वि.सं.२०८१ वैशाख १३ बिहीवार

आत्महत्या प्रकरण : डिएसपीलाई मापसे र यातनाको आरोप लाउनेले पुष्टि गर्लान ?

सहकारी चोरी घटनामा प्रहरीले अनुसन्धान गरिरहेका दोलखाको पवटीका कपिलमणी न्यौपानेको आत्महत्या प्रकरणमा मानसिक तथा शारीरिक यातना नदिएको दोलखा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले आज बिज्ञप्ति जारी गरी न्यौपानेलाई दोलखा प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले मानसिक यातना दिएका कारण आत्महत्या गरिएको भनी गरिएको प्रचार गलत र झुठा भएको बताएको छ ।

दोलखा प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेश कुमार यादवले जारी गरेको बिज्ञप्तिमा न्यौपानेलाई प्रहरीले मानसिक तथा शारीरिक यातना दिइ मर्न बाध्य बनाएको भनि एक तर्फीरुपमा कपोलकल्पित र झुठा समाचार सम्प्रेषण गरेर प्रहरी संगठनको छविमा आँच आउने काम गरिएको उल्लेख छ ।

मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्योदय सहकारीमा भएको चोरीको घटनामा घरवेटी भएका नाताले अनुषन्धानकालागि न्यौपानेलाई कार्यालयमा बोलाएर सोधपुछ र प्रविधिक सहायतावाट समेत अनुसन्धान गरिएको प्रहरीले स्पस्ट पारेको छ ।

चोरीको घटनामा सोधपुछ गर्नु प्रहरीको कर्तव्य भएको र घटनाको अनुसन्धान भइरहेका बेला गलत प्रचार गर्दा अनुसन्धानलाई प्रभाव पर्ने दोलखा प्रहरीको भनाई छ ।

हाम्रो सुर्योदय सहकारीको पूर्व कोषाध्यक्ष र संस्थाको कार्यालय रहेको घरवेटी समेत रहेका न्यौपानेले सनिवार सुसाइट नोट लेखेर आत्महत्या गरेका थिए ।

उनले सहकारी चोरीको घटनामा आफुलाई फसाउन खोजिएको भन्दै विभिन्न व्यक्तिहरुको नाम किटान गरेर लेखे पनि प्रहरीले यातना दिएको बारेमा केही उल्लेख गरेका थिएनन् ।

यसका साथै दोलखा प्रहरीले डिएसपीलाई जंड्याहा आरोप लगाएर आत्महत्या दुरुत्साहनको मुद्धा दिनु पर्ने भन्दै सामाजिक संजालमा उदण्डता मच्चाउने एमालेका नेता तथा कार्यकर्तालाई कारबाही गर्छ कि गर्दैन प्रतिक्षाको विषय बनेको छ ।

दोलखा प्रहरी निकट स्रोतका अनुसार अपाच्य र अपुष्ट आरोप लगाएर समाजमा भ्रम सृजना गर्न खोज्ने केहि व्यक्ति भने प्रहरीको नोटिसमा छन् ।

उक्त स्रोतका अनुसार प्रहरी गालीबेइज्जति, अभद्र व्यवहार वा साईबर क्राईम के आकर्षित हुन्छ त्यसको छलफलमा जुटेको छ ।

उक्त स्रोतका अनुसार कथित हल्ला र प्रोपोगान्डाका आधारमा सुरक्षा अङ्गलाई नै खराब सिद्ध गर्न खाेज्नुले सम्बन्धित व्यक्तिहरुले समाजका खराब तत्वलाई नै त प्राेत्साहित गरिरहेकाे छैन ? भन्ने प्रश्न उठ्नु स्वभाविक हाे ।

एमाले नेता न्यौपानेको मृत्युपश्चात दोलखा एमालेका केहि जिम्मेवार तहमा बसेका व्यक्तिले भ्रमपूर्ण र जिल्ला प्रहरी प्रमुखको छबिमा आँच आउने स्टाटस लेखेका थिए ।

उक्त स्रोतले जनाए अनुसार केहिले भने प्रहरी प्रमुखसंग भेटेर आईन्दा यस्तो भ्रम नफैलाउने भन्दै माफी मागेका छन् ।