वि.सं.२०८३ असार १८ बिहीवार

यामबहादुर र बुद्धिको कार्यकालमा ध्वस्त भयो पृथ्वीनारायण माविको खेलमैदान

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयको ऐतिहासिक भौतिक संरचना यतिबेला नेतृत्वको लाचारीका कारण इतिहासकै कुरुप अवस्थामा पुगेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष यामबहादुर गुरुङ र प्रधानाध्यापक बुद्धि बहादुर नेपालीको कार्यकालमा विद्यालयको महत्वपूर्ण सम्पत्ति मानिने खेलमैदान ‘भैंसी बस्ने आहाल’मा परिणत भएपछि स्थानीय र अभिभावकहरू आक्रोशित बनेका छन् ।

​नेतृत्वको असफलता: संरक्षण कि विनास?

विगतका कयौँ पुस्ताले पसिना बगाएर, टाढा-टाढाबाट दुबो बोकेर ल्याई सजाएको हरियाली मैदान यतिबेला ढुङ्गा र लेदो माटोले पुरिएको छ ।

घट्टेखोला-धम्पुस-खानीगाउँ सडक खण्ड निर्माण गरिरहेको मतिदान निर्माण सेवाले सम्झौताविपरीत मैदानको बीच भागमै गेग्रान थुपार्दा पनि अध्यक्ष गुरुङ र प्रअ नेपाली मौन बस्नुलाई स्थानीयले उनीहरूको ‘असफलता’ र ‘मिलेमतो’को रूपमा व्याख्या गरेका छन् ।

​”विद्यालयको सम्पत्ति जोगाउने कसम खाएर नेतृत्वमा पुगेका व्यक्तिहरूले आफ्नै अगाडि मैदान क्षतविक्षत हुँदा आँखा चिम्लिनु रहस्यमय छ,” विद्यालयकै एक शिक्षकले गुनासो गरे ।

अहिले

​मिलेमतोको आशंका

​निर्माण व्यवसायीले मैदानको स्वरूप नै बिगारिदिँदा समेत विद्यालय प्रशासनले कुनै कानुनी प्रक्रिया अगाडि नबढाउनु र निर्माण गर्न पहल नगर्नुले अध्यक्ष र प्रअको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । सम्झौता एकातिर हुने र काम अर्कोतिर भइरहँदा पनि नेतृत्व तहबाट “नो अब्जेक्सन” को भाव देखिनुमा कुनै अनुचित लेनदेन वा चलखेल भएको हुन सक्ने आशंका अभिभावकहरूले गरेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने मुख्य दायित्व बोकेका जिम्मेवार व्यक्तिहरूबाटै मौनता देखिनुले उनीहरू आफ्नो पदीय जिम्मेवारीबाट च्यूत भएको देखिन्छ ।

स्थानीय अभिभावक र सरोकारवालाहरूले यस प्रक्रियामा ठूलो स्वार्थको खेल भएको आशंका व्यक्त गरेका छन् । बाहिर विरोध भइरहँदा भित्रभित्रै व्यवसायीलाई उन्मुक्ति दिने दाउपेचले गर्दा विद्यालयको भौतिक भविष्य नै संकटमा परेको छ ।

“हाम्रा बालबालिकाको भविष्यसँग जोडिएको खेलमैदान ध्वस्त पार्दा पनि प्रशासन किन बोल्दैन?” भन्ने प्रश्न अहिले गाउँटोलमा व्याप्त छ ।

पहिले

​विद्यार्थीको भविष्यमाथि खेलबाड

​नयाँ शैक्षिक सत्र सुरु भई विद्यालयमा चहलपहल बढ्दा करिब २०० विद्यार्थी भने खेल्ने ठाउँ नभएर चौरको हिलो हेर्दै बस्न बाध्य छन् । विद्यालयको शैक्षिक र भौतिक वातावरण सुधार गर्नुपर्नेमा उल्टै भइरहेको संरचनालाई ध्वस्त बनाउन छुट दिएर अध्यक्ष गुरुङ र प्रअ मिजारले विद्यार्थीको खेल अधिकारमाथि ‘डोजर’ चलाउन मद्दत पुर्‍याएको आरोप लागेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भइसक्यो, तर विद्यार्थीलाई खेल्न पठाउने ठाउँ छैन । अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलकुद प्रतियोगिता र दैनिक अभ्यास गराउन अर्को विकल्प नै छैन,” एक शिक्षकले भने, “मैदानको यो अवस्थाले विद्यार्थीको मानसिक र शारीरिक विकासमा प्रत्यक्ष असर पुगेको छ, तर प्रशासन भने अझै मौन छ ।” विद्यालयको वार्षिक कार्ययोजनामा समेटिएका खेलकुद कार्यक्रमहरू मैदानकै अभावमा प्रभावित हुने देखिएपछि अभिभावकहरूले चिन्ताव्यक्त गरिरहेका छन् ।

 

​​मैदानको दुर्दशा देखेपछि विद्यालय प्रशासनले सक्रियता देखाउनुको सट्टा एक शिक्षकले व्यक्तिगत तवरमा दात्री निकाय एसियाली विकास बैंकमा उजुरी गर्नुपर्ने अवस्था आउनुले विद्यालयको आन्तरिक व्यवस्थापन कति फितलो छ भन्ने छर्लङ्ग पारेको छ । बैंकको अनुगमन टोली आएर फर्किसक्दा समेत मैदान सफा गर्ने र हरियाली पुनःस्थापना गर्ने विषयमा नेतृत्वले अझै कुनै तदारुकता देखाएको छैन ।

​पुस्तौंको मेहेनतले बनेको खेलमैदान यमबहादुर र बुद्धिको कार्यकालको ‘कालो धब्बा’ बन्ने भन्दै स्थानीयले तत्काल मैदानलाई दुबो रोपेर पुरानै अवस्थामा फर्काउन माग गरेका छन् ।

यस बिषयमा खप्तडटिभीले यामबहादुर र बुद्धिसम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

यस्तो छ समाचारकाे खण्डन 

श्री सम्पादकज्यू
खप्तड टिभी
विषयः प्रकाशित तथा प्रशारित समाचारप्रति खण्डन ।
महोदय,
मिति २०८३ वैशाख ३१ गते बिहीबार प्रकाशित तथा प्रशारित “यामबहादुर र बुद्धिको कार्यकालमा ध्वस्त भयो पृथ्वीनारायण माविको खेलमैदान” शीर्षकको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचार विद्यालय प्रशासन तथा सम्बन्धित आधिकारिक व्यक्तिहरूसँग सत्यतथ्य बुझी प्रतिक्रिया नलिई एकपक्षीय, भ्रामक तथा अतिरञ्जित ढंगले सम्प्रेषण गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ ।
विद्यालयको खेलमैदान सम्बन्धी विषय निर्माण कार्यका क्रममा उत्पन्न अस्थायी अवस्था मात्र हो । विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन विद्यालयको भौतिक संरचना संरक्षण, व्यवस्थापन र विद्यार्थीको हितप्रति पूर्ण जिम्मेवार र संवेदनशील रहेको स्पष्ट गर्न चाहन्छौं । समाचारमा उल्लेख गरिएझैं अध्यक्ष तथा प्रधानाध्यापकको मिलेमतो, लापरवाही वा स्वार्थ जोडिएका आरोपहरू निराधार, कपोलकल्पित तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित देखिन्छन् ।
विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर सुधार तथा भौतिक पूर्वाधार निर्माणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री यामबहादुर गुरुङ तथा प्रधानाध्यापक श्री बुद्धिबहादुर नेपाली हामी दुवै निरन्तर निस्वार्थ रूपमा अहोरात्र समर्पित भई क्रियाशील रहँदै आएका छौं । यस्तो अवस्थामा विद्यालयको उन्नयनका लागि निरन्तर खटिरहेको नेतृत्वप्रति लगाइएका कपोलकल्पित आरोपहरू मिथ्या शिवाय अन्य केही हुन सक्दैनन् ।
उक्त समाचार पूर्ण रूपमा निराधार रहेको तथा यसले विद्यालय परिवारको मनोबल गिराउने, समुदायमा भ्रम सिर्जना गर्ने र विद्यालयको प्रतिष्ठामाथि आघात पुर्‍याउने कार्य गरेको छ । सम्बन्धित पक्षको आधिकारिक धारणा तथा तथ्य नबुझी समाचार सम्प्रेषण गर्नु पत्रकारिताको मर्म, आचारसंहिता तथा निष्पक्ष पत्रकारिताको मूल सिद्धान्तविपरीत रहेको हाम्रो ठहर छ । आधिकारिक स्रोत तथा प्रमाणबिना यस्ता संवेदनशील विषयलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्नु कत्तिको पत्रकारिता धर्मअनुरूप हुन्छ भन्ने प्रश्नसमेत उठेको छ ।
अतः पत्रकारिताको मर्यादा, आचारसंहिता तथा सत्यतथ्यको सम्मान गर्दै उक्त समाचार सच्याई आधिकारिक खण्डन यथाशीघ्र प्रकाशन/प्रसारण गरिदिनुहुन अनुरोध गर्दछौं । साथै भविष्यमा यस्ता समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षसँग आवश्यक तथ्य, प्रमाण तथा प्रतिक्रिया लिएर मात्र समाचार प्रकाशन गर्नसमेत आग्रह गर्दछौं ।
धन्यवाद ।
भवदीय
बुद्धि बहादुर नेपाली
(प्रधानाध्यापक)
याम बहादुर गुरुङ
(विद्यालय व्यवस्थापन समिति अध्यक्ष)
पृथ्वीनारायण माध्यमिक विद्यालय
माछापुच्छ्रे गाउँपालिका–७, धम्पुस, कास्की
बोधार्थः
प्रेस काउन्सिल नेपाल
माछापुच्छ्रे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा