योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको र श्रीमान्लाई योजनाबद्ध रूपमा दुर्घटनामा मारिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा खुलेको हो ।
बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् । उनीहरुले बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको दाबी छ ।
प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार यो समूहले विकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै २१ वर्षीया सपना मल्लसँग नक्कली बिहे गरेको थियो । रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए ।
सर्जन दुर्घटनामा पर्नुअघि नै २ करोड ५० लाखको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गरेर सो रकम लिन योजनाबद्ध ‘दुर्घटना’ गराएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीले शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘दुर्घटना’ अघिको सङ्गठित योजनाबारे जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा सुवेदीले भने, ‘रिलायन्स लाइफ ईन्स्योरेन्सबाट मृतकसँग विवाह दर्ता गरेकी सपना मल्लले चेक बुझेर कामना सेवा विकास बैंकको आफ्नो खातामा जम्मा गरेको देखिन्छ ।’
बीमाको दुई करोड ५० लाख असुल्ने योजनामा संलग्न ६ जनालाई ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकलाई जागिर दिने सञ्जीव अर्याल, मृतकसँग विवाह दर्ता गरेकी कोहलपुर–२ घर भएकी सपना मल्ल, कोहलपुरका सरदार अहमद खाँ, मिनिबसका चालक टोपबहादुर राना क्षेत्री, कोहलपुर घर भएका ३८ वर्षीय दीपक केसी र २१ वर्षीया ललिता सापकोटा उर्फ आरती छन् ।
यस्तो थियो योजना
बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुरमा २०७८ वैशाख २ मा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय सर्जन विकको मृत्यु भयो । सर्जन कोहलपुरस्थित गिट्टी, बालुवा र ढुंगा सप्लाई गर्ने डिपोका कामदार हुन् । डिपो सञ्चालक हुन्– स्याङ्जा घर भई कोहलपुरमा बस्ने ३१ वर्षीय सञ्जीव अर्याल ।
राति ११ बजे अर्यालले भनेअनुसार भे१०प १७२७ नम्बरको मोटरसाइकल लिएर टिप्परमा बालुवा लोड गराएर बैजनाथ गाउँपालिका–६ स्थित लालपुर हुँदै सर्जन कोहलपुर नगरपालिकाको सम्झनातिर फर्किँदै थिए । कोहलपुरबाट डिगियातर्फ गइरहेको भे१ख२४९१ नम्बरको मिनी बसले सर्जनको मोटरसाइकललाई ठक्कर दियो । ठक्कर दिएर बसलाई घटनास्थलमै छाडेर चालक टोपबहादुर राना क्षेत्री भागे ।
३३ वर्षीय जित बहादुर बैजनाथ गाउँपालिका–८ का स्थानीय हुन् । सो बसका धनीसमेत रहेका टोपबहादुरले दुर्घटनापछि बारम्बार मिनिबस अगाडि र पछाडि सारेर मोटरसाइकल चालकको मृत्यु भएको यकिन गरे । त्यसपछि उनी गाडी छाडेर फरार भए ।
दुर्घटनास्थलबाट सर्जनलाई प्रहरीले कोहलपुर मेडिकल कलेजमा लग्यो । सवारी ज्यान मुद्दा चलायो । जिल्ला अदालत बाँकेमा २०७८ वैशाख २७ मा सवारी ज्यान मुद्दा दर्ता भयो । माघ २५ मा अदालतले मिनिबसका चालक टोपबहादुरलाई ३० दिन कैद र २ हजार जरिवाना हुने फैसला सुनायो । मृतकले चलाएको मोटरसाइकलका धनी कोहलपुर नगरपालिका–१५ घर भएका सरदार अहमद खाँले पनि सफाइ पाए ।
यसरी फन्दामा परिन् सपना
बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए ।
बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो । त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् ।
तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चाररपाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् ।
‘सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, कुनै अपराधमा संलग्न नभएको दाबी गरिन्’ विमानस्थल पुगेका एक अधिकृत भन्छन्, ‘तर कोहलपुरमा हत्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भइन् ।’
पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्कडी लगायो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो ।