विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) लाई ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरी नेता पुरी र उनकी श्रीमती सीमा भनिने केशावती पुरीलाई ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ जरिवाना सुनाइएको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएको सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसला भएको जानकारी दिए ।
प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ भने कृष्णकुमारी पुरी र सङ्गीता पुरीको नामको जग्गा जफत नहुने फैसला गरेको छ ।
झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।
पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री-वितरण गरेको विभागको अनुसन्धानले देखाएको थियो।
मुद्दामा सरकारी जग्गा बेचेर आर्जित र बढे बढाएको केही सम्पत्ति जफत गर्न माग गरिएको थियो।
विभागका अनुसार पुरीकी श्रीमती केशावतीको नाममा रहेको ११ हजार ८४६ वर्गमिटर जग्गा, दुई वटा घर, बा १५ च ७०७६ नम्बरको गाडी, देवकुमारको नाममा रहेको ३९१ वर्गमिटर जग्गा, उनको नामको घर, संगीता र कृष्णकुमार पुरीको नाममा रहेको बिर्तामोडको ३५९३.५२ वर्गमिटर जग्गा जफत गर्न माग गरिएको थियो।