वि.सं.२०८१ जेठ ७ सोमवार

खाका प्रस्तुत भएपछि सिटबाँडफाँड टुङ्गो लाग्छ : यादव

मंसिर ४ को लागि घोषित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ दलिय गठबन्धनले निरन्तरा पाउने भएपछि सिटबाँडफाँडको तयारी सुरु भएको छ । त्यसका लागि गठबन्धनले कार्यदल नै निर्माण गरेका काम अघि बढाईएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँडको विषय टुंगो लगाउन सकेको छैन । सिट बाँडफाँडको विषयको हलो कहाँ अड्किएको भन्ने विषयमा जनता समाजवादी पार्टीबाट सिट बाँडफाँड कार्यदलका सदस्य रामसहायप्रसाद यादवसंग गरिएको कुराकानी :

सिट बाँडफाँड टुंगो लाग्न किन ढिलाई भइरहेको छ ?

–सिट बाँडफाँडको विषयमा हामी छलफल गरिरहेका छौँ । गृहकार्य नपुगेकाले बुधबार बाँडफाँडको खाका प्रस्तुत हुन सकेन । भागबन्डाको आधार भन्दा पनि सिटको व्यवस्थापनसँगै एजेन्डा पनि जोडिएर आउने भएकाले त्यसलाई पनि सँगसँगै तयारी गर्नुपर्छ ।

बाँडफाँडको आधारचाहिँ केलाई बनाउँदै हुनुहुन्छ ?

–सबैको धारणा ०७४ का प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन तथा ०७९ को स्थानीय निर्वाचनलाई पनि आधार बनाउने भन्ने छ । ०७४ को समानुपातिक परिमाण पनि आधारका रुपमा रहनेछ । आधार तय भएपछि सिट संख्या टुंगो लाग्छ । अहिलेसम्म दलहरुले संख्यामा दाबी गरेका छैनन् ।

कार्यदलमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो ?

–शिर्ष नेताहरुसँग छलफल गरेरै अगाडि जानुपर्छ । कार्यदल शीर्ष तहको सहमतिमै बनेका हो । शीर्ष नेताहरुलाई जानकारी गराउनैपर्छ । संयोजकले शीर्ष तहमा छलफल गर्नुहुन्छ । अब बस्ने बैठकमा उहाँले खाका ल्याउनुहुनेछ ।