वि.सं.२०८१ साउन ६ आइतवार

एमजी मोटर्सको विद्युतीय गाडीमा आगलागी, घटना गुपचुप पार्दै कम्पनी

एमजी कम्पनीको विद्युतीय गाडीमा आगलागी भएको घटना बाहिरिएकाे छ ।

राजधानीको बूढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी गाडीमा एकाएक आगलागी भएको हो ।

उक्त गाडी गोरखाको नामजुङका सुदीप लामिछानेको भएको खुलेको छ । पुस ८ गते साँझ पार्किङ गरेर राखिएको उक्त गाडी राति १ बजे एकाएक आगलागी भएको थियो । उक्त आगलागीको घटना सुरुमा गुपचुप राख्ने प्रयास भएपनि ढिलोगरी अहिले खुलासा भएको छ ।

स्रोतका अनुसार एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सलेसमेत यस विषय बोल्न चाहेको छैन भने यसबारेमा कम्पनीले आन्तरिक अध्ययन गरिरहेको बताइएको छ । तर, कम्पनीले आफ्नो बचाउ गर्दै चार्जिङका क्रममा गडबडी भएर आगलागी हुनै नसक्ने जिकिर गर्दै आएको छ ।

अर्को दिन पनि आफन्तलाई अस्पताल लैजान पर्ने भएकाले घर नजिकै गाडी पार्क गरेर चार्जमा हालेका थिए । लामिछानेले गाडी झन्डै २ वर्ष अघि खरिद गरेका थिए । यसअघि भने गाडीमा त्यस्तो कुनै खराबी नदेखिए पनि अहिले आएर एकाएक आगलागी भएर क्षतिग्रस्त हुन पुगेको बताइएको छ ।

गाडीमा एकाएक आगलागी भएपछि राति नै प्रहरीलाई खबर गरिएको दियो ।

स्थानीय प्रहरी आइपुगेपछि नियन्त्रणमा आएको आगलागीबारे टिपाइएको विवरणमा चार्जिङकै क्रममा यस्तो घटना भएको विषय उल्लेख छ । आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त छ ।