वि.सं.२०८१ असोज २६ शनिवार

घुसको अखडा बनेको कम्पनी रजिष्ट्रार कार्यालयविरुद्ध उजुरी

कम्पनी रजिष्ट्रार कार्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यस कार्यालय विरुद्ध बुधबार आयोगमा उजुरी परेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा अख्तियारको दुरुपयोग तथा संस्थागत भ्रष्टाचार सम्बन्धमा आयोगमा उजुरी परेको हो ।

उजुरीमा भनिएको छ, ‘यस अगाडी दर्ता भएका कम्पनीको नाम कम्पनी रजिष्ट्रारको कार्यालयको वेव साइडमा हेर्न मिल्ने भएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र आइ.टी.इन्जिनियरको मिलेमतोमा दर्ता भएका कम्पनीको नाम अन्यले हेर्न नमिल्ने बनाई फलानो नाम मिल्छ मिल्दैन भनी सोध्न सम्बन्धित फाँटका कर्मचारीलाई हारगुवार गर्न जानु पर्ने वाध्य गरिएको छ ।’

कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पादन गरिने सम्पूर्ण काम अनलाइनबाट हुने कानूनी व्यवस्था भए पनि उक्त कार्यालयमा दिनहुँ ४÷५ सय मानिसको भिडभाड गरेर बिचौलिया मार्फत घुसको लेनदेन समेत हुने भन्दै अख्तियारमा उजुरी परेको हो ।

उजुरीमा भनिएको छ, ‘अनलाइन सेवा भनिए पछि के कुन काम गर्न के उद्धेश्यले त्यसरी मानिसको भिडभाड गराईन्छ ? यसको जवाफ रजिष्ट्रारसंग छैन । यसको जवाफ सिधैं छ,घुस खान । कम्पनी रजिष्ट्रारको कार्यालयबाट सम्पादन गरिने कामको सिलसिलामा कुनै कागजात नपुगभए सम्बन्धित कम्पनीको इमेल मार्फत जानकारी गराउन सिकिनेमा त्यस्तो गरिएको छैन ।

किन त्यसो गरिदैन ? विचौलियाको भिड गराई,काम ढिला गरी,वाध्य पारी कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीले रकम असुल्छन्। त्यसरी असुलिने रकम प्रति कम्पनी १ हजार देखि २५ हजार सम्म हुन्छ । यसमा नेपाल सरकार बढो आनन्द मान्छ किन सुधार गर्नै चाहँदैन ?’