दोलखाका एक वडाध्यक्षले सरकारी पैसामा आफ्नो घरमा कम्पाउण्ड वाल निर्माण गरेको पाईएको छ ।
जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष नारायण खड्काले सरकारी रकमको दुरुपयोग गरी आफ्नो घरवरिपरि पर्खाल लगाएर कम्पाउण्ड बारेको पाईएको हो ।
सडकको पहिरो रोकथामको लागि सडकको भित्तामा वाल लगाउनु पर्ने पैसाले खड्काले आफ्नो घर वरिपरि पनि पर्खाल लगाएको स्थानीयले आरोप लगाएका छन् ।
डाडागाउँ मालुखोला सडकखण्डको पैसाले उनले आफ्नो घरमा कम्पाउण्ड वालका साथै बारिमा रिङरोड समेत बनाएको एक स्थानियले बताए ।
प्रदेश सरकार अन्तर्गत सञ्चालित सो सडकखण्ड निर्माण गर्न ४ करोड रुपैयाँ ठेक्का सम्झौता भएको छ ।
ठेकेदारलाई प्रभावमा पारेर उनले आफ्नो व्यक्तिगत कार्य गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।
सुरुमा १ करोड रुपैयाँ बिनियोजन भएको सो योजनामा पछि बहुबर्षीय बनाएर ४ करोड रुपैयाँमा ठेक्का लागेको थियोे ।
यस्तै अन्य उपभोक्ता समिति मार्फत गर्ने योजनाका निमार्णका कार्यमा समेत वडाध्यक्ष खड्काले मनोमानी गर्ने गरेको स्थानियको गुनासो छ ।
आफू निकटका मानिसलाई उपभोक्ता समितिमा राखेर अनुपयुक्त ठाउँमा बजेट खर्च गर्ने गरेको एक स्थानीयले बताए ।