वि.सं.२०८२ माघ २२ बुधवार

यूएईमा ४७३ जना नेपाली जेलमा

संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न जेलहरूमा हाल ४७३ जना नेपाली कैदीबन्दीको जिवन विताई रहेका छन्।

यो संख्या हालसम्मकै धेरै हो। यूएईमा सबैभन्दा बढी नेपाली लागूऔषध सेवन वा ओसारपसार सम्बन्धी अभियोगमा जेल परेका छन्। नेपालमा सामान्य ठानिने कुरा त्यहाँ गम्भीर अपराध ठहरिन्छ। थोरै मात्रामा सेवन गरेको प्रमाणित भए पनि लामो सजाय भोग्नुपर्ने व्यवस्था छ।
यस्तै, सार्वजनिक स्थानमा मदिरा सेवन गर्ने, बिना अनुमति मदिरा बेच्ने वा झगडा गर्ने जस्ता क्रियाकलापले पनि धेरैलाई कारागार पु¥याएको छ। पछिल्लो समय नेपालीहरू आर्थिक प्रलोभनका कारण पनि जेल पुगिरहेका छन्।
आफ्नै इमिरेट्स आइडी अरूलाई प्रयोग गर्न दिने, बैंकबाट ऋण लिन सहयोग गर्ने, खातामा अवैध रकम भित्र्याउने वा अनलाइनमार्फत अवैधानिक कारोबार गर्ने प्रवृत्तिले उनीहरूको भविष्य अन्धकार बनाएको छ। सजिलो कमाइको लोभले कतिपयलाई जेल धकेल्दै लगेको छ।
नेपाली दूतावास, आबुधाबीले कैदीहरूको अवस्था बुझ्न र सहयोगका लागि सक्रियता देखाएको छ। हालसम्म ३ वटा जेल भ्रमण गरिसकिएको र बाँकी जेल पनि क्रमशः पुग्ने योजना रहेको दूतावासकी उपनियोग प्रमुख रन्जिता दाहालले जानकारी दिएकी छन्।
अर्कोतर्फ घरमा रहेका परिवारहरूले भोगेको पीडा अझ गहिरा छन। विदेशमा जेल परेका नेपालीका पति/पत्नी, छोरा–छोरीले समाजमा बहिष्कार, आर्थिक संकट र मानसिक तनाव खेपिरहेका छन्। कतिपय बालबालिका आमा–बाबु बिहीन अवस्थामै हुर्कन बाध्य भएका छन्।
यूएईका जेलमा रहेका सयौँ नेपालीको कथा एउटै छ—सजिलो पैसा कमाउने लोभ, कानुनको अज्ञानता र आर्थिक दबाब।