वि.सं.२०८३ वैशाख २९ मंगलवार

डीएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष जेल र ८ लाख ५० हजार जरिवाना

घुस पैसासहित पक्राउ परेका बुटवलका डीएसपी ठगबहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । केसी गत साउन महिनादेखि बर्खास्तीमा परेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले सुनचाँदी व्यवसायी किसन बिकसँग घुस लिएको आरोप केसीलाई लागेको थियो । गत वर्षको मङ्सिर महिनामा बुटवल स्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त सुन डीएसपी केसीले खाने उद्देश्यले रितपूर्वक बरामद नगरी बार्गेनिङ गरेको र ८ लाख ५० हजार नगद र चेकसमेत लिई सुन फिर्ता गर्ने तयारी भइरहेको खुलेको थियो । सो सम्बन्धमा उजुरी परेपछि सिआइबीको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो ।