वि.सं.२०८१ भदौ २८ शुक्रवार

हिजोको यातायात मजदुर हुँ, म गर्छु पहल : प्रदेश सांसद श्रेष्ठ

बागमती प्रदेशसभा सदस्य एवं पूर्व यातायात मजदुर नेता मधु कुमार श्रेष्ठले मिटर ट्याक्सी व्यवसायीका मर्का सम्बोधनका लागि आफु जतिवेला पनि पहल गर्न तयार रहेको बताएका छन् ।

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज काठमाडौंको नागार्जुन ट्याक्सी इकाई गठन, सदस्यता वितरण तथा पोशाक सार्वजनिक कार्यक्रममा प्रदेश सांसद श्रेष्ठले ‘हेटौंडा आउँदा मुख्यमन्त्री वा विभागीय जुन सुकै मन्त्रीहरुसँगको छलफल राख्न तयार रहेको’ बताएका हुन् । उनले आफु अहिले प्रदेशसभा मै पनि नेतृत्वदायी भूमिकामा रहेका कारण पनि समस्या सम्बोधनका लागि प्रभावकारी कदम चाल्न सक्ने प्रतिवद्धता जनाए ।

मिटर ट्याक्सी चालक तथा स्वरोजगार व्यवसायीका व्यवहारिक कठिनाइबारे बोल्दै उनले भने, ‘पठाओ वा इन्ड्राइभर गर्नेहरुले दिइरहेको सेवा टपरटुइँया भयो । यदि सेवा नै दिने हो भने भाडाको नम्बर प्लेट दिने व्यवस्था हुनुपर्छ । होइन भने रातो प्लेटवालाले भाडाका सवारीको व्यवसाय खराब गर्न पाइँदैन ।’ एक छिन् टिप गरेर जहाँ मनलाग्यो त्यतै गइदिनेहरुले सँधै व्यवसायिक रुपमा काम गर्ने मान्छेहरुलाई मर्का पारिरहेका छन् । यसको नियमन हुन जरुरी छ ।

विगत सम्झिँदै उनले भने, ‘म हुने खानेको छोरा हुँ । तर, मैले आफैं गर्नु पर्छ भन्ने दृढ संकल्प लिएका कारण आज यहाँ छु । २०५० साल तिरै मेरो विक्रम टेम्पो र ट्याक्सीहरु थियो । त्यति सानै उमेरमा । त्यो बेला म पनि ड्राइभर थिए । मैले चालकका र सञ्चालक दुबैका समस्या राम्ररी बुझेको छुँ । र, मजदुर चालक संघको अध्यक्ष भएर पनि मैले पाँच वर्ष काम गरेको छुँ । काम नै महत्वपूर्ण हो । मैले झण्डै ३०–४० देश घुमेको छुँ । जहाँ काम भन्दा ठूलो अर्थोक मानिदैन । त्यहाँ कोही धनी वा गरिब देखिँदैनन् ।’

मलाई काम गरेर खानुपर्ने बाध्यता थिएन, उनले अगाडि भने, ‘रहरले यातायात मजदुर भएको मैले काम सानो ठूलो कहिल्यै भनिन । धेरै वर्ष मैले मिनि ट्रक, टेम्पो, ट्याक्सी चलाएको छुँ । तर, आज संसदमा छुँ । त्यस कारण हामी एउटा ट्याक्सी चालक मात्रै होइनौँ । हामीले धेरै गर्न सक्छौँ ।’
एक अर्थमा दुःख भने लागेको छ, उनी अगाडि थप्छन्, ‘हिजो म पनि सडकै हुँदा अर्थात् २५ वर्ष अघि मसँगै गाडी कुदाइरहेको चालक अहिले पनि गाडीले नै गर्जो टारिरहेको देख्दा दुःख लाग्यो । हामीले संगठित हुनेदेखि लिएर बचतको पनि बानी बसाल्नु पर्छ । तब हाम्रो वृहत्तर विकास हुन्छ ।’

नागार्जुन ट्याक्सी इकाई गठन

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले काठमाडौंको नागार्जुन नगरपालिकामा समेत इकाई विस्तार गरेको छ । रामहरि श्रेष्ठको अध्यक्षतामा सल्लाहकारसहित १३ सदस्यीय कार्यसमिति गठन गरिएको समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बाबुकाजी श्रेष्ठले बताए । बाबुकाजी कै विशेष पहलमा इकाई गठन तथा यो कार्यक्रम भएको हो ।

जयराम पौडेल उपाध्यक्ष, कृष्ण भट्टराई सचिव, राजकुमार श्रेष्ठ समितिको कोषाध्यक्ष चयन भएका छन् । सदस्यमा नेत्रबहादुर कार्की, सुभाष रुपाखेती, प्रेम मगर, रमेश श्रेष्ठ, राम रोक्का, ठूले तामाङ र धर्मराज थिङ छन् भने रामकुमार पुडासैनी र थम बहादुर भूजेल सल्लाहकार चयन भएका छन् ।