वि.सं.२०८३ वैशाख ३ बिहीवार

नेपाल प्रहरीका हाकिममाथि छानबिन

नेपाल प्रहरीका दुई एसपीमाथि छानबिन भइरहेकाे छ ।

एसपी नवराज कार्की र कमल थापामाथि गम्भीर आरोपमा छानबिन सुरु भइरहेकाे हो ।

एसपी थापामाथि ‘हनी ट्रयाप‘पिङ गिरोहसँग मिलेको उजुरी छ  भने, एसपी कार्कीमाथि क्रिप्टोकारोबारीसँग ४० लाख रुपैयाँ लिएको विषयमा उजुरी परेपछि छानबिन अघि बढेको स्राेतले बताएकाे छ  ।

अहिले दुवै जनालाई केन्द्रीय कार्यालय तानिएको छ ।

एसपी थापामाथि ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ भने प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।

त्यस्तै, एसपी कार्कीमाथि कोशी प्रदेशका एसएसपी भीम दाहालको नेतृत्वमा छानबिन चलिरहेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दान बहादुर कार्कीले दुवै घटनामा सूक्ष्म रूपमा छानबिन भइरहेको र छानबिन प्रतिवेदनका आधारमा कारबाही अघि बढ्ने बताए ।

एक व्यवसायीलाई ‘हनी ट्रयापिङ’मा फसाई बलात्कार मुद्दा चलाउने भनेर ललितपुरको भैँसेपाटी प्रभागमा थुनामा राखेर ३० लाख रुपैयाँ असुलिएको थियो ।

जुन घटनामा संलग्न गिरोहका नाइके ताज इस्लाम र भैँसेपाटी प्रभागकी तत्कालीन इन्स्पेक्टर बिनु कुमारी शाहीबिच उनै एसपी थापाले चिनजान गराइदिएका थिए ।

एसपी थापाकै सहयोगमा त्यसरी व्यापारीलाई फसाएर पैसा असुलिएको इस्लामले बयानमा बताएका छन् ।

सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले थापाको पनि बयान लिन प्रहरीलाई निर्देशन दिएको छ।

हाल ललितपुर प्रहरीले गिरोहका नाइकेसहित ४ जनालाई थुनामा राखी संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यता एसपी कार्कीले भने मोरङको प्रहरी प्रमुख हुँदा क्रिप्टोकारोबारमा मुद्दा चलाउने भन्दै पैसा असुलेको पुष्टि भएको छ ।

इन्स्पेक्टर बिक्रम भट्टराईमार्फत उनले पैसा असुलेका हुन् । प्रारम्भिक छानबिनमा इन्स्पेक्टरले सो कुरा स्वीकार गरिसकेका छन् ।

‘करिब ४० लाख रुपैयाँ डिल भएको र त्यसमध्ये आधा रकम लिएको देखिन्छ ।’

स्रोतका अनुसार पीडितलाई प्रभावमा पारी एसपी कार्कीलाई उजुरी दिनबाट रोक्ने प्रयास गरिरहेका छन् ।

इन्स्पेक्टरसहित हवल्दार राजकुमार श्रेष्ठ, खगेन्द्र राउत, सरोज श्रेष्ठलगायतलाई छानबिनको दायरामा ल्याइएको छ ।

आइजिपीलाई समेत झुक्याएर उनले एक घुमुवासमेत राखेका थिए ।

ती घुमुवाले आइजिपीको नाम बेचेर पैसा उठाएको खुलेपछि हटाइएको थियो ।

तर, गणमा कार्यरत रहेको देखाएर कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङ र एसपी कार्कीले परिचालन गरेको पुष्टि भएको छ ।

डिआइजीलाई समेत प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले स्पष्टीकरण सोधेका छन् ।