नेपाल पर्यटन वोर्डमा भएको ६९ करोड भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेकी श्रद्धा श्रेष्ठ जेनजी सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन् ।
भदौ २३ र २४ गते ‘नरसंहार’ भएको आगजनी तथा तोडफोडपछि बनेको अन्तरिम सरकारले भ्रष्टाचारमा मुछिएकी श्रेष्ठलाई मन्त्री बनाएपछि चौतर्फी विरोध सुरु भएको छ ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले विवादित छविका खगेन्द्र सुनारलाई मन्त्री बनाउन सिफारिस गर्दा उनको चर्को आलोचना भएको थियो ।

सुनारविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ता विरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक भएपछि कार्कीले सपथ रोकेकी थिइन् ।
तर, अहिले भने सपथग्रहण पछि मात्रै श्रेष्ठका कर्तुतहरु बाहिर आएपछि कार्कीको आलोचना सुरु भएको छ ।
जेनजीको मर्म विपरित भ्रष्टाचारमा मुछिएकी श्रेष्ठलाई मन्त्री बनाएको भन्दै कार्कीको आलोनना भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन वोर्डको भ्रष्टाचारमा संलग्न रहेको आरोपमा बोर्डका तत्कालिन कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौला र श्रेष्ठसहित २३ जनालाई प्रतिवादी बनाएर २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
जसमा सरकारी साक्षीको रुपमा श्रद्धा श्रेष्ठलाई पनि आयोगले प्रतिवादी बनाएको थियो ।
आयोगले उनीहरु विरुद्ध ६९ करोड रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो ।
श्रेष्ठ पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत थिइन् ।






























