वि.सं.२०८१ माघ ६ आइतवार

अपी हाइड्रोपावरबाट मोटो रकम लिएर बदनाम बनेका गठबन्धनका नेता बडु र मानबहादुर संकटमा

दार्चुलामा दिलेन्द्र बडु र मानबहादुर धामी संकटमा

आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनले देशको राजनीति तीव्र ध्रुवीकरण भईरहेको छ ।

सुदुरपश्चिम प्रदेशमा पनि त्यो प्रक्रिया झन् घनीभूत भएको छ । हिमाली जिल्ला दार्चुलामा पनि राजनीति वाम गठबन्धन र प्रतिपक्षी दल एमालेको गरि दुई कित्तामा विभाजन भएको छ ।

दार्चुला जिल्लामा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी एमालेको बीचमा अन्तरविरोध चर्किएको मात्रै नभई वाम गठबन्धन भित्र पनि चर्किएको छ ।

प्रतिनिधि सभाको उम्मेदवार दिलेन्द्र प्रसाद बडु र प्रदेश सभा (ख) का उम्मेदवार मानबहादुर धामीले चुनाव हार्ने संभावना प्रबल बनेको छ ।

प्रदेश सभाका लागि त वहादुरसिंह धामीको उम्मेदवारी टाउको दुखाईको विषय नै बनेको दार्चुलामा चर्चा चलेको थियो ।

माओवादी केन्द्रको भागमा निर्वाचन क्षेत्र (ख) परेपछि कांग्रेसका पाका नेता विक्रम धामी आफ्नै क्षेत्रबाट लखेटिएर (क) क्षेत्रमा पुगेका थिए । त्यसपछि असन्तुष्ट बनेका मार्मा गाउँपालिकाका कांग्रेसका कार्यकर्ताहरुले वहादुरसिंह धामीलाई स्वतन्त्रमा उम्मेदवार बन्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेस स्रोत अनुसार, दार्चुलामा वि.स. २०४८ सालदेखि दिलेन्द्रप्रसाद बडुले एकछत्र राज गरे तर उनले पार्टी र जनताका लागि भन्दा पनि कांग्रेसलाई पारिवारिकरण गरेको मात्र नभई क्षमतावान देखिएका युवाहरुको एकपछि अर्को गरी राजनीतिक भ्रुण हत्या नै गरे ।

मन्त्री बडु दार्चुलाबासीका लागि सिन्को पनि नभाच्ने नेताका रुपमा परिचित भएकाले जनतामाझ अत्यन्तै अलोकप्रिय मानिन्छन् । त्यसकारण नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रतिनिधि सभामा अमिलो मुख बनाएरै भएपनि एमाले नेता गणेश ठगुन्नालाई भोट दिने जिल्लाव्यापी गोप्य तयारी गरिरहेको दार्चुला कांग्रेसका एक जिल्ला सदस्य बताउँछन् ।

नाम नबताउने सर्तमा ती कांग्रेसका नेता भन्छन्, चुनाव हार्ने परिस्थितिमा दिलेन्द्रप्रसाद बडुले आफ्ना सहयात्री विक्रमसिंह धामीलाई संघको उम्मेदवार बनाए ।

आफुले समानुपातिकबाट सांसद हुँदै मन्त्री पद पड्काए तर अहिले सत्तागठबन्धनबाट जीत सुनिश्चित हुने आँकलन गरेर आफु उम्मेदवार बने ।

विक्रम धामीलाई प्रदेश (क) मा खेदे । यो अन्यापूर्ण राजनीतिक खुराफाती हो । तसर्थ अब बडुको रवैयाविरुद्ध रचनात्मक विद्रोहको विकल्प छैन नेताले भने ।

प्रदेशका योजनामा मोटो कमिसन लिएको भन्दै जिल्ला भरि बदनाम बनेका वनमन्त्री मानबहादुर धामीको पराजय प्रबल ठानिन्छ । त्यति मात्रै होईन, मानबहादुर धामीको हक्की र फौजी शैलीका कारण जिल्ला भरी राजनीतिक वृतमा उनको शैलीको आलोचना हुने गरेको छ ।

फौजी शैलीमा संगठन परिचलन र राजनीतिक संस्कारको कमीले गर्दा मानबहादुर धामी जनस्तरमा अलोकप्रिय रहेको माओवादी केन्द्रका जबस मोर्चाका उच्च तहका एक नेताको भनाई छ ।

मानबहादुर धामी समाज विज्ञ होईनन् । सैन्य विज्ञ हुन् । समाज विज्ञानले सैन्य विज्ञानलाई निर्देशित गर्ने हो । नकी सैन्य विज्ञानले समाज विज्ञानलाई । माओवादी केन्द्र दार्चुलाका एक चर्चित नेताले टेलिफोन सम्पर्कम भने ।

जमनसिंह धामीको खुराफाती राजनीति

दार्चुलामा माओवादी आन्दोलनका पुराना नेता जमनसिंह धामी पनि मन्त्री दिलेन्द्र प्रसाद बडु र मानबहादुर धामीका विरुद्ध गोप्य राजनीतिक मुभ गरिरहेका थिए, तर, अहिले जोमन धामीको स्वभाव बुझेका मानबहादुर धामीले भने एक मिनेट पनि साथ नछाडेको प्रत्येक कार्यक्रममा महत्त्वपूर्ण भूमिका दिइरहेको माओवादीका जिल्ला नेताहरू बताउँछन् ।

खास पढाई नभए पनि तत्कालीन एमालेका नेता वीरबहादुर ठगुन्ना र गणेश ठगुन्नाको सचिवालयमा रहेर खुराफाती राजनीति सिकेका जमनसिंह धामी दार्चुलाको मूलधारको राजनीतिका कुटिल खेलाडी हुन् ।

उनले संगठन र पार्टी भन्दा पनि खुराफतको राजनीति गरेरै जिल्लामा माओवादी केन्द्र भित्र बलियो गुट बनाएका छन् ।

प्रदेशको अध्यक्षमा मानवहादुर धामीका बिरुद्ध उभिएर हराउन महत्वपूर्ण भूमिका खेलेका जमन धामीले यस पटक पनि गणेश ठगुन्नासँग मिलेर एक तीर दुई सिकारको रणनीति अपनाएको माओवादी केन्द्र जिल्ला कमिटीका अर्का नेता बताउँछन् ।

विक्रमसिंह धामीलाई जातीय हिसाबले सद्भाव राख्ने जमन धामीले बडुलाई प्रयोग गरेर उद्योग मन्त्रालयबाट ५० लाखको यार्सागुम्बा प्रशोधन केन्द्रमा बजेट पारेका भए पनि अहिले भने बडुलाई तह लगाउन हात धोएर लागि परेका छन् । मानबहादुर धामीलाई चुनावमा हराउन सके अब माओवादी केन्द्रको जिल्ला नेतृत्व आफ्नो हातमा पर्ने नेता धामीको बुझाई रहेको उनी निकट रहेका एक सुदुरपश्चिम प्रदेश कमिटी सदस्य बताउँछन् ।

मानवहादुर धामीलाई आफ्नो बाधकका रुपमा बुझेका जमन धामीले आफ्ना राजनीतिक गुरु एमाले पोलिट व्यूरो सदस्य गणेश ठगुन्नासँग केही महिना अघि काठमाडौंमा भेटवार्ता गरेका थिए । उनले मानबहादुर धामीको पराजय सुनिश्चित रहेको भन्दै ब्याकबाईटिङ गर्ने गरेका छन् । तत्कालीन माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कृष्णसिंह धामीलाई आफ्ना मुख्य प्रतिस्पर्धि ठानेका जमनसिंह धामीले एमालेमा प्रवेश गर्न बाध्य पारेपछि अहिले मार्मा गाउँपालिकामा माओवादी कमजोर बनेको छ ।

त्यसैले कृष्ण धामीलाई एमालेमा लखेटेर मार्मा गाउँपालिकामा एकछत्र राज गरिरहेका जमनसिंह धामीले मानबहादुर धामीकालाई कमजोर पार्न मार्मामा सकेसम्म न्यून मत पाउने वातावरण बनाईरहेका छन् । उनले आफ्ना राजनीतिक गुरु गणेश ठगुन्नालाई जिताउन पनि स्थानीय अन्तरविरोध चर्काएर माओवादी कमजोर पारेको एक एमालेका जिल्ला नेता बताउँछन् ।

त्यति मात्रै होइन, नेपालका जलमाफिया भनेर बदनाम बनेका केपी शर्मा ओलीका विश्वास पात्र गुरुप्रसाद न्यौपानेको लगानीमा शैलेशिखरमा बनेको आठ मेगावाटको जलविद्युतबाट मोटो कमिसन लिएर स्थानीयलाई मारमा पारेर नेताद्वय बडु र मानबहादुर धामीको जिल्ला भरि आलोचना हुने गरेको छ ।

मानबहादुर धामीले खप्तडटिभीसंग कुरा गर्दै भने, अपी हाइड्रोपावरबाट एक पैसा पनि लगेको छैन, यो सरासर झुट हो । तर, यता गोप्य स्रोतले भन्यो, अपी हाइड्रोपावरबाट धामीले मोटो रकम लिएको प्रष्ट छ ।

*यस बिषयमा खप्तडटिभी निरन्तर फलोअफमा छ ।