२५ वर्षमै खर्बपति बनेका काभ्रेपलाञ्चोक जिल्ला साविक पातलेखेत गाविस–८ धामीगाउँ घर भई धुलिखेल–११ का रामबहादुर गौतम २०७९ साउन १२ गते बिहीबार साँझदेखि बेपत्ता छन् ।
०५२ सालसम्म सामान्य कृषि पेशामा संलग्न उनी एकाएक लखपति, करोडपति हुँदै अर्बपति भएका हुन् ।
दाजु अर्जुनबहादुर गौतम सामान्य अवस्थामै छन् । रामबहादुर धामीगाउँमा काम गर्दागर्दै माओवादी युद्ध शुरु भएको थियो । केही समय धुलिखेल घर भई काठमाडौँमा मेशिनरी सामानको व्यवसाय गर्ने दिलसुन्दर श्रेष्ठको पसलमा काम गरे । काम गर्दागर्दै त्यस्ता सामान खरिद बिक्रीबारे ज्ञान हासिल गरे । अझै पनि बाबुको अंश लिएका छैनन् ।
सानो लगानीबाट शुरु भएको व्यवसायमा विभिन्न क्षेत्रका व्यक्तिको अदृश्य लगानी रहेको आशंका उतिबेलादेखि भएको नै हो । उनले ल्याउने मेशिनरी सामान चीनबाट धेरै थियो ।
त्यही सामान ल्याउने क्रममा किलोका किलो सुन छिराउने गरेको आरोप गौतमलाई लाग्दै आएको थियो । चिनियाँसँगको बसउठ, व्यावसायिक साझेदारी, रसुवाको केरुङमा निर्माणाधीन हाइड्रो पावरमा मिलिजुलीलगायत विषयमा गौतमलाई चिनियाँसँग जोडेर हेर्ने गरिएको थियो ।
काठमाडौँको कुलेश्वरमा गौतम श्रीको केन्द्रीय कार्यालय, टेकु, पोखरा, नारायणघाटमा सेवा केन्द्र, हेटौंडाको गोदाम, कुलेश्वरको सुपरमार्केट, काभ्रे पात्लेखेतमा गाई फार्मलगायतका सम्पत्ति उनले खरिद गरेका छन् ।
काठमाडाैँका अन्य स्थानमा चारवटा पक्की घर, चितवन, मकवानपुरलगायत स्थानमा थुप्रै जमिन खरिद गरिएको छ । काभ्रेको पातलखेतमा ५० रोपनी जमिन किनिएको छ ।
त्यही सम्पत्तिका आधारमा उनले कुलेश्वरस्थित आफ्नै घरमा गौतमश्री बहुउद्देश्यीय सहकारी खोलेका थिए । झण्डै २५ हजार सदस्यबाट साढे ५ अर्ब बचत गराएका गौतमले केही महिनाअघि विभिन्न देशबाट ३ सय करोडको मेशिनरी सामान नेपाल भित्र्याएको बुझिएको छ ।
पातलखेतमा सरकारी अनुदान लिएर गाई फार्म शुरु गरेका उनले एकपटक गाई र बाच्छी गरेर ५ सयवटा पु¥याएका थिए ।
५५ जना कर्मचारी कार्यरत उक्त फार्ममा मासिक १० लाख तलब वितरण हुन्थ्यो । एकपटक बिजुली चोरेर चर्चामा आएका गौतमले माओवादीसँग निकट भएर धेरै लाभ लिए र पातलेखेतका धेरैको बास उठाए भने अहिले धेरै बचतकर्तालाई बिचल्लीमा पारेका छन् ।
पातलेखेतका तिलकबहादुर तामाङले सहकारीबाट १४ लाख ऋण लिएका थिए । धितो राखेको १६ रोपनी जमिन लिलामी गरेर उनलाई गौतमले सुकुम्बासी बनाइदिए । पातलेखेतकै हरि बडाल त्यही पीडाले आत्महत्या गर्न बाध्य भए ।
पछि रामशरण बडालका नाममा जग्गा फिर्ता गरेर हरि बडालकी श्रीमतीका नाममा दिइएको छ । ९ रोपनी जग्गा धितो राखेर उनीहरूले पटक–पटक ६० लाख ऋण लिएका थिए । डाँडागाउँका अधिकांश व्यक्तिले यिनको अत्याचारविरुद्ध बोल्न सकेका थिएनन् ।
थोरै ऋण दिएर धितो लिलामी गर्ने र चर्काे ब्याज लिने गौतमको सहकारीले बचतकर्तालाई पनि अस्वाभाविक ब्याज प्रदान गर्दै आएको थियो ।उनको फार्ममा गत शुक्रबारसम्म १४ वटा गाई, ३५ वटा बाख्रा, ३ वटा भैंसी, ९ वटा पाडी, १ एउटा राँगो, ३ सय वटा हाँस थिए । उनका दाजुले भाइ बेपत्ता भएको खबर पाएसँगै वस्तु मर्ने डरले बिक्री गराइदिएका छन् ।
एक साताअघि मात्रै रामबहादुर गौतमलाई बैंकले कालो सूचीमा राख्ने गरी भएको तयारी राजनीतिक पहुँचका आधारमा रोकिएको थियो । सात दिनको भाका नाघेलगत्तै उनी बेपत्ता भएका हुन् । अथाह सम्पत्ति कमाएका गौतमले शुरुमा राखेका सिईओका कारण उनी सफल हुँदै गएका थिए ।
एकाएक उनले मकवानपुर घर भएकी सुनिता तिमल्सिनालाई निजी सचिवका रूपमा तयार गरे । साथसाथ हुने सुनिताका नाममा पनि केही घर रहेको बताइन्छ । अहिले उनी पनि सम्पर्कविहीन छन् । जग्गा, केटी, अवैध सुनलगायत काण्डमा फसेका गौतम फेला पर्न सकेका छैनन् ।
काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देशीय सहकारीका सञ्चालक बचकर्ताको रकम पचाएर फरार भएपछि पीडितले सहकारी विभाग गुहारेका छन् । सञ्चालक फरार भएपछि सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ ।
बचतकर्ताको रकम फिर्ता नगरी अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्टलगायत सञ्चालक र व्यवस्थापक फरार भएका हुन् । ७ दिनअघि किर्ते माइन्युट तयार गरी गौतमले नयाँ सञ्चालक समिति बनाएको सूचना सार्वजनिक भएको छ ।
नेपालको कुनै स्थानमा लुकेर बसेका गौतमको खोजी गर्न विभागले प्रहरीलाई पत्राचार गरेको छ । उक्त सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट रकम संकलन गरेको बताइएको छ ।
रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा व्यवसायको गोदाम तथा कार्यालय रहेकाले सहकारी पीडितको घेराबन्दीपछि बैंकले उक्त भवनमा सिल गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिएका छन् ।
पीडितले रकम नपाएसँगै सहकारीको भवनमा भएको एउटा गाडी उठाएर लगेका थिए । सहकारी भवनमा नै गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर पनि छ । त्यसमा बैंकको लगानी थियो, सहकारी पीडितको भीडबाट उक्त स्टोरका सामान यताउता नहोस् भनेर बैंकले सिल गरी सूचना टाँसेको हो ।
बैकको ऋण लामो समयसम्म तिर्न नसकेका गौतमले राष्ट्र बैंकमार्फत भाका बढाउने मौखिक आदेश गराएका थिए । राजनीतिक पहुँच भए पनि संकटमा एक्लो भएका गौतम किलोमिटर व्याजको खोजीमा थिए ।
बैंकले ताकेता गरिरहेकै थियो । साउनको पहिलो साताबाट दोश्रो साताको भाका मागेर पनि सम्पर्कमा नपुगेका गौतमले बुधबार साउन ११ गते पुनः केही दिनको भाका मागेका थिए । बैंकले नमानेपछि उनी बिहीबार साँझबाट सम्पर्कविहीन भएका हुन् । उनी भागेको जानकारी पाएलगत्तै बैंकले घरमा शिल ग¥यो । शुक्रबार पीडितहरू नाराबाजीमा उत्रिए ।
यसबीच राम गौतमको दाजुभाइ नाता पर्ने अनिल काठमाण्डौबाट समातिएका छन्। उनलाई सहकारीको सचिवमा राखिएको थियो। पातलेखेतमा द्वन्दताका सेनाद्वारा रसकमल मारिएपछि ती र यानप्रसाद गौतममार्फत उठेको रकमसमेत यिनैले चलाएको आशंका छ।