काठमाडौं । नागरिक उड्डयन प्राधकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक अधिकारीलाई बुधबार पक्राउ गरेको हो ।
भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।
अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
नलिनचोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पहिल्यैदेखि प्रश्न उठ्दै आएको छ ।
प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको समेत उजुरीमा उल्लेख थियो ।
उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
२०८१ असार ७ गते तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याडको उद्घाटन गरेका थिए ।






























