वि.सं.२०८० फागुन १० बिहीवार

अर्बौं ठगीको मुद्दामा एमालेका पूर्वसांसद इच्छाराज तामाङ दोषी ठहर

सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।

इच्छाराजसहित, श्रृजना शाक्य (तामाङ), प्रतिक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मीना कुमारीलाई प्रतिवादी बनाई २०७९ भदौ १६ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले इच्छाराजसहित ४ जनालाई दोषी ठहर गरेको हो। प्रतीक्षा र प्रतिष्ठाले भने सफाई पाएका छन्।

यो मुद्दाको कसुर निर्धारणका लागि यही माघ २१ गते इजलास तोकिएको छ ।

उनीहरुविरुद्ध सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।

त्यस्तै सहकारीमार्फत ठगी बढेपछि अहिले देशका विभिन्न क्षेत्रका अधिकांश सहकारी टाट पल्टिएका छन्।

सहकारी सञ्चालकले बचतकर्ताको रकम ठगेर भागेपछि सहकारीहरू डुबेका हुन्।

सहकारी प्रकरणबारे आज मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा दायर भएका सबै सहकारीको फाइल झिकाएर अनुसन्धान सुरु गरेको छ।