वि.सं.२०८१ माघ २६ शनिवार

प्रहरीको पोशाकमै नर्तकीसंग अश्लील नृत्य गर्ने सई कारबाहीमा, ९ जना पक्राउ

महोत्तरी प्रहरीले अश्लील नृत्य प्रस्तुत गर्ने ९ जना नर्तकीलाई पक्राउ

सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्।

रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि कारबाहीमा परेका हुन् ।

कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य गरेका थिए।

धार्मिक मेलाको अवसरमा आयोजक समितिले अश्लील भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मातिएर सई साह स्टेजमा नै चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेपछि उनको आलोचनासँगै भिडियो भाइरल भएको छ।

नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस्तै महोत्तरी प्रहरीले अश्लील नृत्य प्रस्तुत गर्ने ९ जना नर्तकीलाई पक्राउ गरेकाे छ ।

जिल्लाको छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको अर्केष्ट्रामा अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृष्णाजन्मष्टमीको अवसरमा राखिएको अर्केष्ट्रामा भारतबाट बोलाइएकी नर्तकीले अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएकाे हाे।

गौशाला नगरपालिकाको वडानम्बर २ निगौलबाट ४ जना तथा वडा नम्बर ११ बाट ५ जना नर्तकीलाई नियन्त्रणमा लिइएको छ । उनीहरु नाचगानका लागि भारतको बिहार राज्य अन्तर्गत सितामढीबाट भाडामा आएको प्रहरीले जनाएको छ ।

प्रहरीले वडा नम्बर ११ बाट नर्तकीलाई नियन्त्रणमा लिने क्रममा केही व्यक्तिले प्रहरीमाथि आक्रमणको प्रयास पनि गरेका छन् । त्यस क्रममा दुई जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले पक्राउ परेका नर्तकीलाई आइन्दा नेपाल छिरेर यस किसिमको नृत्य नगर्न चेतावनी दिदैं सम्बन्धित कम्पनीको जिम्मा लगाएको र आक्रमणको प्रयास गर्नेविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

https://www.facebook.com/khaptadtv/videos/404232328471863