वि.सं.२०८१ असोज २५ शुक्रवार

३०-३२ वर्षदेखि ग्यास टेम्पोले परिवार धानेकाहरुलाई ‘धक्का’ मार्दै सरकार

मान्छेको जातः साह्रै लोभी, पापी

अचम्मको हुन्छ, मान्छेको जात । साह्रै लोभी, पापी, असन्तोषि हुन्छ, मान्छे । कोहि कोहिले अत्याचारको पनि पर्खालै नाघ्छन् र पो, त्यसत्यसै पारो तातिएर आउँछ । अहिले सानागाउँ स्कुल चोक हुँदै इमाडोल, ग्वार्को, लगनखेल रत्नपार्क गुड्ने ग्यास टेम्पोका व्यवसायी एवं श्रमिक चालकहरुको पारो त्यसरी नै तातिएको छ, बाग्मती प्रदेश सरकारको चर्तिकला देखेर । बाग्मती प्रदेश सरकारको पारा देखेर खुब रिस उठेको छ, उनीहरुलाई ।

३०-३२ वर्षदेखि टेम्पो चलाएर परिवार धानेका राजन शाही, पदम मगर र राजु लामा लगायतको मनमा दुःख सुख चलिरहेको जिन्दगी चौपट हुने त्रासले बास गरेको छ भने खाडीको तातो रापमा पिल्सिनु भन्दा ग्यास टेम्पो कै स्वरोजगारले सास धानिरहेका रक्षधन राई तथा पप्पु बस्नेत जस्ता युवाको मुटुमा ढ्याङ्ग्रो ठोक्न सुरु भएको छ । र, अहिले आएर उनी जस्तै स्वरोजगार टेम्पो व्यपसायी एवं चालकहरु ‘कतै राज्यलाई आफुहरुको इलममाथि डाहा भएको पो हो कि ? नवधनाड्यहरुलाई आफुहरुले गरि खाएको मन पो परेन कि ? अथवा भनौं अब जीन्दगीको गाडी खाडीतिरै पो धकेल्न लागिएको हो ? भनेर’ गहिरो चिन्तामा छन् ।

अनि, उनीहरुले यातायात व्यवस्था विभाग र अयातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुनालाई विद्युतीय ट्याक्सीको आवरणमा आफुहरुको बसिबसाउ घर उजाड्ने षड्यन्त्रका मतियार करार गरेका छन् । र, त उनीहरु आन्दोलित छन् । राज्यले बारम्बार ठगेकोबारे पहिल्यै जानकार भए पनि आफ्नै व्यवसायभित्रका खलपात्रहरुलाई चिन्न ढिलाई भएकामा उनीहरु अहिले निकै चिन्तित छन् । उनीहरुको नाम बेचेर खान पल्किएका केही खलपात्रहरुले राज्य सञ्चालकहरुका कान फुकेर आफुअनुकुल कानून निर्माण गर्न लगाएका छन् ।

उनीहरु भन्छन्, ‘यातायात क्षेत्रमा प्रालिमा दर्ता गर्ने प्रणाली बसाल्नु भन्दाअघि समितिको नेतृत्व लिन तछाडमछाड गर्नेहरु अहिले त्यही व्यवसायलाई विषाक्त एवं दूषित तुल्याएर समर्पणवाद र खुरापातलाई अँगालो हाल्न पुगेका छन् भने त्यसैलाई लिस्नो बनाएर नवधनाड्यहरुको नगरी प्रवेश गरेका छन् । हामी अब आफ्नो पेशा व्यवसाय जोगाउन जुनसुकै संघर्ष गर्न तयार छौँ र त्यस्ता खलपात्रहरुको पर्दाफास गरेरै छाड्छौँ ।’

सानागाउँ, इमाडोल, ग्वार्को, लगनखेल, रत्नपार्क रुटमा अहिले पनि ४० को हाराहारीमा ग्यास टेम्पो सञ्चालनमा छन् । त्यति नै संख्यामा विद्युतीय व्याष्ट्रिको सहायताले चल्ने सफा टेम्पोहरु गुडिरहेका छन् । तर, बारम्बार व्यवसायीहरुलाई झुक्याउने र फसाउने कार्य राज्यबाट भइरहेको र अहिले आएर बाग्मती प्रदेश सरकारले झन् आफुहरुलाई निमिट्यान्नै पार्न खोजेको आरोप ग्यास टेम्पो व्यवसायी तथा चालकहरुले लगाएका छन् ।

उनीहरुले भने, ‘संविधानले दिएको अधिकार एवं सुविधालाई प्रभावित पार्ने गरी संघीय ऐन कानून नबन्दै बाग्मती प्रदेश सरकारले सिमित व्यापारिक घराना एवं कमिसनखोरहरुको प्रभाव तथा दबाबमा परेर ग्यास टेम्पो तथा निलो माइक्रो विस्थापन गरेर तिनको सट्टा विद्युतीय ट्याक्सी चलाउन कानून ल्याएको कुरा हामीजस्ता कतिपयलाई त थाहा नै छैन । जसरी समिति व्यक्ति वा घरानाको स्वार्थपूर्तिका लागि हठात यो कानून ल्याइएको छ, यसले हामी यो क्षेत्रका व्यवसायी एवं श्रमिक मात्रै मर्ने छैनन् । आम सर्वसाधारण समेत यसको सिकार बन्ने छन् । कारण, २० रुपैयाँ भाडा तिरेर गन्तव्यमा पुग्न सक्ने जनसाधारणले ३-४ सय रुपैयाँ ट्याक्सी भाडा तिर्न सक्दैन । त्यसरी लक्जरियस सवारी चढ्नका लागि आम नागरिकको प्रतिव्यक्ति आय बढाउन सरकारसँग के छ योजना ? अब त हामी पनि प्रश्न गर्छौँ ।’

पीडामाथि पीडा
ग्यास टेम्पो व्यवसायीलाई सरकारले लखेटेको लखेट्यै छ । हिजो डिजेल पेट्रोलभन्दा मित्तव्ययी एवं वातावरणमैत्री करार गरिएको ग्यास टेम्पो अहिले पनि राज्य सञ्चालक र कर्मचारी एवं विचौलियाहरुलाई चलखेलको उपयुक्त खुराक भएको छ । वल्टाइपल्टाइ त्यहि ट्याम्पोमाथि राजनीति गरिरहेका छन्, यातायात माफियाहरु ।

हिजो ग्यास टेम्पोलाई वातावरण मैत्री भनेर नीति नै कार्यान्वयनमा ल्याएको राज्यले अहिले २० वर्षेका नाममा टेम्पो व्यवसायीको कागजपत्र नविकरण गरिदिएको छैन । राज्य अहिले ऐन नियमावलीलाई अघि सारेर ति व्यवसायीमाथि निर्ममतापूर्वक प्रस्तुत भएको छ । उसले कर तिराउने र कर तिरिसकेपछि २० वर्षेको डण्डा बर्साएर गाडी स्क्रयाप गर्नेमा पूरै ध्यान लगाएको छ । यति सम्म कि सर्वोच्च न्यायालयले गरेका फैसला तथा आदेशहरुको समेत राज्य सञ्चालक एवं कर्मचारीलाई कुनै मतलब भएन ।

विगतमा पनि अहिले जस्तै स्वेच्छिक विस्थापनमा जाने नाममा खुब जालझेल गरियो । कुनै समय ग्यास टेम्पो काटेर चाइनीज माइक्रो ल्याइयो । त्यो हुलमुलमा टाउको जोगाउन केही व्यवसायी टेम्पो लिएर विराटनगर, धरान तथा इटहरीतिर पसे । लुट मच्चाउनेहरुको फट्याँई रोकिएन । ग्यास टेम्पो काटेर कहिले फोर्स त कहिले बसको बाहाना गरे । तर, अहिले ति सब कता हराए, कता ।

अहिले त विद्युतीय कै बोलवाला छ । विचौलियाका कुरा सुन्ने सरकारको फट्याइँले यही व्यवसाय गरेर खानेहरु असाध्य मर्कामा परेका छन् । एउटै ग्यारेजमा २० बढी ग्यास टेम्पो डम्प भएर बसेका छन् । मक्किदै भत्किंदै गइरहेका ति टेम्पोको क्षतिपूर्ति कसले दिने ?

हेरौँ भिडियो