प्रिय कमरेड (ऐन महर) न्यानो अभिवादन ।
आराम छु र आरामको कामना गर्दछु । तपाईं यतिवेला मेरै गृहजिल्ला बझाङबाट नेकपा एमालेकातर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खडा हुनुभएको छ । म तपाईलाई मत खसाल्ने मतदाता र तपाईं मेरो उम्मेदवार । यस नाताले मैले तपाईंलाई केही भन्नै पर्ने र लेख्नै पर्ने बाध्यता आइलाग्यो । तपाईको विगतका केही तथ्यसहितका प्रश्नहरु उठाएको छु । कृपया यसलाई केही मिनेट समय निकालेर पढिदिनु भए आभारी हुनेथिएँ ।
यो पनि…
- अपराधिक पृष्ठभूमिका ऐन महर बझाङमा भोट किन्न अनेक गर्दै ?, ४ करोडको हल्ला
- चुनावका बेला ऐन महरलाई आपतै आपत, गोली चलाएको भिडियो बन्यो भाईरल..!
कुरो आरम्भ गरौँ आसन्न चुनावकै प्रसंगबाट । नेकपा एमालेको उम्मेदवार भएर अहिले तपाई चुनाबी मैदानमा हुनुहुन्छ । अफ्नो प्रचार प्रसारमा कम्मर कसेर लाग्नुभएको भन्ने सुनेको छुँ । बझाङी जनताका अगाडि साक्षात देवता म नै हुँ भने जसरी प्रस्तुत भइरहनु भएको छ । चुनावको बेलामा यो स्वभाविक नै हो । तर तपाईले तपाईको विगतलाई फर्केर आत्मालाई साक्षी राखेर एक पटक मैले उठाएका प्रश्नहरुको जरुर जवाफ दिनुहोला । तब मात्रै तपाईलाई बझाङी जनताले मतदान गर्ने जमर्को गर्ने छन् । अन्यथा दशऔँला (हात) जोडेर बझाङका सोझा जनतालाई नमस्कार गर्दै नझुक्याइयोस् । तपाईँलाई मतदान गर्नुअघि बझाङी जनताले आफ्नो भविष्यबारे पनि गम्भीर भई सोचुन् भन्ने लागेर मैले तपाइँको विगतलाई आलेखमा उतारेको छुँ । आशा छ, बझाङी जनताले यो आलेख पढेर आफ्नो निर्णायक मत निर्वाचन आयोगले थापेको ढ्वाङमा खसाल्ने छन् । यहि आलेख मार्फत तपाइँको असली अनुहार चिन्ने छन् र निर्णय लिनेछन् । त्यसैले प्रिय कमरेड तपाईँले यो आलेख पढ्नै पर्छ ।
कमरेड, तपाईं र तपाईंकै सहोदर भाई अमित महर अनि तपाईको मामा लगायतको समुहले २०७७ साल भदौं १८ गते काठमाडौंको स्वयंम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालको आकस्मिक कक्षमा गएर उपचार गरिरहेका बिरामी र डाक्टरहरुमाथि सांघातिक हमला, कुटपिट र अस्पताल तोडफोड गरेर अराजकताको नमुना प्रस्तुत गर्नु भएकै हो । त्यसको अभिलेख युट्यब र अनलाईन सञ्चार माध्यममा अहिले पनि भिडियो सामग्रीका रुपमा जीवित छ । अस्पताल जस्तो अतिसंवेदनशील स्थानमा समेत तपाई र तपाईंको गिरोहले मानवीय संवेदना गुमाएर विक्षिप्त भई अस्पतालको शय्यामा लडिरहेका घाइतेमाथि सांघातिक आक्रमण गरेको घटनाले तपाई एउटा जघन्य अपराधी हो भन्ने पुष्टि गर्दैन र ?
एउटा विद्यार्थी संगठनको नेता हुँदा त त्यो तहको वितण्डा मच्चाउनु भएको थियो भने मेरो गृह जिल्ला बझाङबाट चुनाव जितेर माननीय नै हुनुभयो भने कुन तहको आतंक मच्चाउनु हुन्छ होला र हामी बझाङी जनताले आफ्नै मुख कतिपल्ट चिथोर्नु पर्ने हो, थाहा छैन ।
कमरेड महर, अहिले तपाई मुसुक्क हाँसेर औँला (हात) जोड्दै, सोझा जनताको खुट्टा ढोगेर भोट माग्दै हिड्नु भएको छ । मैले यो कुरा सहजै पचाउन सकिन । र, भित्रैदेखि उकुसमुकुस भएको छुँ । तपाई मेरै जिल्लाबासी भएको र एउटै पार्टी संगठनमा संगै रहेर काम गरेको हुँदा तपाईको विगतबारे म जति अरु कसैलाई थाह छैन होला । चन्दा असुली, टेन्डर कब्जा, हप्ता असुली, पेस्तोल, खुँडाखुकुरी, हत्या, अपहरण र आतंक तपाईको मुख्य पेशा हो भन्ने कुरा म लगायत एमाले बझाङका अधिकांश नेता कार्यकर्तालाई राम्रैसंग थाह छ । यहि आवरणमा तपाईले अकुत सम्पति आर्जन गरेको पनि मैले मेरै आँखाले देखेको छु ।
बझाङबाट अध्ययनका लागि काठमाडौं आएको उरन्ठेउलो केटोसंग आज २० वर्षको अन्तरालमा कुनै आम्दानीको स्रोतबिनै अर्बौंको सम्पति कहाँबाट थुप्रियो ? लाखौको गाडी चढने हैसियत कसरी बन्यो ? काठमाडौं बोहोराटारमा ९ करोड मूल्य बराबरको अलिशान बंगला कसरी बन्यो ? तपाईकी श्रीमतीको नाममा काठमाडौंको न्यूरोडमा संचालित गहना पसलको स्रोत के हो ? न्यूरोडमै दुई थान भाईहरुको नाममा संचालित महर मिरर र एबीएस नामका दुई संकास्पद पसलहरु कसरी खुले ? तपाईका भाई अमित महरका नाममा दर्ता भएर संचालनमा रहेको काठमाडौंको ड्रिम गार्डेन रिसोर्ट, बझाङको चैनपुरमा रहेको ड्रिम होटल, कैलालीको धनगढीमा रहेको ड्रिम कन्सल्टेन्सी आदी कसरी खुले ? यतिधेरै थरी व्यवसाय सञ्चालनको स्रोत के हो ? र, तपाईँ सर्वहारा कम्युनिष्ट पार्टीको नेतासँग यतिका सम्पति डुङडुङती गन्हाएर बस्दा सम्पति सुद्धिकरण विभाग भन्ने बबुरो टाउको समातेर कतिपल्ट भित्तामा बजार्दो हो । तपाइँका पीतामह केपी शर्मा ओलीले अघि बढाएको ट्रष्ट यो सम्पति पर्खेर बसिरहेको होला हगि ?
हुनत आफ्ना सामान्य आलोचकलाई समेत सिध्याउनै पर्छ भन्ने तपाईं कति सम्मको अपराधी हो भन्ने कुराको म आफैँ भुक्तभोगी हो । संगठनका कयौं कम्रेडहरुले पनि त्यो भोग्नु भएको छ । तपाईको जुठो चाटेन पाएकाहरु चुप छन् होला । र, कोहिलाई तपाईको डर होला, अनाहकमा तातो गोली खाएर मर्नुभन्दा चुपलाग्नु नै ठिक ठानेर कयौँ चुपचाप छन् ।
तपाईं आज भन्दा ८/९ वर्ष पहिले अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला तपाईंले भने जसरी तपाईंको ‘धन्दा’लाई समर्थन नगर्दा तपाईले त्रिचन्द्र क्याम्पसको गेटमा आफ्नै सहकर्मी अनेरास्ववियूका नेता जनक बहादुर सिंहलाई आफ्नै भाई र मामा लगायतका गुण्डाहरु प्रयोग गरेर खुँडा र खुकरी प्रहार गरी मार्ने प्रयास गर्नु भएको मैले आफ्नै आँखाले देखेको छु । त्यतिबेला तपाईले खुँडा हानेर झण्डै मारिएका सहकर्मी कमरेड जनक बहादुर सिंह २ सय ८७ वटा टाका लगाएर करिबकरिब अपांग भएर बाँचेका छन् । जुनकुरा स्वयं सिंहले पनि केही समय पहिला लेखेको खुल्लापत्रमा मार्फत् सार्वजनिक गरेका थिए ।
सामान्य आलोचना सहन नसक्ने तपाईले यो आलेखको पंक्तिकारलाई पनि क्रुरतापूर्वक आक्रमण गर्नु हुन्छ कि भन्ने त्रास छ । खैर, म त्यसको सामना गर्न तयार छु ।
कमरेड, मलाई राम्ररी थाहा छ तपाईंभित्र नेतामा हुने कुनै पनि गुण छैन । फगत अवसरवादी भएर कम्युनिस्ट बन्नुभयो । पहिला तपाईं नेपाली कांग्रेसको कार्यकता हुनुहुन्थ्यो । कांग्रेस पनि राजनीतिक संकार र चरित्र भएर हुनु भएको चाँहि हैन । आफ्ना बाबु कांग्रेस भएका कारण तपाई कांग्रेसको नजिक हुनु भएको थियो । पछि अवसरको खोजीमा एमाले प्रवेश गर्नुभयो । तपाईं एमाले कसरी हुनु भयो एक पटक सम्झनुस् त ? याद आउछ कि आउदैन ? आर्मीमा जागिर खान खोज्नु भयो । धेरैतिर भनसुन गर्नुभयो । कांग्रेस सरकारको पालामा आर्मीमा नाम ननिस्केको रिसको झोकमा एमाले प्रवेश गरेको मैले तपाईलाई पुनः स्मरण गर्नचाहें ।
अखिल बनेपछि टोले गुण्डाबाट तपाईंको धन्दा फेरिएको थियो । पैसा असुल्ने तरिका पनि फेरिएको थियो । पुलिस,आर्मी बनाइदिन्छु, भन्दै सर्ब साधारणबाट पैसा असुल्ने, परीक्षामा फेल भएकालाई पास गराईदिन्छु भन्दै पैसा असुल्ने, परीक्षा केन्द्रमा सेटिगं गरेर विद्यार्थीबाट पैसा असुल्ने र नक्कली मार्कसिट बनाएर पैसा असुल्ने, टेन्डर र ठेक्का कब्जा गरेर पैसा असुल्ने तपाईका आम्दानीका मुख्य स्रोत थिए । म तपाईका यी सबै अपराध कर्मको साक्षी थिएँ र छु । त्यो मेरो बाध्यता थियो । किनकी मैले तपाईलाई साथ दिइन भने तपाईले मलाई गोली दाग्न कुनै आईतबार कुरिरहनु हुने थिएन÷छैन । तपाईले आफ्नै कयौं सहकर्मीलाई गोली हानेको मैले देखेको छु । तपाईको विरोध गर्ने सयौं व्यक्ति काटिएका,कुटिएका सयौं घटनाको साक्षी म स्वयं बसेको छु ।
तपाई अखिलको संयोजक हुँदा म पनि सोही संगठनमा रहेर काम गरेको नाताले मलाई राम्रोसंग थाहा छ, शैक्षिक शत्रको शुरु हुँदा नहुँदै तपाईको पैसा असुल्ने धन्दा शुरु भैहाल्थ्यो । तपाईंको छोरालाई सेन्ट जेभिएरले भर्ना नलिएको झोंकमा त्यहाँका कर्मचारीलाई म्यासेज लेखेर २४ घण्टाभित्र जे पनि हुन सक्ने घम्की दिनुभएको विर्षिनु भयो ? पैसा नपाए नराम्रो हुने भन्दै तपाईंको धम्की नखाने स्कुल र कलेज संचालकहरु काठमाडौंमा भेट्न मुस्किलै होला ।
त्रिचन्द्र क्याम्पसको ठेक्का कब्जा गर्न २०६६ सालमा गोली चलाएको भिडियो अहिले पनि सामाजिक संजालमा भाईरल छ । पैसाको लागि पशुपति क्याम्पसमा पेस्तोल चलाएको थाहै होला । अस्कल क्याम्पसमा गोली चलाएको घटना तपाईलाई झन् प्रष्टै होला । २०६८ सालमा बझाङको देऊरादेखि सदरमुकाम चैनपुरसम्मको सडक कालोपत्रे गर्दा ठेकेदारलाई कब्जामा लिएर ५१ लाख रुपैयाँ कमिसन खाएको सबै बझाङी जनतालाई थाहै छ । जुन कुरा नेपाली कांग्रेस बझाङका नेता दलबहादुर विष्टले भर्खरै एउटा सार्वजिनक कार्यक्रममा पनि भन्नु भएको तपाईले पनि पक्कै सुन्नु नै भयो होला ।
यि प्रतिनिधि घटना मात्रै हुन् । तपाईले ‘आइडल’ नेताका रुपमा मान्ने कमरेड महेस बस्नेत, कमरेड कर्ण बहादुर थापा र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम बेचेर गुण्डाराज मच्चाउदै अकुत सम्पति कुम्ल्याउनु भएको मैले लेखेको छु र आज आम बझाङी जनता समक्ष यसको खुलासा गरेको छ । यो कुनै आरोप हैन अख्तियारले छानबिन गरे एक घण्टामा प्रमाणित हुने तथ्य हो ।
कमरेड, अखिलको संयोजक हुँदा तपाईंले गरेका जघन्य अपराधकै कारण पुरस्कृत भएर अहिले तपाई मेरो गृहजिल्लाबाट एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार हुनुहन्छ । एउटा जिम्मेवार र देशप्रेमी पार्टीको सिपाई भएको नाताले तपाईको चरित्र सबैले थाह पाउनु पर्छ भनेर मैले यो आलेख लेखेँ ।
बाग्मतीमा धेरै पानी बगिसकेको छ कमरेड । समय बदलिएको छ । जनता सचेत भएका छन् । तपाईंसँग एउटै संगठनमा बसेर लामो समय काम गरेको नाताले तपाईका प्रत्येक कुकर्मको जीउँदो इतिहास म नै हुँ ।
चिनियाँ व्यापारीको यार्सागुम्बा लुटपाट, बझाङको बाहुलीगाडको पुल बनाउने ठेक्का कब्जा गर्न काभ्रेका चन्द्रलामालाई लिएर गरेको गुण्डागर्दी लगायत तपाइँका दर्जनौँ कर्तुतहरुको फेहरिस्त क्रमशः उतार्दै जाने छु ।
जिल्ला एउटै हो कमरेड, पार्टी संगठन एउटै हो राजनीतिक यात्रामा पुनः भेट हुने नै छ । र, माफ गर्नुहोस् कमरेड । म तपाईलाई अहिलेको चुनावमा भोट दिन सक्दिन । तपाईले यो आलेखमा उल्लेख प्रत्येक घटनाक्रमको जवाफ नदिएसम्म बझाङी जनतासमक्ष तपाईलाई भोट माग्ने नैतिकता छैन ।
*यो आलेखमा प्रस्तुत तथ्य र शब्द लेखकका नीजि विचार हुन्, यसले पर्न जाने असुविधा वा निर्वाचन आचारसंहितामा पर्ने प्रभावबारे लेखक नै जिम्मेवार हुनेछन् : सम्पादक