वि.सं.२०८१ असोज २५ शुक्रवार

‘ब्रा’ नलगाउने अभियान किन चलाइरहेछन् महिलाहरूले ?

फ्रान्सको हर्मिनी क्यान्डोलले सन् १८६९ मा एक कार्सेटलाई दुई टुक्रामा काटेर भित्रीवस्त्र बनाए

पछिल्ला दिनहरूमा दक्षिण कोरियाका महिलाहरू इन्टरनेटमा यस्ता तस्वीरहरू शेयर गरिरहेका छन्, जस्मा उनीहरूले ब्रा पहिरिएका छैनन् । ‘नो ब्रा ह्यासट्याग’ यतिबेला सोसियल मिडियामा ठूलो अभियान बन्दै गइरहेको छ ।

यसको सुरुवात दक्षिण कोरियाली अभिनेत्री तथा गायिका शु लीले गरेकी थिइन् । उनले आफ्नो इन्स्टाग्राम अकाण्टमार्फत् ब्रा नलगाएको आफ्नो तस्वीर शेयर गरेकी थिइन् । इन्स्टाग्राममा उनको लाखौँ फलोअर्स थिए । त्यसैले हेर्दा हेर्दै उनको तस्वीर भाइरल भयो । यससँगै उनी दक्षिण कोरियामा ब्रा मुक्त अभियानकी प्रतीक बनिन् ।

यस अभियान मार्फत् दक्षिण कोरियाका महिलाहरू ब्रा पहिरिनु र नपहिरिनु नीजि छनौटको विषय भएको सन्देश प्रवाह गरिरहेका छन् । यस अभियानमा धेरैजना शु लीको पक्षमा आए भने धेरैले उनको आलोचना समेत गरे । यी दुवै खेमामा महिला र पुरुष दुवै सहभागि छन् । केहीले यसलाई सस्तो लोकप्रियता हासिल गर्न अपनाइएको हतकण्डा भन्दै आलोचना गरेका छन् । त्यस्तै केहीले यसलाई महिलाहरूको नाममा मानिसको ध्यान खिच्ने तरिका भएको बताइरहेका छन् ।

केहीले भने यसलाई शु लीले महिला आन्दोलनमार्फत् आफ्नो प्रसिद्धी कमाउन लागिपरेको आरोप लगाएका छन् । केहीले उनलाई निशाना बनाउँदै लेखेका छन्, ‘के तिमी यस्तो अवस्थामा चर्च जान सक्छौ ? के तिमी आफ्नो बहिनीकाे पति अथवा सासु–ससुराका अघि यसरी प्रस्तुत हुन सक्छौ ?’

केबल पुरुष मात्रै नभई महिलाहरू पनि ब्रा नलगाउँदा असहज महशुस गर्छन् । हालसालै एक हाइप्रोफाइल गायिका ह्वाजाले बिना ब्रा खिचिएको आफ्नो फोटो सार्वजनिक गर्दै यो बहसलाई झनै बढाइदिएकी छन् । यस्ता फोटोहरूले दक्षिण कोरियाका आम महिलाहरूको समेत ध्यान खिचिरहेको छ, र उनीहरू अभियानमा जोडिदैँ गइरहेका छन् ।

अधिकांश महिलाहरू ब्रा नलगाउने अभियानको समर्थनमा छन्, तर पुरुषहरूको घुरेर हेर्ने बानीले गर्दा उनीहरू ब्रा नलगाई सार्वजनिक स्थान जान सक्ने अवस्था नरहेको समेत बताउँछन् । यसका लागि उनीहरू दक्षिण कोरियाका पुरुषहरूको लगातार घुरेर हेर्ने बानीलाई समस्या ठान्छन् । यसलाई उनीहरू गेज रेप अर्थात् घुरेर बलात्कार गर्नु सरह रहेको बताउँछन् ।

यो अभियान केवल दक्षिण कोरियाको राजधानी सियोलमा मात्रै सीमित छैन । यसले २२ वर्षीया डिजाइनर तथा छात्रा ना ह्यून लीलाई समेत प्रभावित गरेको छ । ना ह्यूनले एक पपअप ब्राण्ड हिप्पी सुरु गरेकी छन् । यसै वर्षको मे महिनाबाट उनले निप्पल प्याड बेच्न सुरु गरेकी छिन् । यससँगै उनले नारा दिएकी छन्, ‘यदी तपाईंले ब्रा पहिरिनु भएको छैन भने पनि केही छैन…।’

२८ वर्षीया अर्की युवती डाके युनले भनेकी छिन्, ‘म गायिका शु लीको अभियानबाट अत्याधिक प्रेरित छु । अचेल त्यतिबेला मात्रै ब्रा पहिरिन्छु जतिबेला म कार्यालयमा बोससँग हुन्छु । तर जब म आफ्नो ब्वायफ्रेण्डसँग हुन्छु, तब ब्रा पहिरिन्नँ ।’

यी सबैको पछाडी लुकेको एउटै सन्देश भनेको ब्रा पहिरिने र नपहिरिने विषय निजी भएको बताउनु हो । ब्रालाई महिलाहरूले प्रदर्शनको लागि पनि प्रयोग गरिरहेका छन् । सन् १९६० को दशका ब्रा जलाउने अभियान महिलाहरूबीच निकै लोकप्रिय भएको थियो ।

यो एउटा सांकेतिक विरोध थियो । त्यतिबेला धेरै महिलाहरूले ब्रा जलाएनन्, तर विरोध जनाउनको लागि बिना ब्रा सडकमा निस्किएका थिए । सन् २०१३ मा फ्रान्सको राजधानी पेरिसमा महिलाहरूले समेत सडकमा ब्रा फ्याँक्दै स्तन क्यान्सर विरुद्ध जागरण अभियान चलाएका थिए ।

‘ब्रा’बारे जानिराखौँ केहि कुरा

महिलाहरुले प्रयोग गर्ने भित्रि पहिरनको नाम हो- ब्रा। सामान्यतया महिलाहरुले आफूलाई आकर्षक देखाउन ब्राको प्रयोग गर्ने गर्छन्। महिलाहरुले ब्रा नलगाउँदा आफ्नो स्तन खुकुलो हुने र स्तनको आकार बिग्रने ठान्दछन्।

ब्रा प्रयोगलाई लिएर हाम्रो समाजमा विभिन्न भ्रमहरु पनि छन्। जस्तो ब्रा लगाउँदा स्तन क्यान्सरको खतरा बढ्छ। तर, ब्रा को प्रयोगले स्तन क्यान्सरको कुनै पनि खतरा नरहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। ९० को दशकमा गरिएको एक अध्यनले ब्रा प्रयोगले स्तन क्यान्सर बढ्ने देखाएतापनि पछिल्लो समय चिकित्सकहरुले ब्राबाट स्तन क्यान्सरको कुनै खतरा नभएको बताएका छन्।

महिलाहरु स्तनको आकार सानो भएमा फम सहितकको ब्रा लगाउनै पर्ने ठान्छन्। तर यो जरुरी छैन। यो महिलामा भर पर्छ कि उनीहरु आफ्ना स्तन कसरी देखाउन चाहन्छन्। यदि तपाइँ स्तन ठूलो देखाउन चाहनु हुन्छ भने फम सहितको ब्रा लगाएपनि हुन्छ तर केही फरक पर्दैन भने ब्रा लगाउनु जरुरी छैन।

महिलाहरुमा प्याडेड वा पुश अप ब्रा लगाउँदा स्तन ठूलो हुने ठान्छन्। तर बास्तविकता केहो भने पुशअप ब्रा स्तनलाई ठूलो देखाउन मात्र लगाउने हो। यो लगाउँदैमा स्तन बढ्ने होइन्। खासगरी महिलाहरु परफेक्ट ब्रा लामो समयसम्म प्रयोग गर्न सकिने ठान्छन्। तर कुनै पनि ब्राको उमेर ६ देखि ९ मिहना सम्म मात्र हो।

‘ब्रा’को सुरुवातीबारे

फ्रान्सको हर्मिनी क्यान्डोलले सन् १८६९ मा एक कार्सेटलाई दुई टुक्रामा काटेर भित्रीवस्त्र बनाएका थिए। पछि यसको माथिल्लो हिस्सा ब्राजसरी लगाउन र बेच्न सुरु गरियो। यद्यपी, पहिलो ब्रा कहाँ र कसरी बनेको थियो यसको निश्चित जवाफ दिन मुश्किल छ।

सन् १९११ मा ब्रा शब्दलाई अक्सफोर्ड डिक्शनरीमा राखियो। त्यसपछि सन् १९१३ मा अमेरिकाकी प्रभावकारी महिला मेरी फेल्प्सले रेशमको रुमाल र रिबनले आफ्नो लागि ब्रा बनाइन् र अर्को वर्ष त्यसको पेटेन्ट पनि गराइन्। मेरीले बनाएको ब्रालाई आधुनिक ब्राको सुरुवाती रुप मान्न सकिन्छ तर यसमा कमजोरी थियो। यसले स्तनलाई सपोर्ट गर्नुको साटो त्यसलाई सम्म बनाइदिन्थ्यो र त्यो एउटै साइजमा पाइन्थ्यो।

यूनानको इतिहासमा ब्राजस्तो देखिने कपडाको चित्रण छ। रोमन महिला स्तनलाई लुकाउनका लागि छातीको चारैतर्फ एउटा कपडाले बाँध्ने गर्दथे। त्यसको ठिक विपरित ग्रीक महिलाले एक बेल्टमार्फत बक्षलाई उकास्ने कोसिस गर्दथे। आज पसलमा जस्तो ब्रा हामी देख्छौं, अमेरिकामा त्यस्तो ब्रा सन् १९३० देखि बन्न सुरु भएको थियो।

यद्यपी, एशियामा ब्राको कुनै यस्तो स्पष्ट इतिहास पाइएको छैन। ब्रा बजारमा आएदेखि नै यसको विरोध भएको थियोः चर्चित फेशन म्यागजिन ‘भोग’ ले सन् १९०७ ताका ‘ brassiere’ शब्दलाई लोकप्रिय बनाउने ठूलो भूमिका खेल्यो। रोचक कुरा के छ भने योसँग ब्राको विरोध हुन पनि सुरु भयो। यो त्यही समय थियो जब महिलावादी संगठनले ब्रा लगाउने ‘खतरा’ प्रति महिलालाई सावधान गराएको थियो। र उनीहरुलाई यस्तो कपडा लगाउन सल्लाह दिइएको थियो जसले उनीहरुलाई हरेक प्रकारको समाजिक र राजनीतिक बन्धनबाट स्वतन्त्र गर्न सकोस्।

समाज

ब्रालाई आज महिलाको कपडाको अनिवार्य हिस्सा बनाइदिएको छ। ब्राविरुद्ध आवाज अहिले त्यती सुन्नमा आइँदैन। तर ब्राको विरोध हुनु वा नहुनु ठूलो कुरा नभई आखिर समाज ब्राबारे यति असहज किन हुन्छन् भन्ने प्रश्न तेर्सिन्छ ? ब्राको रंगले समस्या, ब्रा देखिँदा समस्या, ब्रालाई खुल्ला रुपमा सुकाउँदा समस्या र ब्रा शब्दको उच्चारणमा नै समस्या।

महिलाको शरिर र उनको कपडालाई यस्तो प्रकारले नियन्त्रण गर्ने कोसिस आखिर किन ? सर्ट, पाइन्ट र गन्जीजस्तै ब्रा पनि एउटा कपडा हो। हामीले यसलाई पनि एक कपडाको रुपमा नै हेर्दा राम्रो हुन्छ।