वि.सं.२०८१ जेठ ७ सोमवार

कुकुरको मासुमा प्रतिबन्ध

दक्षिण कोरियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाइएको छ । मंगलबार त्यहाँको संसद्ले यस विषयमा नयाँ कानुन पारित गरेको हो ।

यो कानुनले सन् २०२७ देखि त्यहाँ कुकुरलाई काट्न र मासु बेच्न पूरै रोक लगाउने छ । दक्षिण कोरियामा शताब्दीऔँदेखि कुकुरको मासु खाइँदै आएको छ । तर हालैका दशकहरूमा युवा पुस्तामाझ कुकुरको मासु खाने प्रवृत्ति घट्दै गइरहेको छ । युवा पुस्ताहरूले यसको मासु खान छाडेका छन् ।

नयाँ कानुनअन्तर्गत खपतको उद्देश्यले कुकुर पाल्न र काट्नमा बन्देज लाग्नेछ । मासु बाँड्न र बेच्न पनि पाइनेछैन । यो कानुन उल्लङ्घन गर्नेलाई जेल सजाय दिइनेछ ।

कुकुर काटेको भेटिएमा तीन वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ । खपतका लागि कुकुर पाल्ने र मासु बेच्नेले पनि अधिकतम २ वर्षसम्मको जेल सजाय दिइनेछ ।

तर कुकुरको मासु खानु भने गैरकानूनी मानिने छैन ।

सरकारी तथ्याङ्कका अनुसार दक्षिण कोरियामा सन् २०२३ मा कुकुरको मासु बेच्ने १ हजार ६०० रेस्टुराँ थिए भने खपतका लागि कुकुर पाल्ने किसानको सङ्ख्या १ हजार १५० थियो ।

सन् १९८० को दशकयता कोरियाली सरकारले पटक पटक कुकुरको मासुमा बन्देज लगाउने खोजेका थिए । तर यो योजना सफल हुन सकेको थिएन । पशु अधिकारकर्मीहरूले लामो समयदेखि प्रतिबन्ध लागू गर्न दबाब दिँदै आएका थिए ।