वि.सं.२०८२ असोज ३१ शुक्रवार

कालोबजारीविरुद्ध मुद्दा चलाउँदा प्रताडित डीएसपी ३३औं आईजीको प्रबल दाबेदार

दबाब, सरुवा र अन्यायपछि पनि हिम्मत नहारेका कार्की — अब नेपाल प्रहरीको महानिरीक्षक बन्ने पक्का

काठमाडौं । २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला अत्यावश्यक वस्तुहरूको अभावले सर्वसाधारणको जीवन कष्टकर बनेको थियो।

त्यही समयमा, खाने तोरीको तेललगायतका वस्तुमा दुगड ग्रुपले मूल्य तेब्बर वृद्धि गरी बेचिरहेको प्रमाण भेटिएपछि तत्कालीन बानेश्वर वृत्तका डिएसपी दानबहादुर कार्कीले कोटेश्वरस्थित गोदाममा छापा मारेका थिए।

दूरदर्शिता र सहानुभूति : आधुनिक प्रहरी नेतृत्वका दुई स्तम्भ, जसका प्रतीक हुन् दान बहादुर कार्की

दुगड ग्रुपका केएल दुगड र उच्च अधिकारीसहित १० जनाविरुद्ध ठगी तथा कालोबजारीमा मुद्दा दायर गरेका कारण बानेश्वर वृत्तका तत्कालिन डिएसपी कार्की त्यो बेला ठूलो पेलानमा परेका थिए ।

१२० रुपैयाँ पर्ने खाने तोरीको तेललाई नाकाबन्दीको मौका छोप्दै ३४० रुपैयाँसम्म मूल्य वृद्धि गरी बिक्री गरेको सूचना प्राप्त भएपछि कार्कीले दुगड ग्रुपको कोटेश्वरस्थित गोदाममा छापा हानेर दुगडविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाएका थिए ।

शक्तिशाली मानिने दुगड ग्रुपमाथि कुनै किसिमको कारबाही नगर्न भन्दै कार्कीलाई चौतर्फी दबाब, प्रभाव र धाकधम्की आएको भएतापनि कर्तव्यलाई सर्वोपरी मानी कुनै कुराको प्रवाह नगरी झण्डै १४ करोड रुपैयाँ बराबरको विगो र १० वर्ष कैद सजायको मागदावीसहित कालोबजारी र ठगी मुद्दा दर्ता गरेका थिए ।

गरिब जनताको चुलोमा अत्यावश्यक खाने तेलको मूल्यवृद्धि गरी अकुत सम्पत्ति आर्जन गर्ने गिरोहलाई कारबाको दायरामा ल्याउँदा संगठनबाट पुरस्कृत हुनुपर्नेमा डिएसपी कार्की उल्टै चौतर्फी घेराबन्दीमा परी कोपभाजन र अन्याय भोग्न परेको थियो ।

तीन साता लामो अनुसन्धानबाट तथ्य र प्रमाण संकलनपछि दुगड समूहका १० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा संगठन भित्रैका उच्च पदस्थ अधिकारीबाटै डिएसपी कार्कीलाई अनेक किसिमका दबाब, प्रभाव र गाली समेतले केही काम नगरेपछि उनलाई तत्कालै सरुवा गरी मधेस आन्दोलन चर्किरहेको बेला सप्तरी जिल्लामा सरुवा गरिएको थियो ।

त्यति मात्रले शान्त नभई उनलाई डिएसपीबाट एसपी बढुवामा जबर्जस्त पछाडि पारियो ।

२०७२ सालमा संविधानसभा निर्माण र नाकाबन्दी पश्चात काठमाडौंको बानेश्वरको संविधानसभा भवनक्षेत्र केन्द्रित ४०० भन्दा बढी विभिन्न मागसहितका प्रदर्शन एवं जुलुसमा आफू घाइते भएर पनि नागरिकहरूलाई कुनैपनि किसिमको मानवीय क्षति हुन नदिई उत्कृष्ट काम गरेका डिएसपी कार्की दुगड ग्रुपलाई मुद्दा चलाएपश्चात चौतर्फी घेराबन्दीको शिकार हुन पुगेका थिए ।

उनको करियरमै असर पुर्याउने उद्देश्यले चुनौतीपूर्ण काम बापतको नम्बर घटाई डिएसपीमा एक नम्बरमा रहेका उनलाई एसपी बढुवामा पछि पारेर अन्याय गरिएको थियो ।

तर इमान्दारिता, व्यवसायिकता र कार्यसम्पादनमा निरन्तर उत्कृष्टता कायम गर्दै त्यसपछिका एससएपी, डिआईजी र एआईजी बढुवामा आफ्नो ब्याचबाट पहिलो बरियता कायम गर्दै उनीविरूद्ध कुनै अन्याय नभए यही कात्तिकको तेस्रो हप्ता नेपाल प्रहरीको ३३औं महानिरीक्षक हुने कुरा निश्चित जस्तै देखिन्छ ।