सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङबाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार ऐन महर खुलमखुल्ला ४ करोड खर्चिएर भएपनि चुनाव जित्ने दाबी गर्दै हिँडेका छन् ।
घरदैलोमा व्यस्त उनी उँचो स्वरमा भनिरहेका छन्, ‘मसँग पैसा छ, ४ करोड खर्च गरेर भएपनि चुनाव जितेरै छोड्छु । पैसाका कारण युवा पंक्ति समेत मेरै पकडमा छ ।’
यो समाचार सामग्री तयार पार्दा उनी घरदैलोका गर्न मष्टा पुगेका थिए । घरदैलोबाटै उनले खप्तडटिभीसँग पैसा बाँड्ने कुरा नगरेको स्पष्टीकरण दिए ।
‘४१ हजार काण्ड’मा निर्वाचन आयोगले नै तपाइँलाई स्पष्टीकरण सोधेकै हो, अहिले पनि ४ करोड खर्च गर्छु भनेर भनिरहनु भएको छ भनेर विभिन्न रेकर्डहरु आए, कुरा के हो ? प्रस्ट भन्नुस्, जवाफमा उनले भने, ‘हामी जनता साथमा हुनेले पैसा बाँड्नु पर्दैन । पैसा त सत्ता र पावर हातमा हुनेहरुले बाँडिरहेका छन् । कुनै कार्यक्रममा खेलाडीहरुलाई सहयोग गर्छुँ भन्दा मलाई नैतिक दबाब दिन साथीहरुले ४१ हजार दिएको भनी घोषणा गरिदिए । त्यही विषयलाई ट्रोल बनाएर प्रचार गरिएपछि निर्वाचन आयोगको स्पष्टीकरण खाएको हुँ । अहिले त्यो सब ठीक भइसक्यो । मैले जित्न पैसा खर्च गर्नै पर्दैन ।’
उनको चुनावी प्रचारबारे बुझ्न खोज्दा एमाले बझाङका जिल्ला अध्यक्ष दमन भण्डारीले खप्तडटिभीको फोन उठाएनन् । बरु, उनले खप्तडटिभीका सम्पादककै अगाडि अर्का पत्रकारको फोन उठाएर वात मारे । भण्डारी भने महरको शैलीप्रति सन्तुष्ट छैनन् ।
महरको दावी र चुनावी अंक गणित
महरले आफुलाई ३५ देखि ४० हजार मत ल्याउन कुनै अफ्ठेरो नभएको जिकिर गरिरहेका छन् । तर, वास्तविकता त्यस्तो छैन । स्थानीय तह निर्वाचनमा झण्डै ८० हजार मत खसेकोमा एमालेले जम्मा २८ हजार चानचुन मत ल्यायो । १२ वटा पालिका मध्ये ३ वटा पालिकामा मात्रै एमालेले नेतृत्व हत्यायो, त्यो पनि एउटा पालिका बाहेक वडामा कमजोर बनेर । कुल मतदाताको संख्या स्थानीय तहको चुनाव भन्दा अलिकति मात्रै बृद्धि भएको छ । कुल मतदाता १ लाख २२ हजार रहेकामा अहिले ८० हजारभन्दा मुनि नै मत खस्ने अनुमान गरिएको छ ।
र, महरलाई चुनाव जित्न एमालेले स्थानीय तहमा पाएको मतसहित गणना गर्दा ४० हजार मत कटाउनु पर्ने हुन्छ । कारण, सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमै ४० हजार मत कटाएको रेकर्ड छ । त्यसलाई उछिन्न महरले १२ देखि १५ हजार मत गठबन्धन तथा अन्य समूहबाट बटुल्नु वा खोस्नु पर्ने छ । यो त्यति सजिलो भने छैन । गठबन्धनका मतदाताले महरलाई मत हाल्ने कुरै भएन । र, एमाले सबैले उनलाई नै मत हाल्छन् भन्ने पनि ग्यारेन्टी छैन । त्यस कारण उनले अपुग झण्डै १५ हजार मत किन्ने योजना बनाएको खुलेको छ ।
१५ हजार मत किनेर मात्रै भएन । पार्टी कार्यकर्तालाई पनि मनाउनै पर्ने हुन्छ । ८ हजार ६ सय १६ जना एमालेका संगठित सदस्य नै छन् । तिनलाई परिचालन गर्दा पनि उनको ठूलाे धनरासी खर्च हुन्छ ।
उनको विवादित पृष्ठभूमि आफैँमा घातक छँदै छ । अर्कोतिर सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी चुनावी मैदानमा छन् । पटक–पटक संसद पुगिसकेका एवं मन्त्री भइसकेका जोशी महरकै पार्टी एमालेको ज्यादतीविरुद्ध विद्रोह गरेर बनेको नेकपा (एस)का प्रभावशाली नेता हुन् । संसद विघटन तथा समाजवादी क्रान्ति विर्सिएर जनमतको अवमूल्यन गरेको एमाले नेतृत्वसँग अहिले पनि तल्लो तहका कार्यकर्ता रुष्ट छन्, त्यस कारण पनि महरको दावी हावादारी मात्रै हुन्छ ।
अंक गणित उनले भने जस्तो विलकुल छैन । पैसा र धाक धम्कीकै बलमा उनले चुनावी नतिजा प्रभावित पार्ने प्रयत्न गरिरहेको आरोप लागेको छ । अर्कोतिर उश्रृंखल, उट्पट्याङ तथा गुण्डागर्दी गर्नेहरुलाई अहिले मतदाताले रुचाउँदैनन्, पनि ।
उनको चुनावी ग्राउण्ड कस्तो छ भन्ने कुरा बुझ्न धेरै टाढा जानु पर्दैन । एमालेबाट साईपाल गाउँपालिका अध्यक्ष रहेका मानविर बोहराका कुरा सुन्दा थाहा भइहाल्छ । आफ्नो गाउँपालिका टेक्न उम्मेदवार त के एमालेका कुनै कार्यकर्ता झुल्किएनन् । चुनावी माहोल नभएपछि दिक्क लागेर म त सदरमुकाम झरेँ सर, ठट्टा गर्दै उनले खप्तडटिभीसँग भने, ‘यस्तो पाराले के होला ? दुई दिन भोजभतेर गरेका भरमा चुनाव जित्न सकिन्न ।’ उनकै पार्टीका जनप्रतिनिधिले यो गति बताउँदा महर भने हावादारी कुरा गरिरहेका छन् । त्यसमै रमाइरहेका छन् ।
विवादित महरको असली मुहार
तत्कालीन एमालेनिकट अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष हुँदा सामान्य आलोचना गरेकै कारण त्रिचन्द्र क्याम्पस अगाडि आफ्नै संगठनका विद्यार्थी नेता एवं सहयोद्धा जनक सिंहलाई खुँडा प्रहार गरेर मार्ने प्रयास गरे । जो अहिले अष्ट्रेलियामा छन् । उनी अहिले अपाङ्गताको जीवन व्यथित गरिरहेका छन् । त्यो बेला ४ वटा मोटरसाइकलमा सवार महरका सहोदर भाइ र मामासहित ८ जनाले खुँडा–खुकुरी प्रहार गरेका थिए ।
२८७ टाका लगाएर बाँचेको भन्दै सिंहले खुल्लापत्र समेत लेखे । त्यसअघि उनीसहितको ग्याङ्को आक्रमणले अस्कल क्याम्पसमा माधव नेपाल पक्षधर वसन्त शाहीको हत्या भयो । त्रिचन्द्र कलेजमा आफुले ठेक्का नपाएपछि उनले गोली चलाए । त्यसविरुद्ध उनलाई फौजदारी मुद्दा लाग्यो । र, पनि उनी संसदमा आउन खोजिरहेका छन् । नेपालको संविधानले नैतिक पतन भएको वा फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रतिनिधि सभा सदस्य हुन योग्य ठान्दैन । तर, उनको उम्मेदवारी अहिलेसम्म कायम छ ।
सनकले कांग्रेसको भ्रातृ संगठन छोडेका महर आर्मी बन्न सकेनन् । र, राजनीतिक आडमा असुली तथा ठगि गर्ने ‘गुण्डा’ बने । कांग्रेसको राजनीति गर्ने बाबुलाई प्रयोग गर्न नसकेपछि अवसरका लागि एमाले छिरेका उनी टोले गुण्डा हुँदै राजनीतिक गुण्डासम्म बन्न भ्याए । अखिल बनेपछि टोले गुण्डाबाट धन्दा फेरिएको धेरै भएकै छैन । अस्तिसम्म संसदमा बोल्न नजानेकै कारण ट्रोलको सिकार भएकी नविना लामालगायतसँग ठास्सठुस्स गर्ने महर एकाएक अनेरास्ववियुको संयोजक हुँदै एमाले केन्द्रीय सदस्य बने । एमाले अध्यक्ष ओलीलाई लोभ, प्रभावमा पारेर प्रतिनिधि सभा सदस्यको टिकट हत्याए ।
खासमा उनको धन्दा आर्मी, प्रहरी बनाइदिन्छु, सरुवा बढुवा गरिदिन्छु भन्दै असुली गर्ने हो । त्यति मात्रै होइन विभिन्न परीक्षामा फेल हुनेलाई पास गराइदिन्छु भन्दै उनले कयौँ व्यक्तिसँग पैसा असुल गरेका छन् । उनको धन्दा र उनीबारे कसैले टिप्पणी मात्रै गरे भने पनि भाइ भारदार तथा टोले गुण्डाको ग्याङ बोकेर हातहतियारसहित भौतिक आक्रमणमा उत्रिहाल्छन् । उनको असली अनुहार यहि हो ।
पृष्ठभूमि
बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ८ स्थायी घर भएका नेपाली कांग्रेस महासमिति सदस्य रामबहादुर महर र रतनादेवी महरको जेठा छोरा हुन्, ऐन महर । र, उनलाई साथ दिने नामुद ‘सन्कि गुण्डा’ अमित महर, उनका सहोदर भाई हुन् । ति दुबै आफुलाई एमाले अध्यक्ष केपी ओलीको छोरै भन्न भ्याउँछन् । ओलीसँग बसेर खिचेको फोटो देखाएर कयौँलाई ब्ल्याकमेल गरि असुली गरेको समेत खुल्न आएको छ ।
काठमाडौंको ठमेल, नयाँबजारतिर हप्ता असुली, चिनियाँ व्यापारीको यार्सागुम्बा लुट्पाट, ठेक्कापट्टामा खोंंचे थापेर उठाएको कमिसनले बोहोराटारमा ४–५ तलाको आलिशान महल बनाएका छन्, महरले ।
एउटा विद्यार्थी नेताको काठमाडौंमा आलिशान महल ? त्यो पनि कम्युनिष्ट पार्टीको नेता कार्यकर्ताः यो आफैंमा विरोधाभाष छँदैछ ।
काठमाडौंमा आलिशान महल ठड्याएर चुनाव लड्न जिल्ला चाहिने ! अचम्म होइन त ? आफ्नो साथमा जनता रहेको भन्दै देखावटी नेतागिरी गरिरहेका ‘टुरिष्ट उम्मेदवार’ महरलाई जिल्लामा वर्षौदेखि संगठन परिचालन गर्ने एमाले नेताहरुले कसरी मतदान गर्लान् ? र, पैसा र पावरको आडमा वर्षौँदेखि त्याग र योगदान गरिरहेका नेताको हुर्मत लिएर टिकट हत्याउने कस्तो राजनीतिक परिपाटी बसाल्न खोजेका हुन्, उनका ‘पिता प्रिय’ ओलीले ?
महरको नाम नयाँबजारमा गुन्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी ‘चरी’सँग समेत जोडिएको छ । उनी कुनै बेला चरीको मुख्य सहयोगी भएर बसेका थिए । प्रहरी इन्काउण्टरमा चरी मारिएपछि पनि उनले असुली धन्दा रोकेनन् । खाद्यान्न व्यापारी एवं ठेकेदार जीवन चलाउनेले उपहार दिएको इको स्पोट्र्सको ४० लाख पर्ने गाडी चढेर उनी अर्बको धाक दिन्छन् ।
त्रिचन्द्र क्याम्पसमा ८० लाखको टेन्डर हुँदा नेविसङ्घका भीमसेन गुरुङ, रत्न थापालगायत दर्जनौँ नेता–कार्यकर्तालाई गोली, खुकुरी, रड र ढुङ्गा हानी घाइते बनाएका उनको गोलीकाण्ड युट्युवमा अहिले पनि हेर्न पाइन्छ । त्रिचन्द्रका तत्कालीन स्ववियु सचिव सञ्जय यादवले प्रतिरोध गरेको भिडियो समेत युट्युबतिर हेर्न पाइन्छ ।
सँगैका सहयोद्धा जनक सिंहलाई घण्टाघर चोकमा खुकुरी र रड प्रहार गरी सख्त घाइते बनाएका उनका भाइ लगायतले एमालेका आदर्श नेता मनमोहन अधिकारीको नामबाट खोलिएको अस्पतालमै घुसेर आक्रमण गरेको भिडियो अहिले पनि खप्तडटिभीसँग सुरक्षित छ ।
आफ्नै नेताको अपमान गर्ने गरी अस्पताल जस्तो अतिसंवेदनशील क्षेत्रमा घुसेर घाइतेलाई कुटपिट गर्ने, अस्तपताल तोडफोड गर्ने महर कुन् नैतिकताले त्यही पार्टीबाट सार्वभौम संसदको यात्रा गर्छु भनिरहेका होलान् ? साँच्चै त्यसरी गुण्डाहरुलाई प्रवेश गर्न दिने मनमोहन अस्पतालका कर्मचारी र मानवीय संवेदना गुमाएका ऐन महरका ‘सन्कि गुण्डाहरु’लाई के मनमोहनले माफी दिए होलान् र ? कुन नैतिकताले महर जनताको प्रतिनिधि बन्छु भनिरहेका होलान् र कुन नाकले भोट मागिरहेका छन् ? त्यो बुझ्न आइतबार कुर्नै पर्दैन । र, महरलाई चिन्न कुनै तिर्थ समेत धाउनु पर्दैन । यति कुरा थाहा पाइसकेपछि फेरि पनि बिनापैसा चुनाव जित्ने महरको दावी पत्याएर बस्ने ? र, दिउँसै रात पारेर सफेद झुट बोल्ने यस्ता नैतिक पतन भएका तथा चरित्रहिन व्यक्तिबाट बझाङबासीले के अपेक्षा गर्ने ?