वि.सं.२०८१ असार २९ शनिवार

श्रीमतीद्वारा श्रीमानको रामधुलाई..!

“डिभोर्स”को मुद्दा चलिरहकै समयमा एक महिलाले आफ्नो श्रीमानलाई कोठामा बोलाएर रामधुलाई गरेकी छिन् ।

यसरी श्रीमानलाई रामधुलाई गर्ने महिला हुन्, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ममता राई ।

कुटाई खाने ब्यक्ती हुन्, झापाको मेचीनगर घर भई हाल काठमाडौँ बस्दै आएका केशव घिमिरे । उनले श्रीमती राईविरुद्ध प्रहरीमा अंगभंग, ज्यान मार्ने उद्योग सम्बन्धमा उजुरी दिएका छन् । उनीहरुको काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ ।

राईले आफू बसेको कोठामा बोलाई आफूमाथि निर्घात कुटपिट गरेको भन्दै घिमिरेले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी वृत्त बानेश्वर, जिल्ला प्रहरी परिसर टेकुमा राई र उनका सहयोगी शम्भु खत्रीसहित ४ जनाविरुद्ध अंगभंग, ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिएका हुन्।

प्रहरी स्रोतका अनुसार अहिले दुवै तर्फबाट जाहेरी दर्ता भएको छ । बानेश्वर वृतका एक प्रहरी अधिकृतका अनुसार अहिले दुबै पक्षको जाहेरी लिएर अनुसन्धान भैरहेको छ।

घाइते घिमिरेले आफूमाथि फलामको धारिलो हतियार, फलामको रड तथा अन्य लाठीले हानेर टाउकोमा हानेको, देब्रे आँखालगायत शरीरका विभिन्न भागमा रडले घोची मरणासन्न अवस्थामा बेहोस पारी कुटपिट गरी अंगभंग, क्षतबिच्छेद पारी ज्यानै लिने उद्योग गरेको जनाएका छन् ।