वि.सं.२०८३ वैशाख ९ बुधवार

बीए तेस्रो वर्षको JMC 410 परीक्षामा प्रश्नप्रति विद्यार्थीको असन्तुष्टि

त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीए तेस्रो वर्षको इलेक्टिभ विषय “पत्रकारिता–२ (JMC 410) Introduction to Mass Communication” को आज सम्पन्न परीक्षापछि विद्यार्थीहरूले प्रश्नपत्रप्रति असन्तुष्टि जनाएका छन्।

परीक्षामा सहभागी अधिकांश विद्यार्थीले समूह ‘बि’ अन्तर्गत सोधिएको प्रश्न नम्बर ७ स्पष्ट नभएको गुनासो गरेका छन्।

कतिपय विद्यार्थीका अनुसार उक्त प्रश्नले विषयवस्तु नै प्रष्ट नपार्दा उत्तर लेख्न कठिन भएको थियो। “प्रश्नको आशय नै बुझ्न गाह्रो भयो, यसले परीक्षार्थीलाई अन्योलमा पार्‍यो,” एक विद्यार्थीले बताए।

विद्यार्थीहरूले यसलाई परीक्षा व्यवस्थापनको कमजोरीका रूपमा लिँदै प्रश्नपत्र निर्माणमा अझ स्पष्टता र पाठ्यक्रमअनुसार समेटिनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार अस्पष्ट प्रश्नका कारण धेरैले अपेक्षित रूपमा उत्तर लेख्न नसकेको बताएका छन्।

यसअघि हिजो सम्पन्न इलेक्टिभ–१ अन्तर्गतको सोही विषय (JMC 410) को परीक्षामा पनि पाठ्यक्रमभन्दा बाहिरका केही प्रश्नहरू समावेश गरिएको आरोप विद्यार्थीहरूले लगाएका छन्।

“सिलेबस बाहिरबाट प्रश्न आउँदा तयारी अनुसार प्रदर्शन गर्न सकिएन,” अर्का एक परीक्षार्थीले भने।

शिक्षक तथा शिक्षा विज्ञहरूका अनुसार प्रश्नपत्र तयार पार्दा विषयवस्तुको स्पष्टता, सन्तुलन र पाठ्यक्रमसँगको सामञ्जस्य अत्यन्त आवश्यक हुन्छ। “यदि प्रश्न अस्पष्ट भयो भने त्यसले विद्यार्थीको मूल्यांकनमा प्रत्यक्ष असर पार्छ,” एक प्राध्यापकले प्रतिक्रिया दिए।

विद्यार्थीहरूले सम्बन्धित निकायसँग प्रश्नपत्रको पुनरावलोकन गर्न, आवश्यक परे मूल्यांकनमा सहुलियत दिन तथा आगामी दिनमा यस्ता त्रुटिहरू दोहोरिन नदिन माग गरेका छन्।