वि.सं.२०८३ वैशाख ७ सोमवार

इन्स्पेक्टर यादवको नेतृत्वमा धनुषामा १० लाख बराबरको मोबाइल चोरी गर्ने पक्राउ

धनुषा जिल्लामा मोबाइल पसल फोडी करिब १० लाख रुपैयाँ बराबरको सामान चोरी गर्ने तीन जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला धनुषाधाम नगरपालिका–८, केसरकट्टीका राजकुमार साहले सञ्चालन गर्दै आएको ‘राजकुमार मोबाइल पसल’मा २०८२ भदौ ६ गते बिहान करिब १ः४५ बजे चोरी भएको थियो । अज्ञात व्यक्तिहरूले पसलको शटरको ताला फोडी पसलभित्र प्रवेश गरी विभिन्न किसिमका ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च तथा नगद ९८ हजार ७ सय ६५ रुपैयाँ चोरी गरेका थिए । चोरी भएको सम्पत्तिको कुल मूल्य करिब १० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ !

घटनापछि अनुसन्धानका क्रममा पसलमा जडान गरिएको सीसीटीभी फुटेजको सहयोगमा भदौ ११ गते तीन जना आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । पक्राउ परेकासँगै उनीहरूको घर र लुकाएको स्थानबाट विभिन्न कम्पनीका १२ थान मोबाइल, घडी, क्यामेरा स्ट्यान्ड, मोबाइल चार्जर, लेन्सलगायत चोरीका सामग्री बरामद गरिएको छ ।

पक्राउ परेकाहरूमा धनुषा गणेशमान चारनाथ नगरपालिका–७ का २० वर्षीय अर्जुन मुखिया, सोही स्थानका १९ वर्षीय सिकेन्द्र पासवान र वडा नं. ५ का २२ वर्षीय कृष्ण मण्डल रहेका छन् । उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन् ।