वि.सं.२०८१ माघ २६ शनिवार

नेपाल बन्द अपडेट : ठाउँ ठाउँमा बम, सवारी साधन-कलेजमा तोडफोड, दर्जनाै नेता-कार्यकर्ता पक्राउ

सफ्टवारिका कलेजमा तोडफोड
काठमाडौंको डिल्लीबजार स्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ । आज बिहान ६ बजे सो कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो ।

मोटरसाइकलमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् । बन्दको दिन तोडफोड भएकोले बन्दकर्ताले तोडफोड गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

बन्दका कारण पढाइमा असर

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण लाखौँ बालबालिकाले शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासले काठमाडौँलगायत विभिन्न स्थानका विद्यालय बन्द भएका छन् ।

नेपाल यातायात तोडफोड

काठमाडौंको थापा गाउँमा नेपाल यातायात तोडफोड गरिएको छ । अनामनगरबाट बानेश्वर जाँदै गरेको बा४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुईवटा सार्वजनिक गाडी तोडफोड

काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।

कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ ।

बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपाका दुई नेता पक्राउ

डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरिएको सो पार्टीका अन्य नेताले जनाएका छन् ।

नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई बिना कारण गिरफ्तार गरिएको बताए । आफूहरुको बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए ।

काभ्रेमा बम

बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधन चल्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको टोलीले डिस्पोज गरेपछि सवारी साधन पूर्वबत चलेका हुन् ।

खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गणको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो । बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रे प्रहरीले बन्दकर्ताले नै सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ ।

उपत्यकाबाट १८ जना बन्दकर्ता पक्राउ
काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।

मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।

काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

६ सवारी साधन तोडफोड, ५ पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।

आफ्नै टिप्परमा आगो लगाएर बिमा रकम झ्वाम पार्ने दाऊ

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् ।

चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए ।

गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।

गाडीमा ढुंगा हान्ने बन्दकर्ता स्थानीयबाट कुटिए

बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

https://www.facebook.com/ganeshkhaptadtv/videos/588440989557392

कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए ।

जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत र गिरी भागेर पनौती जाने बाटोतर्फ गएका थिए ।

त्यही बेला उनीहरुले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले छुटाएर उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको छ ।

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् ।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको उनले बताए ।