वैदेशिक रोजगारका लागि पोल्याण्ड लैजाने भन्दै काठमाडौँस्थित मेरियट होटेलमा भोलि र पर्सि ठगिको एक गिरोहले सेमिनारको आयोजना गरेको छ । नेपाल सरकारका कुनै पनि नियमनकारी निकाय र स्थानीय तहलाई जानकारी बिनै सामाजिक संजाल टिकटकमा पोल्याण्ड लैजाने भन्दै विज्ञापनले डंका पिटेको छ ।
पोल्याण्ड इमिग्रेसन लयर्स र पोल्याण्ड रेक्रुटमेन्ट कम्पनीको प्रतिनिधि बताउने रिटाले आफु काठमाडौँ आउन लागेको र एक हजार नेपालीलाई लैजाने बताएकी छन् ।
निशुल्क सेमिनारमा सहभागी हुन भन्दै प्रलोभन दिएर उनले आफ्नो +४८५०३८३४७११ नम्बरमा सम्पर्क गर्न भनेकी छन् ।
राजधानीको मुटु मै हुन लागेको यो सेमिनारबारे श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग बेखबर रहेको बताईन्छ । विश्वस्त स्रोतका अनुसार भोलिको कार्यक्रममा ५ हजार लगभग सहभागी हुन इच्छुक छन् ।
सेमिनार भनेर बोलाईएका व्यक्तिहरुलाई सिधै रिक्रुट गर्ने प्रलोभन देखाईएको छ । वैदेशिक रोजगार ऐन २०६४ विपरितको उक्त कार्यको संयोजन नेपाल स्थित कुन गिरोहले गरिरहेको छ भन्ने चाहिं खुल्न सकेको छैन ।
टिकटकमा कमेन्ट गरेर इच्छा जाहेर गरेकालाई सेमिनारमा बोलाउने, लाखौ उठाएर फरार हुने गिरोहको योजनासंग प्रशासनले कसरी डिल गर्छ त्यो भने हेर्न बाँकी छ । पछिल्लो समय नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका विरुद्धमा सरकार र प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।