वि.सं.२०८१ असोज २६ शनिवार

भ्रष्ट्राचार सम्बन्धि भटाभट एक्सन : सांसद अपहरणको फाईल खोल्ने तयारी ?

भुटानी शरणार्थीको नाममा नक्कली शरणार्थी बनाएर अमेरिका लग्ने कार्यमा रहेको राजनीतिक नेताहरुलाई कारबाही गर्न सांसदहरूले सरकारलाई दबाब दिएका छन्।

आइतबार अपरान्ह बजेटका विषयमा छलफल गर्न बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने अधिकांस सांसदहरुले भुटानी शरणार्थीका नाममा रकम कुम्ल्याउनेमाथि कारवाही गर्न माग गरे।

कांग्रेसका रामहरि खतिवडा, सुनिल शर्मा, माओवादीका माधव सापकोटा, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल लगायतका सांसदले दोषी देखिएका सबै राजनीति दललाई कारबाही माग गरे।

कांग्रेस सांसद शर्माले भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका सांसदलाई संसदमै उपस्थित गराएर बयान लिन समेत माग गरे।

नक्कली शरणार्थी बनाएर पैसा ठगेको विषयमा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको नाम मुछिएपछि उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

अहिलेसम्म उनी पक्राउ परेका छैनन्। प्रहरीले उनको नाम फरार सूचीमा राखेको छ। संसद बैठकमा बोल्दै सांसदहरूले कुनैपनि हालतमा दोषी उम्कन नहुने बताए।

भ्रष्ट्राचार विरुद्ध आक्रामक रुपमा प्रस्तुत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सांसद अपहरण काण्डको पनि फाईल खोल्न सुझाव आएको छ । सो कुरामा नारायणकाजी श्रेष्ठ पनि सहमत रहेको बताईन्छ ।

तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट उठाएर ल्याएको घटना नेपालको संसदीय इतिहासमा चर्चित छ। नेपालको संसदीय इतिहासमा सांसद खरिदबिक्रीको अर्को उदाहरणका रूपमा स्थापित भइसकेको यो घटनाको उपचार के हो भन्नेमा सत्तारूढ र विपक्षी दलहरूको फरक धारणा आइरहेका छन् ।

सांसद यादवलाई लिन काठमाडौंबाट तत्कालिन नेकपाका भक्तपुरका सांसद महेश बस्नेत, तनहुँका सांसद किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनाल घरमै पुगेका थिए । सार्वजनिक भएको विवरणअनुसार पूर्वप्रहरी प्रमुख खनालले काठमाडौंबाटै स्थानीय प्रहरी प्रयोग गरेर सांसदका अंगरक्षकमार्फत सांसद यादव बसेको ठाउँ पत्ता लगाएर उनीहरू पुगेका थिए ।

फौजदारी न्याय प्रणालीबारे परिचित एक सरकारी वकिलका अनुसार त्यही घटना कुनै सर्वसाधारणले गरेको भए निर्विवाद रूपमा अपहरणको आरोप स्थापित हुन्थ्यो र घटनामा संलग्नहरू पक्राउ परेर अदालतबाट म्याद थप भइसकेका हुन्थे । हाल मौन बसेको प्रहरीले यो घटनामा अरू कोही जोडिएको भए आफ्नो सक्रियता देखाउने थियो ।

मुलुकी अपराध संहिताको दफा २११ मा उल्लिखित अपहरणको परिभाषाअनुसार, कुनै व्यक्तिलाई बल प्रयोग गरेर, धम्क्याएर वा छलकपटबाट वा झुक्याएर नियन्त्रणमा लिई कुनै ठाउँमा लैजानु अपहरण हो । सांसद यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइदा उनका साथी एवं पूर्वमहानिरीक्षक खनालले ‘जबर्जस्ती जाउँ कि जाउँ’ भनेको भनी प्रतिक्रिया दिएका छन्, जसमा कुनै न कुनै रूपमा जबर्जस्ती भएको देखिन्छ ।