वि.सं.२०८१ जेठ ७ सोमवार

पशुपतिनाथमा भूमाफियाको चलखेल, कता हरायाे मन्दिरको २३१ रोपनी १० आना रोपनी जग्गा ?

पशुपतिनाथको १९ हजार रोपनी जग्गा

भनिन्छ–पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । देशकै प्रमुख शक्तिपिठ पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा गायब पारिएको छ ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन कुमार थापाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदनले पशुपतिनाथको २३१ रोपनी १० आना जग्गा गायब भएको खुलासा भएकाे हो ।

प्रतिवेदनका अनुसार पशुपतिनाथको नाममा उपत्यकाभित्र मात्रै बागमतीदेखि मनहरा नदी बगरसम्मका २३१ रोपनी १० आना जग्गा गायब पारिएको छ ।

पशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा बागमतीदेखि मनहरा नदी बगरसम्मका त्यति जग्गा अझै गायब छ ।

अर्बौँ रुपैयाँ बराबरको जग्गा कसरी गायब भयो ? यसको जवाफ दिन सक्ने हालतमा न कोष छ, न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै ।

यति ठूलो मात्रामा पशुपतिको जग्गा गायब पारिएको विषयमा स्वयम् पशुपति क्षेत्र विकास कोष नै मौन छ । अहिले गायब पारिएको पशुपतिनाथ मन्दिरको जग्गा फिर्ता ल्याउने कसरतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लागी परेका छन् ।

उनले ती जग्गा कित्ता नापी महाशाखा, नापी कार्यालय र उपत्यकाका तीन वटै मालपोट कार्यालय र कोषका प्रतिनिधिसहितको समिति बनाएर खोजिने बताएका छन् ।

यसो त पशुपतिनाथ मन्दिरको नाममा देशभर १८ हजार ८ सय ८२ रोपनी १४ आना जग्गा रहेको प्रतिवेदनले देखाएको छ । जसमध्ये विभिन्न मितिमा गरी ठूलो मात्रामा पशुपतिनाथको जग्गा गायब पारिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

पशुपतिनाथको १९ हजार रोपनी जग्गा

पशुपतिनाथ मन्दिरको नाममा देशभर १८ हजार ८ सय ८२ रोपनी १४ आना जग्गा रहेको तथ्य फेला पारेको थियो ।

कोषको तीन वटै कार्यालय क्रमशः श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको लगतभित्र दर्ता प्रमाणित भएको ४ हजार १८१ रोपनी १३ आना ३.५ पैसा जग्गा छ भने पशुपतिको कोर क्षेत्रमा १ सय रोपनी ३ पैसा ३ दाम जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोषका अनुसार २०६४ जेठ ३२ मा २९ रोपनी ७ आना २ पैसा १ दाम जग्गा र २०६२ कात्तिक २२ गते १९ रोपनी १५ आना १ दाम जग्गा अधिग्रहण गरेर पशुपतिको नाम दाखिला गरिएको थियो ।

गोठाटार क्षेत्रमा ५३४ रोपनी र तारागाउँ रिजेन्सी होटलले चर्चेको १७ रोपनी जग्गा पनि पशुपतिनाथकै रहेको कोषले जनाएको छ । कोषका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पशुपतिकै नाममा रहेको ११ सय २६ रोपनी जग्गा प्रयोग गरिरहेको छ ।

यसगरी…..
पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।

कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने, “शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरेका छौँ । एकरदुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने छ ।”

कामपा–८ गाँचा पोखरीमा तीन रोपनी छ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् ।