वि.सं.२०८० फागुन १० बिहीवार

जहाँ एउटा यस्तो गाउँ छ : महिनावारी हुँदा जंगलमा बस्नपर्छ

प्रथा की शुरुआत

महिनावारीको समयमा धेरै ठाउँमा महिलालाई पूजापाठ र दैनिक घरायसी कामबाट टाढा राखिन्छ भन्ने त हामीले देखे/सुनेकै छौं । तर आन्ध्र र तेलंगानाको सिमामा पर्ने एउटा यस्तो गाउँ जहाँ महिनावारीको समयमा महिलाले यस्तो प्रताडना भोग्नुपर्छ, जो हामी कमैलाई थाहा होला । उक्त गाउँमा महिनावारी हुँदा महिलालाई गाउँबाट जंगलमा पठाइन्छ ।

सन् २०१८ मा बीबीसीले सामाजिक मुद्दाहरूमा आधारित समाचारको श्रृंखला प्रकाशन गरेको थियो । त्यसबेला आन्ध्र प्रदेशको अनन्तपुरम जिल्लाको रोल्ला मण्डलको गन्ता गोलहट्टी नामको गाउँको पनि बीबीसीले रिपोर्टिङ गरेको थियो, उक्त गाउँको अवस्थामा अझैँ केही पनि सुधार नआएको दोस्रो सामग्री बीबीसीले प्रकाशन गरेको छ ।

यस अवधिमा यस्ता प्रचलनविरुद्ध जनचेतना फैलाउन के भइरहेको छ भनेर ग्रामीण अधिकारीहरूसँग जानकारी पनि मागिएको थियो । त्यतिबेला अधिकारीहरूले जनतामा परिवर्तन आएको दाबी गरेका थिए । तर तथ्य के हो भने आज पनि ती गाउँको अवस्थामा परिवर्तन आउन सकेको छैन ।

यो परम्परा एउटा गाउँको मात्र होइन। बरु, आज पनि आन्ध्र प्रदेशको चित्तूर जिल्लाको कुप्पम मण्डल र तमिलनाडुको एकलान्थम गाउँमा सल्लारापल्लीको उरिनायनपल्ली, उरिनायनी कोथथुरु र पलायम र गुड्डीपल्ली मण्डलहरूमा देख्न सकिन्छ ।

तेलंगाना/आन्ध्र प्रदेश 

यी गाउँको जनसङ्ख्या करिब २५ सय छ। यी गाउँमा महिनावारी हुँदा महिलालाई गाउँबाट टाढा राख्ने चलन छ। बीबीसीले यी गाउँहरू भ्रमण गरेको थियो। यस अवधिमा यो प्रचलनका कारण महिनावारीको समयमा घरबाहिर जङ्गलमा बस्ने महिलाहरूसँग मात्र कुरा गरिएको थियो ।

आन्ध्र प्रदेशको चित्तूर जिल्लाको कुप्पमको मण्डल मुख्यालयबाट करिब आठ किलोमिटर टाढा उरिनायनपल्ली, उरिनायनी कोथथुरु र सल्लारापल्ली गाउँहरू छन् । गुडिपल्ली मण्डलको पलायम गाउँ यी गाउँहरूबाट केही किलोमिटर टाढा छ ।

उरिनायनपल्लीबाट ६ किलोमिटर जङ्गल पार गरेपछि तमिलनाडुको कृष्णगिरी जिल्लाको एकलान्थम गाउँ पुग्न सकिन्छ । यी गाउँहरूको अधिकांश जनसंख्या वाल्मीकि नायडू जातिको हो । उनीहरुले परापूर्वकालदेखि महिनावारी हुँदा महिलालाई गाउँबाट बाहिर पठाउने चलन पछ्याउँदै आएका छन् ।

सडकबाट एकलन्थम पुग्न कुप्पम–कृष्णगिरि सडकमा ३० किलोमिटर पैदल यात्रा गरी महाराजा काडै नजिकैको सकनाभुरु हुँदै पहाडको चुचुरोमा पुग्नुपर्छ। पहाडको चुचुरोमा अवस्थित एकलथाम गाउँ । यो आन्ध्र प्रदेशको कुप्पमबाट ४० किलोमिटर टाढा छ । यो गाउँमा दुई सय घरमा करिब ९ सय मानिस बस्छन् ।

गाउँमा केही विकास देखिन्न । मानिसहरू पिउने पानीका लागि ह्यान्डपम्प प्रयोग गर्छन् । गाउँमा महिलाका लागि ‘शेल्टर होम’ भए पनि महिलाले राति मात्रै बस्न पाउँछन् ।

बिहानै गाउँबाट टाढाको पहाडमा निस्किनुपर्छ । त्यहाँ खोला र खहरे हुने पानीको स्रोत वरपर बस्छन् । त्यहीँ खाना पकाउँछन् । अचार वा तरकारी बनाउन ढुङ्गाले पिस्नुपर्छ । यस गाउँका हरेक महिनावारी भएका महिलाले महिनामा चार दिन गाउँबाहिर जंगलमा बस्नुपर्ने बाध्यता छ । गर्मी होस् वा भारी वर्षा, हावाहुरीले बितण्डा मच्चाएका दिन नै किन नहुन्, उनीहरू महिनावारीको समयमा गाउँमा बस्न पाउँदैनन् ।

गाउँकी एक महिला मल्लिकाले यो परम्परा शताब्दीयौंदेखि चल्दै आएको बताइन् । मल्लिका तमिलनाडुको एकलान्थम निवासी हुन् र आन्ध्र प्रदेशको उरिनयानपल्ली गाउँको परिवारमा विवाह गरिन् । त्यसैले उनको मामा र ससुरा दुवैमा यो चलन उस्तै छ ।

मल्लिका भन्छिन्, ‘महिनावारीको समयमा महिलाहरू गाउँमा पस्न पाउँदैनन् । यो प्रथा पुर्खाबाट चलिआएको हो । हामीलाई घरमा बस्न दिइँदैन । हामी चार दिन यही पहाडमा बस्नुपर्छ। त्यसपछि मात्रै फर्कन पाउँछौं ।’

मल्लिकाका अनुसार उनीहरू पहाडमा रुखमुनि बस्छन् । धेरै पानी परेपछि ठूला ढुङ्गा वा रुखको सहारामा तारपाल टाँस्छन्, ठूला ढुङ्गामुनि शरण लिन्छन् । ‘सर्प वा बिच्छीको खतरा हुन्छ । जताततै छन् । ती दिनहरूमा हामी आफ्नो सुरक्षाको जिम्मा भगवानको हातमा छाडिदिन्छौं, अरू गर्न पनि के सक्छौं र ! महिनामा चार दिन हामीले निकै कठिनाइका साथ खतराहरूको सामना गर्नुपर्छ ।’

महिनावारीमा जंगलमा बसेर पकाइरहेका महिला 

तर रजस्वला भएका महिला मात्र होइन उनीहरुका साना बच्चाहरु पनि उनीहरुसँगै जंगलमा बस्छन् । मल्लिकाले पनि भनिन्, ‘मेरा दुई छोराछोरी छन्। उनीहरू नुहाएर मात्रै गाउँको घर जान दिइन्छ। नत्र गाउँ जान पाउँदैनन् र हामीसँगै बस्नु पर्छ ।’

बालबालिका घर गएपछि खाजा खान्छन् । महिलाहरू पोखरीनजिकै खाना पकाएर त्यहीँ खान्छन् । सल्लारापल्ली गाउँका महिलाको अवस्था पनि उस्तै छ । महिनावारी हुँदा चार दिन गाउँबाहिर बस्नुपर्ने हुन्छ ।

गाउँका महिनावारी हुने उमेर पुगेका किशोरीलाई पनि चाँडपर्वको बेला गाउँमा बस्न दिइन्न । बालिका वयस्क भएपछि १० दिन गाउँबाहिर बस्नुपर्ने स्थानीयवासी बताउँछन् । सल्लारापल्लीका बलम्माले बिहान वा दिउँसो खेतमा बस्न मिल्ने तर रातमा सुरक्षाका लागि भगवानमा भर पर्नुपर्ने बताइन् ।

बालम्माले भनिन्, ‘पहिले महिलाहरू ठूला ढुङ्गामुनि खाडलमा बस्ने गर्दथे तर अहिले अस्पताल भएकाले बच्चा जन्माउन त्यहाँ जान्छन् । पाँच दिनसम्म अस्पतालमै बस्छन्। त्यसपछि उनीहरूलाई गाउँमा पस्ने अनुमति दिइन्छ ।’

पहिलोपटक रजश्वला हुँदा किशोरीले १० दिन जंगलमा बस्नुपर्छ। ११ औँ दिनमा पुजारीले घर ल्याउँछन् । केही कर्मकाण्डपछि केटीलाई घरमै छोडिन्छ । बालम्माले भनिन्, ‘महिनावारी हुँदा हामी खेतमा जान्छौँ, वा पहाडमा बस्छौं । भगवानले हाम्रो भाग्य यसरी लेखिदिनुभएको छ । अब हामी केही गर्न सक्दैनौं । यो त सदावहार चलिरहेकै छ । परिवारमा छोरी होस् या बुहारी । महिनावारी हुँदा महिलालाई घर बाहिर पठाइन्छ ।’

गाउँमा बाहिरबाट आएका महिलालाई पनि प्रवेश गर्न दिइन्न । उनीहरू गाउँबाहिरै बस्नुपर्छ । महिनावारीको बेला गाउँबाहिर जङ्गलमा बस्दै आएका एकलान्थम गाउँका केही महिलालाई बीबीसीले भेटेको थियो । केही महिलालाई खाना पकाइरहेका थिए । रिपोर्टरले उनलाई सोधे, ‘यहाँ किन बसिरहेका ?’

जवाफमा कासिमाले आफू बिहे गरेर आएपछि यस्तो चलन थाहा पाएको बताइन् । मातृ गाउँ तन्जोरमा देवगृहमा प्रवेश गर्न नमिले पनि घरमै बस्न मिल्ने सम्झिँदै उनले अहिले ससुराको गाउँको त्यो अभ्यास आफूलाई मन नपर्ने बताइन् । ‘बिहे गरेर यहाँ आएपछि बल्ल यो चलन थाहा पाएँ । मेरो बिहे भएको दुई वर्ष भय । महिनावारीको बेला गाउँबाहिर बस्नुपर्ला भनेर बिहेअघि मलाई थाहा थिएन ।’

तर उनले यो कुरा आफ्नो मातृगाउँमा कसैलाई भनेकी छैनन् । उनीहरूले गलत बुझ्लान् र दुई परिवारबीच सम्बन्ध बिग्रिएला सोचेर उनले भनेकी छैनन् । ‘मैले माइतीमा यो कुरा कसैलाई भनेकी छैन्, तर मलाई  यो मन पर्दैन । गाउँले यसलाई परम्परा भन्छन् । मलाई यो चलन मन पर्दैन,यो एकदमै नराम्रो कुरा हो । के मेरा छोरीहरूले पनि यस्तै पीडा भोग्नुपर्नेछ? यसलाई परिवर्तन गर्नुपर्छ ।’

समाजमा गाँसिएका यस्ता प्रचलनलाई परिर्वतनका लागि आफूहरुले सक्दो प्रयास गरिरहेको सामाजिक अभियन्ताहरु बताउँछन् । कुप्पम प्रजा वेदि संस्थाका सामाजिक कार्यकर्ता मुनिराजू बाबुले विगत सात वर्षमा केही सफलता प्राप्त गरेको दाबी गरे । तर अझै धेरै परिवर्तनको खाँचो रहेको उनले बताए ।

‘हामी सन् २०१६ देखि यो कूरीतिविरुद्ध काम गर्दैछौं । यो अन्धविश्वास आन्ध्र प्रदेशको चित्तूर जिल्लाको तीन गाउँ र तमिलनाडुको कृष्णगिरि जिल्लाको एउटा गाउँमा व्याप्त छ । हामीले सामाजिक अध्ययनका विद्यार्थीसँगै गाउँका वृद्धवृद्धाहरूलाई भेट्यौं, चिकित्सक र सरकारी कर्मचारीलाई भेटेर आवश्यक पहल गर्‍यौँ,’ उनले भने, ‘ती प्रयासले केही परिवर्तन पनि भए तर अझै धेरै हासिल गर्न बाँकी छ ।’

तेलंगानामा महिनावारीपछि गाउँबाहिर बसेकी महिला 

गाउँलेसँग मिलेर काम गरेर मात्रै सफलता हात पार्न सकिने मुनिराजुको भनाइ छ । बल प्रयोग भन्दा पनि उनीहरूलाई बुझाएर मस्तिष्कबाटै त्यस्तो कूरीति हटाउन पहल गर्नुपर्ने उनको भनाइ छ । गाउँका जनताको भावनालाई सम्मान गर्दै दाताको सहयोगमा गाउँबाहिर महिलाको सुरक्षाका लागि पक्की भवन निर्माण गरिएको पनि मुनिराजुले बताए ।

‘चार दशकदेखि सामाजिक संघसंस्था र राजनीतिक पार्टीले परिवर्तनको प्रयास गरे पनि सफल हुन सकेको छैन । गाउँलेलाई यो चलन अन्त छैन भन्ने पनि थाहा छ । तर गाउँमा देउताका गहना भएको विश्वासले उनीहरू महिनावारी बार्नुपर्ने बताउँछन् । महिलाहरू पनि यसै भन्छन्,’ उनले भने। परिस्थिति बदल्न निरन्तर प्रयास गरिरहेको पनि उनले बताए ।

गाउँबाहिरको घरलाई महिला आश्रयस्थलमा परिणत गरिएको र यो परिवर्तनको पहिलो पाइला भएको उनले बताए । उनले भने, ‘महिलाहरू जंगलमा बस्न नपरोस् भनेर पक्की भवन बनाएका छौं । महिनावारीको समयमा रगत बगेर बिरामी नपरोस् भन्ने कुरामा पनि ध्यान दिइएको छ । यो महिला आश्रय परिवर्तनको पहिलो कदम हो,’ उनले भने ।

गाउँका अधिकांश मानिस खेती किसानी गर्छन् । उनीहरुले जीविकोपार्जनका लागि गाई र बाख्रा पनि पालेका छन् । चप्पल र जुत्ता लगाउँदैनन् । अहिले केही युवामा परिवर्तन आएको छ ।

यी पाँचै गाउँ बी‍च जंगलमा छन् । केही मन्दिरहरू पनि जंगलमा छन् । गाउँको चाडपर्वमा बाहेक अन्य देवताका गरगहना र अन्य सामानहरू पुजारीहरूले तयार पारेका विशेष कोठाहरूमा राखिन्छन् । त्यसैले ती कोठालाई कसैले छुनु हुँदैन भन्ने मान्यता छ ।

उरिनयानपल्ली गाउँका बासिन्दा तैयप्पाले भने, ‘हामी कादिरी लक्ष्मी नरसिंह स्वामीको पूजा गर्छौं । भगवानले आफूलाई पहाडमा स्थापना गर्नुभएको छ । हामी देवतालाई छुँदैनौं । किंवदन्ती छ कि एक पटक चाडपर्वमा महिनावारी भएको थियो । गाउँमा धर्मकी महिला गुमाएपछि परम्परागत ढोल भाँचियो, त्यसबेलादेखि गाउँका बुढापाकाले यो परम्परा पालन गर्दै आएका छन् ।’

महिनावारीका बेला महिलालाई परिवारबाट खाना र पानीसमेत दिइँदैन । पोखरीबाट जङ्गलमा पानी ल्याएर त्यहाँ खाना पकाउने गर्छन् । चरम आपतकालीन अवस्थामा ढाबा वा रेस्टुरेन्टबाट खाना अर्डर गरिन्छ । महिनावारीको बेला महिलाले गाउँमा कुनै पनि वस्तु छोयो भने अशुभ मानिन्छ ।

यो प्रचलनका कारण सम्बन्धित गाउँका महिलाले जोखिमपूर्ण अवस्थामा बाँच्न बाध्य भएको क्षेत्रका अधिकारीहरू पनि बताउँछन् । सर्वसाधारणमा चेतना जगाउने प्रयास गरिरहेको उनीहरूको भनाइ छ । कुप्पमका राजस्व अधिकारी शिवैयाले मानिसहरू नै परिवर्तन नभएसम्म त्यस्ता अभ्यास परिवर्तन गर्न कठिन भएको बताए ।

महिनावारीपछि खेतमा बसेका महिला 

‘केही मानिसले पैतृक परम्पराको नाममा महिलालाई घरबाहिर राख्छन्। जसकारण उनीहरू जोखिमपूर्ण जीवन बाँच्नुपरेको छ,’ उनी भन्छन्, ‘सर्प , बिच्छी लगायतका जीवजन्तु र कीराको बीचमा बस्नु पर्ने भएकाले यो जोखिमपूर्ण छ । सम्बन्धित गाउँमा जताततै चेतनामूलक कार्यक्रम आयोजना गरे पनि पू्र्ण सफलता प्राप्त गर्न सकेका छैनौँ ।’

उनले अहिले युवामा केही परिवर्तन देखिएको बताए । हिनावारीको समयमा महिलालाई बढी हेरचाह र पौष्टिक आहारको आवश्यकता पर्ने भएकाले घरमा बस्न दिनुपर्छ भनेर विश्वास दिलाउन थालेको उनले बताए। जसमा केही युवाले पनि साथ दिएको उनको भनाइ छ ।  (बीबीसी हिन्दीबाट)