लागेका छन् । भरतपुर महानगरपालिकाका बरिष्ठ इन्जिनियर सन्तोष आचार्यले आफूनिकट ठेकेदारलाई मात्रै टेन्डर भर्न लगाएर प्रतिस्पर्धामा अवरोध गरेका हुन् ।

टेन्डर परेका ठेकेदारबाट इन्जिनियर आचार्यले करोडौं रुपैयाँ कमिसन लिएर सेटिङ मिलाएको आरोप छ । बागमती प्रदेश सरकारसँगको साझेदारीमा भरतपुर महानगरपालिकाले बनाउन लागेको रंगशालाको टेन्डर आचार्यले दुषित मनासय राखेर एकलौटी गरेपछि यसको चौतर्फी विरोध भएको छ ।

केन्द्र सरकारले प्रदेश सरकारको साझेदारीमा सहमति दिएपछि ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेसँगै भरतपुर महागरपालिकाले १७ फागुन देखि चैत २२ गतेसम्म निर्माणको लागि टेन्डर आह्वान गरेको थियो ।

महानगरपालिकाको टेन्डर आह्वानमा आरसीसी फर्म स्ट्रक्चरमा निर्माण गर्ने भनिएको थियो । तर, समयअवधी बाँकी रहँदै रंगशालाको सर्त फेरबदल गर्दै आज अर्थात टेन्डर आह्वानको अन्तिम दिनमा एउटा कम्पनीले मात्र फारम भरेको पाइएको छ ।

जसले गर्दा अरु कम्पनीका व्यवसायीहरुले प्रतिस्पर्धा गर्न नै पाएनन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मिलेमतोमा रंगशाला निर्माणको टेन्डरको फारम मुना एण्ड आचार्य कम्पनीलाई भर्न लगाइएको हो ।

यसरी आफूनिकट ठेकेदारलाई ठेक्का मिलाइदिएबापत इन्जिनियर आचार्यले करोडौं रुपैयाँ कमिसन लिन लागेको व्यवसायीहरू बताउँछन् । उक्त कम्पनीसँग योजना सम्झौता गरेपछि कमिसन बुझाउने सर्तमा मुना एण्ड आचार्य कम्पनीका प्रोपाइटर अनुप आचार्यले फाराम दर्ता गराएको स्रोत बताउँछ ।

‘योजनाको केही प्रतिशत रकम बुझाउने सर्तमा फाराम दर्ता गराएर काम दिलाउने काम भएको छ,’ एक निर्माण व्यवसायी भन्छन्, ‘महानगरपालिकाका केही कर्मचारीको दुषित मनासयका कारण एकलौटी ढंगबाट टेन्डर दिनु सरासर गलत हो । अब सम्बन्धित निकायमा जान्छौं ।’

सेटिङमा काम भएको दावी गर्दै ती व्यवसायी भन्छन्, ‘टेन्डर दिइएको मुना एण्ड आचार्य निर्माण सेवाको अनुभव पोखरास्थित फुटबल रंगशालाको निर्माण कार्यमा आरसीसी फ्रेम स्टक्चरको काम गरेको पत्रमा देखिँदैन । यसकारणले पनि ठेक्का १२ औं सार्वजनिक खरिद ऐनको विरुद्धमा गरको देखिन्छ ।’

जसले गर्दा मुना एन्ड आचार्य निर्माण सेवा र महानगरपालिकाको मिलेमतोमा बोलपत्र आह्वान भएको पुष्टि भएको छ । यसलाई जसरी पनि कानुनी प्रक्रियामा लैजाने ती निर्माण व्यवसायी बताउँछन् ।

रंगशाला भरतपुर महानगरपालिका– १५ रामपुरमा निर्माणाधीन अवस्थामा छ । राष्ट्रिय गौरवको योजनामा समावेश भएको रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि महागरपालिकाले एक अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा इन्जिनियर आचार्यको मनोमानी, करोडौं घाटा खाएर सेटिङमा ठेक्का