श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको सक्रियतामा म्यानपावरको ठगीविरुद्ध विशेष निगरानी बढाउन थालिएको छ ।
यहि सक्रियापछि वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ म्यानपावर कम्पनीलाई जरिवानासहितको कारबाही गरेको छ । पूर्व स्वीकृति लिएर पनि विज्ञापन प्रकाशन नगरेको पाइएपछि श्रम मन्त्री शेरबहादुर कुँवरको निर्देशनमा यी म्यानपावरमाथी कारबाही गरिएको हो ।
राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्न वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गराएर विभागले ७४ लाख जरिवाना रकम सङ्कलन गरेको छ ।
विभागका महानिर्देशक शेषनारायण पौडेलले साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गराइएको बताए । म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गरे नगरेको बारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको थियो । अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेर प्रकाशनको नाममा वैदेशिक रोजगार ऐनको दफा ४९ उल्लङ्घन गर्नेहरु बढेको भन्दै विभागले थप निगरानी बढाएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ को १ मा कुनै पनि इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति बिना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई पचास हजार रुपैयाँ जरिबाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने उल्लेख छ । ऐनअनुसार कुनै पनि म्यानपावर कम्पनीले रोजगारदाताबाट ल्याएको माग र भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने देश, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र सङ्ख्या, कामदारले पाउने तलब सुविधासहितको जानकारीसहित सूचना प्रकाशित गर्नुपर्छ । विभागबाट स्वीकृति प्राप्त भएपछि समेत इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न राष्ट्रिय स्तरको कुनै पनि दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद राखेर विज्ञापन प्रकाशन गर्नुपर्नेमा मनोमानी बढेपछि मन्त्री कुँवरसँगै विभागले निगरानी बढाएको छ ।
यद्यपी अझपनि सार्वजनिक सूचना बिनै फ्रि भिसा, फ्रि टिकटको सुविधा रहेका देशमा समेत २ लाखदेखी २ लाख ५० हजारसम्म गैह्र कानुनी शुल्क लिएर पठाउने काम भैरहेको छ । अधिकांश म्यानपावरमा प्रकाशित भएको सूचना कार्यालयको सूचना पाटीमा भेटिने गरेको छैन भने विभागमा समेत जानकारि पठाइएको छैन । सरकारको कमजोर नियमनका कारण अझ पनि बैदेशीक रोजगारीमा जानेहरु म्यानपावरको ठगीमा परिरहेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बैदेशीक रोजगारीका नाममा बिचौलिया र म्यानपावर मार्फत हुने ठगी रोक्न मन्त्रालय र विभाग गम्भिर भएर लागिपरेको बताएका छन् । श्रमिकमाथी गरिने अन्याय र कानुनविपरितका कुनै पनि गतिबिधिमा जो कोही संलग्न भएपनि कानुनी दायरामा आउने मन्त्री कुँवरले प्रतिबद्धता गरेका छन् । म्यानपावरमाथीको निगरानी बढाइएको र कोही ठगीएको भए गुनासो,उजूरी बोकेर विभाग वा मन्त्रालय आउन मन्त्री कुँवरले सबैलाई आह्वान समेत गरेका छन् ।