वि.सं.२०८२ माघ २७ सोमवार

कर्नेल र जर्नेल छोराको पावर आतंक : ८२ वर्षीय भूपू प्रहरी बाबु २६ दिन हिरासतमा !

आर्मीको पहुँच प्रयोग गरी आफ्नै बाबुमाथि अत्याचार गरेको गम्भीर आरोप

नेपाल आर्मीका उच्च पदस्थ अधिकारी रहेका दुई छोरा —एक कर्नेल र अर्का जर्नेलले आफ्नै ८२ वर्षीय भूपू प्रहरी बाबुमाथि पद र पहुँचको दुरुपयोग गरी अत्याचार गरेको गम्भीर आरोप सार्वजनिक भएको छ।

नुवाकोटका ८२ बर्ष प्रेम बहादुर शाहका अनुसार उनकी जेठी श्रीमती २०६२ सालदेखि सम्पर्कविहीन रहँदै आएकी थिइन्।

नेपाली सेनाकाे उच्च पदमा रहेका उनीहरुकाे खोजी गरे पनि फेला नपरेको जनाइएको छ। जुन निकै दु:खदायी विषय हाे ।

स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा, डायलाइसिस गराइरहेकाे अवस्थामा उनले कान्छी विवाह गरेका थिए।

१०–११ वर्षपछि एकाएक बहुविवाह मुद्दा दर्ता भए पनि सम्बन्धित अदालतले अन्ततः पीडित र उनकी कान्छी श्रीमतीको पक्षमा फैसला गरेको थियोे।

अदालतको आदेशअनुसार उनले नेपाल आर्मीमा कार्यरत आफ्ना दुई छोरालाई अंशसमेत दिइसकेको दाबी गर्छन्।

तर अंश पाएपछि पनि कर्नेल र जर्नेल छोराले पदको दुरुपयाेग गरी विभिन्न मुद्दा लगाएर बाबुमाथि दबाब दिने गरेकाे शाहको आरोप छ।

अदालत र प्रहरी निकायमा समेत आर्मीको प्रभाव देखाइएको शाहको भनाइ छ।

यसै क्रममा ८२ वर्षीय गम्भीर बिरामी बाबु र उनकी श्रीमतीलाई भद्रकाली प्रहरी परिसरमा २६ दिनसम्म हिरासतमा राखिएको रहस्य खुलेको छ।

थुनुवा पुर्जीमा विवाह दर्ताको सालमा भएको त्रुटिलाई ‘किर्ते’ भन्दै थुनिएको उल्लेख छ।

तर बहुविवाह मुद्दामा अदालतबाट आएको फैसलासँग यो आरोप आपसमा विरोधाभाष देखिन्छ।

यस विषयमा खप्तडटिभीले उनका छाेरा अच्युत शाहसंग टेलिफोन संवाद गर्दा उनले कुराकानी गर्न मानेनन् ।

 

उता भद्रकाली प्रहरी परिसरले १९ दिन मात्र हिरासतमा राखिएको कागजात दिएको भए पनि वास्तविक हिरासत अवधि २६ दिन भएको पीडित पक्षले दाबी गरेकाे छ।

घटनाले उच्च पदमा रहेका व्यक्तिले आफ्नै बाबूमाथि शक्ति प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर प्रश्न खडा भएकाे छ।

पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिसकेको र निष्पक्ष छानबिनको माग समेत गरेको छ।

यस प्रकरणका सम्पूर्ण प्रमाणहरु खप्तडटिभीसंग सुरक्षित छन्: सम्पादक