गरिबी निवारणको अचुक उपाय भनेर मुलुकभर सहकारीको बाढी लगाइदियो, सरकारले । यस्तो बेथिति होला भन्ने चाँहि जानेन । काठमाडौं उपत्यकाको त के कुरा ? टोलटोल मात्रै होइन घरघरमा सहकारी छन् । तर, ति सहकारीले गरिबी निवारणमा टेवा गर्नुको साटो नवधनाड्यहरु जन्माए ।
ठग लुटेराहरुलाई झन् शक्तिशाली बनाए । अहिले पनि सहकारी चलाउनेहरु मध्ये अधिकांश चलाखि गरेर आ–आफ्नै भकारी भर्न व्यस्त छन् । बचतकर्ता र ऋणीहरुको कहिल्यै उत्थान भएन र यिनले साससम्म फेर्न पाएका छैनन् ।
प्रहरीले गुण्डा नाइके भन्ने गरेका एकाध व्यक्तिहरु कथित इन्काउन्टरमा मारिएपछि मान्छेहरुलाई गलत भ्रममा पारियो, अब गुण्डाराज सकियो भनेर । त्यसो होइन रहेछ, उनीहरुको स्थानान्तरण वा रुपान्तरण भएको रहेछ । हिजो सामूहिक आक्रमण गर्ने, खुँडा हान्ने, डकैती गर्ने र विभिन्न असुलीका धन्दा चलाउनेहरुले सहकारी तथा वित्तीय संस्थाको बर्को ओढेर धन्दा जारी नै राखेका रहेछन् । प्रहरीले भन्ने गरेका गुण्डाहरु त सहकारीमा पो पसेछन् । यसको रहस्योद्घाटन बल्ल भएको छ ।
काठमाडौं उत्यकामा मीठा र आकर्षक नारा राखेर खोलिएका केही सहकारीहरुको लुट धन्दाले प्रहरीले भन्ने गरेको गुण्डाराजलाई पनि चक्मा दिनसक्छ । खप्तड टिभीको खोजबाट यस्ता धेरै रहस्यहरु क्रमशः पर्दाफास हुँदैछन ।
केही समय पहिले बहुचर्चाको विषय बनेका कुलेश्वरको गौतमश्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको फेहरिस्त यहाँ भनिरहनु परेन । त्यसैगरी लालीगुराँस सहकारी हुँदै युनिटी काण्डसम्म पनि सबैलाई विधितै छ । त्यत्रो बेइज्जत हुँदा पनि सहकारीहरु सुध्रिएका रहेनछन् । नभन्दै पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडको ब्रह्मलुट बाहिरिएको छ । त्यसैगरी भक्तपुरको जगाती र काठमाडौंको तीनकुनेमा प्रधान कार्यालय भएको सहकारीलाई जोरपाटी र भक्तपुरको राधेराधेसम्म शाखा बिस्तार गरेको रियल गोर्खाले पनि जनता ठगिरहेका सहकारीको पनि पोल खुल्दै गएको छ ।
खप्तडटिभीले लामो समयदेखि अध्ययन र अनुसन्धानमा क्रममा धेरै सहकारी ठगी धन्दाकाे लागि मात्रै खाेलेकाे समेत भेटाएकाे छ।
विराटनगर महानगरपालिकाले १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ। लामो समयदेखि लेखा परीक्षण नगर्ने तथा लेखापरीक्षण गरेको भनेर जनतालाई भ्रममा पार्ने, साधारणसभा गरेकाे भन्दै आलटाल गर्ने तथा विवरण नबुझाएका १५ सहकारीको दर्ता खारेजी गरेको महानगरले जनाएको छ ।
खारेजीमा पर्नेमा सक्रिय बचत तथा ऋण सहकारी संस्था, पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, विराट कोशेलीघर सहकारी संस्था, एक्सेचेन्ज बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सहयोगी सहकारी संस्था, भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था रहेका छन् ।
त्यस्तै गजलक्ष्मी बचत तथा ऋण सहकारी, गरिमा बचत तथा ऋण सहकारी, बहुमूल्य कृषि सहकारी र ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको दर्ता खारेज गरेको महानगरले जारी गरेको सूचनामा उल्लेख छ।
उक्त सहकारीलाई लेखापरीक्षणसहित आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । पटक-पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको महानगरले जनाएको छ।