वि.सं.२०८१ असोज २५ शुक्रवार

जनता पार्टीकी नेतृको बलात्कारपछि हत्या, आरोपित पक्राउ

भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फोगाटको शव परीक्षण (पोष्टमार्टम) का क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ ।

उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार हुन् ।

पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जबर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ ।  पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी रहेकी थिइन् । प्रारम्भिक रिपोर्टहरुमा उनको हृदयघातका कारण निधन भएको बताइएको थियो ।

को हुन् फोगाट?
फोगाट उत्तर भारतीय राज्य हरियाणाकी हुन्।

उनी सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाकी सदस्य हुन्।

उनी भाजपाका तर्फबाट सन् २०१९ मा राज्य विधानसभाको निर्वाचनमा उठेकी थिइन् तर उनी पराजित भएकी थिइन्।

राजनीतिक जीवनका साथसाथै उनले भारतको मनोरञ्जन उद्योगमा पनि आफ्ना पाइला राखेकी थिइन्।

उनी टेलिभिजन रीयालिटी शो बिग बोसकी चर्चित प्रतिस्पर्धी थिइन्। बिग बोस अमेरिकी टीभी रीयालिटी शो बिग ब्रदरको भारतीय संस्करण हो।

त्यसका अतिरिक्त फोगाट भूतपूर्व टिकटक स्टार पनि हुन्।

उनले क्षेत्रीय चलचित्रहरू, टेलिचलचित्रहरू र वेब सिरीजहरूमा अभिनय पनि गरेकी थिइन्।

एकजना सरकारी कर्मचारीलाई आफ्नो चप्पलले कुटेको आरोपमा सन् २०२० मा उनी पक्राउ परेर पछि धरौटीमा छुटेकी थिइन्।

उनले त्यसबेला उक्त व्यक्तिलाई आफूमाथि “अभद्र र अपमानजनक” शब्दका साथ गाली गरेको आरोप लगाएकी थिइन्।