काठमाडौँ जिल्लास्थित बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर (करार) टीकाराज राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
टंगालबाट खटिएको आयोगको टोलीले राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गत मङ्सिर १४ गते नियन्त्रणमा लिएको थियो ।
सवइन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएका घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग ८० हजार घुस माग गरी लिएको पुष्टि भएको भन्दै आयोगले राईलाई ८० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना तथा कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
ठेकेदार सुनुवारमाथि भने मुख्य कसुरदारको मतियारका रुपमा हुने गरी सजायको मागदाबी गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् ।
जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर (करार) टिकाराज राईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८०।०९।२४ गते।
जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर (करार) टिकाराज राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट रु.८०,०००।- (असी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०/०८/१४ गते नियन्त्रणमा लिइएको थियो।
जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर (करार) टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग रु.८०,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टी भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादी टिकाराज राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.८०,०००।- (असी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन एवं प्रतिवादी रामचन्द्र सुनुवारले मुख्य कसुरदार टिकाराज राईले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा प्रतिवादी टिकाराज राईलाई विगो रु.८०,०००।- कायम भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम हुने कैद सजायलाई आधार मानी प्रतिवादी रामचन्द्र सुनुवारलाई सोही ऐनको दफा २२ बमोजिम आधा सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया