वि.सं.२०८१ असार २९ शनिवार

विद्युतीय ट्याक्सीको प्रचार गर्दा आफै फसे मन्त्री

नेपालीहरुको ठूलो रोग हो, अर्का कै आङको जुम्रा देख्ने । अनि अर्काले उचालेका भरमा चुमुक–चुमुक गर्ने । सामान्य नागरिकको के हिसाब भो र । हामीकहाँ सार्वजनिक पद धारण गरेका एवं राज्यको कार्यकारी तहमा बस्नेहरुको पनि नियति त्यस्तै छ ।

‘भनिन्छ नि, जो अगुवाः उहि बाटो…।’ यातायात क्षेत्रमा अहिले ठीक त्यस्तै भइरहेको छ । वर्तमान सरकारका क्याविनेट सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नजानेर वा जानेर । अथवा कसैको दबाब वा प्रभावमा । प्रचारमा खुब रमाइरहेका छन् ।

कार्यकारिणी तहमा बसेका मान्छेहरुले प्रचारमा रमाउनु भन्दा आम नागरिक र व्यवसायीका समस्या समाधानमा सक्दो खट्नु राम्रो हो । किन भने फेरि–फेरि यस्तो अवसर नजुर्न सक्छ । मन्त्री ज्यूले कुरा नबुझ्या कि ? बढता बुझेर हामीलाई धोका गर्न खोज्या ?

विद्युतीय ट्याक्सीलाई लिएर मन्त्री अहिल्यै यति धेरै उत्साही हुनुपर्ने र निहित स्वार्थले मन्त्रीको महत्वकांक्षालाई बुँई चढाइहाल्ने कार्य दुबै व्यर्थ छन् । विना ऐन कानून तथा विना योजना विद्युतीय ट्याक्सीको प्रचार अर्ली नै हुन्छ । मन्त्री ज्यूले यत्ति सुझाव ग्रहण गर्दा बेपत्तै केहि विग्रिन्न होला ।
सुझाव मात्रैले नपुग्ला । उदाहरण नै दिऔँ न । बिहीबार यातायात व्यवस्था विभागअगाडि सम्पूर्ण यातायात व्यवसाय तथा मजदुर चालक स्वतन्त्र संर्घष समितिले गरेको शक्ति प्रर्दशनमा सयौँको संख्यामा ट्याक्सी खडा भए ।

हेरौँ अपिल

तर, त्यो भीडमा तपाइँले भनेको विद्युतीय ट्याक्सी जम्मा ३ वटा मात्रै देखिए । पत्याउनु हुन्न भने हेर्नुस्, कागको बथानमा वकुल्ला भने झैं । यि गोटा तिन विद्युतीय ट्याक्सी ।

अनि बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङले गरेको पत्रकार सम्मेलन र त्यहाँ प्रस्तुत तथ्याङ्क हेर्न भ्याउनु भयो कि भएन ? तर, कुलमानको पत्रकार सम्मेलन चलिरहेकै बेला झ्याप्प विजुली गएको किस्सा पक्कै सुन्नु भयो होला । र, विद्युत व्यापार ९ अर्ब घाटामा चलिरहेको, १० अर्बको विजुली निर्यात गर्दा १९ अर्बको विजुली आयात गरेको फेहरिस्त सर्बत्र सार्वजनिक भइसकेको छ । गएको आर्थिक वर्षमा नेपालले भारततर्फ कुल १० अर्ब ४५ करोड रुपैयाँ बिजुली निर्यात गर्दा १९ अर्ब ४४ करोड रुपैयाँ बराबरको बिजुली किनेको कुरो प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकारलाई बताएथे ।

विद्युतीय सवारीमा नजाने वा जानै नहुने सवाल होइन । सवालः विना पूर्वाधार, विना योजना विद्युतीय सवारी ल्याउने र नयाँ र पुरानालाई जुधाएर रमिते बन्नु ‘बेत्रावतीमा गोरु जुधाएर’ एकछिन् रमाइलो लिनु मात्रै हो । समस्या चिनेर, व्यवधान पञ्छाएर मात्रै नव प्रवर्तनमा लाग्नु हितकर हुन्छ । यत्ति कुरा त आफैंले पनि जान्नु पर्ने !

हिजोका दिन उपयोगी ठानिएका र भाडाका सार्वजनिक सवारी भनेरै वर्ग निर्धारण गरिएका मिटर ट्याक्सी आज कुनै व्यक्तिले कसैसँग मागेका वा कबाडीबाट उठाएर डेन्टिङ पेन्टिङ गरिएका मोटरसाइकल जत्तिको पनि ठहरिएन ? होइन भने के हो ? भाडाका सार्वजनिक सवारीको परीभाषा ? को हुन् ? हाम्रा असली व्यवसायी ? कसले तिर्छन्, राज्यलाई नियमित कर ? कसले दिन्छन् ? अहोरात्र नागरिकलाई सुविधा ? किन अनदेखा गरिन्छ, यस्ता कुरा । तपाईंका अगाडि प्रश्नै प्रश्न छन्, मन्त्री ज्यू । चाहाना राखेर मात्रै हुँदैन, विधिसम्बत काम पनि गर्नु पर्छ होला नि ।

संविधानले ग्यारेन्टी गरेको रोजगारी र सामाजिक सुरक्षाको जिम्मा लिनु पर्ने सरकारले आफ्नै पौरखले आफु र परिवारजनको सुरक्षा जिम्मा लिन्छु भन्ने स्वरोजगार व्यवसायी तथा मजदुरलाई हेप्नी ! यो कुनै तरिका हो ?

नीजि तथा रातो प्लेटका सवारीले अनलाइन तथा एप्लीकेशनको बहानामा जहाँ, जतिबेला जे मन लाग्यो त्यहि मनोमानी दाम उठाउन पाइने । उनीहरुलाई पार्किङ पनि, पाहुना पनि । पायक, अपायक । जो जहाँ जसरी हुइँकिए हुने । तर, मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीलाई ‘नो पार्किङ, नो पाहुना’ । पायक र अपायक भन्ने त झन् कुरै भएन । राज्यले यति विघ्न विभेद गर्न हुन्छ ? मन्त्री ज्यू ।

हावादारी गोरखापत्र, मन्त्रीलाई नो मतलब
६ दिन पहिले आफ्नो फेसबुक पेजमा जुन शीर्षकको समाचार विभागीय मन्त्री प्रकाश ज्वालाले सेयर गरेका छन् । समाचार के कति कारण वा गुण दोषका आधारमा सेयर गरे स्वयं मन्त्रीले नै जान्ने कुरा हो । वा, उनको सचिवालयले कुन इन्ट्रेष्टले फेसबुक पेजमा सेयर गर्न उपयुक्त ठान्यो, यो पनि सचिवालय कै जिम्मा भयो ।

तर, सरकारको मुखपत्र भनिने गोरखापत्रको अनलाइन संस्करणमा साउन १९ मा ‘विद्युतीय ट्याक्सीको प्रयोग बढाउन आग्रह’शीर्षक राखेर प्रकाशित समाचार १८ गते केही अनलाइनले छापेका समाचार कै सार वरपर घुमेको छ । भिन्न वा फरक छैन ।

तर, समाचारको सेकेण्ड सपोर्टमा जिकिर गरिएको मिति वा बार मिलेको छैन । विभागीय मन्त्री र ट्याक्सी व्यवसायी तथा चालकहरुको भेट बिहीबार होइन । वास्तवमा बुधबार भएको थियो । जुन दिन झण्डै ३ घण्टा सिंहदरबारमा विजुली गएको थियो भने मन्त्रीले ट्याक्सी व्यवसायीसँग छलफल गरिरहे कै बेला समेत झ्याप्प विजुली गएर अँध्यारो भएको थियो । पदमा बसेसी त्यो क्षण विर्सन कहाँ पाइयो र ? बुधबार भएको भेटलाई बिहीबार भनेर लेखिनु आफैंमा झुठ भइहाल्यो ।

अर्कोतिर समाचार १९ साउनमा प्रकाशन हुनुले झन् शंसय उत्पन्न गर्छ, मन्त्रीलाई विद्युतीय ट्याक्सीको यति धेरै चिन्ता किन छ ? भनेर । नयाँ मापदण्ड बनाएर लागू गर्नु भनी न्यायालयले दिएको आदेश पालना गर्नुको साटो विद्युतीय ट्याक्सीको प्रचारमा जोड दिनुले शंका मात्रै किन, लंका जलाउँदैन र ? मन्त्री ज्यू । बुझ्नेले कुरो बुझिसकेका छन् । अब तपाईं फस्नु भयो, मन्त्री ज्यू ।

१७ गते बुधबारको भेटमा भएको छलफलको समाचार, १९ गते । त्यो पनि अहिलेको डिजिटल युगमा ? विद्युतीय सञ्चारमाध्यमको गति पनि यस्तो ? विद्युतीय सवारीको समाचार विद्युतीय सञ्चारमाध्यममा पनि यत्ति ढिला ? मन्त्री, मन्त्रालय, सञ्चारमाध्यम र समाचारको लय कस्तो मिलेको । हैट ! कस्तो मजाक ?