चुनावमा पराजय ब्यहाेरेपछि दोलखा एमालेमा विवाद सुरु भएको छ । अन्तर्घातका कारण चुनाव हारेको भन्दै विवाद सुरु भएको हाे । विवाद बढ्न थालेपछि एमालेको दोलखा जिल्ला कमिटीले बैठकसमेत बोलाइसकेको छ ।
चुनावको अन्तिम नतिजा निस्केलगत्तै जिल्ला कमिटीले २९ मंसिरका लागि चुनावी समीक्षा बैठक बोलाएको हो । दोलखामा एमाले नेता बालकृष्ण शिवाकोटी माअोवादी केन्द्रका उम्मेदवार गंगा कार्कीसँग ३ सय १८ मतले पराजित भएका छन् ।
शिवाकोटीको पराजयमा एमाले नेताहरूको घरझगडालाई कारक मानिएको छ । एमाले नेताहरू पार्वत गुरुङ र आनन्द पोखरेलबीच लामो समयदेखि विवाद छ । अहिलेको चुनावमा पोखरेल र गुरुङले टिकटको दाबी गरेका थिए ।
टिकटको दाबी गर्दा अन्तिम समयमा पोखरेलले टिकट पाउने निश्चित भएको थियो । तर, गुरुङले अवरोध गरेपछि शिवाकोटीले टिकट पाएका हुन् । तर दोलखामा आफ्नो विकल्प अरु कोहि हुन सक्दैन भन्ने प्रमाणित गर्नका लागि गुरुङले अन्तर्घात गरेर चुनाव हराएको आरोप लाग्न थालेको छ ।
टिकट पाएका उम्मेदवार बालकृष्ण शिवाकोटीका निकट मानिने पदम प्रसाद शिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘पार्वत दाई उठेको भए ज्यान छोडेर लागिन्थ्यो भन्नेहरुले डुबाउने भए एमाले ! धिक्कार छ एमालेका दर्तावाल दुस्मनहरु !!’
नेतृत्वको गलत कदम र निर्णयका कारण दोलखामा पार्टीले पराजय व्यहोरेको आरोप लगाउँदै उनीहरुले नेतृत्वको राजीनामा समेत माग गरिरहेका छन् । एमाले कार्यकर्ताहरुले आफ्नो फेसबुक पेज मार्फत विभिन्न धारणा व्यक्त गर्दै निर्वाचनमा पराजय व्यहोर्नुको प्रमुख कारण नेतृत्व पङ्ती नै भएको आरोप लगाईरहेका छन् ।
यसवीचमा एमाले दोलखाका सचिव हिरा कुमार तमाङले राजिनामाको घोषणा गरिसकेका छन् । तमाङले आफ्नो फेसबुक पेज मार्फत प्रतिनिधी सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले दोलखाको सचिव पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।
उनले त आरोप पुष्टि भए ज्यानै त्याग्नेसम्मको अभिव्यक्ति दिन थालेका छन् । पुर्व जिल्ला सचिव भरत दुलालले भने तिमीहरुका छौडालाई चाहिन्छ भने यो प्रदेश कमित्य्त सदस्य समेत दिन तयार छु भन्ने अभिव्यक्ति सामाजिक संजाल मार्फत दिएका छन् ।
यता नेता आनन्द पोखरेल भने बुथ हानिएको आफ्नो पालिका र आफ्नो नातेदारहरु भएको बैतेश्वरका केहि वडामा चुनाव पुन गराउन सफल भएका छन् । चुनाव अगाडी नै गठबन्धनले बुथ हान्दै छ भनेर हल्ला गर्दै गुरुङ्गले झन् गठबन्धनलाई उक्साएको आरोप पनि लाग्न थालेको छ भने उनले गठबन्धनले बुथ हान्छ भने तामाकोशीमा हेलिकप्टर ओराल्छु भन्ने सम्मका अभिव्यक्ति दिएर गठबन्धनलाई उत्तेजित बनाएका थिए ।
चुनावको अवधि भर कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी पाएका उपाध्यक्ष राजेन्द्र मानन्धरको भूमिका माथि पनि कार्यकर्ताको प्रश्न छ । नाम नखुलाउने सर्तमा एक कार्यकर्ताले भने, ‘प्रचारको नाममा ठुलै खर्च भयो, जिल्ला उपाध्यक्ष ल्यापटपमा भोटको हिसाब र मान्छे गनेर बसे, फिल्डमा गएनन् । सस्तो लोकप्रियताका लागि टिकटक बनाउने प्रतियोगिता, फोटो अफ द दे भन्दै उम्मेदवारलाई इन्गेज गराए ।’
पदाधिकारीको भूमिका शंकास्पद देखिएपछि जिल्ला कमिटी सदस्य शक्ति पाठकले ‘पार्टि पदाधिकारीको भुमिका विषयक अन्तरकृया गरौ अब’ भन्दै नयाँ प्रस्ताव अघि सारेका छन् भने नेत्र मोक्तानले व्यंगात्मक रुपमा लेखेका छन्, ‘चरिकोटमा, केही बर्ष अगाडी धेरैको घरमा चोरी भएको थियो । पुलिस आफैं, चोर पक्राउ गर्न असफल भएर हैरानी भएको थियो । चोरी रोकिएन । चरिकोटे हैरान भए । अन्तिममा, प्रहरी चोर पक्राउ गर्न सफल भयो । पछी थाहा भयो कि, चोर त सिडियोको निजि सुरक्षागार्ड पो रैछ । चरिकोटेहरु तिनछक, प्रहरी प्रशासन आफैं तिल्मिल्यायो । चरिकोटमा भएको सत्य घटना ।’